• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

टोरन्टोबाट न्युयोर्क पुगेर विश्वकपमा नेपाली झण्डा फहराएको त्यो क्षण

सुदर्शन सापकोटा

शुक्रबार असार ५, २०८३ | Friday June 19,2026
-नेपाल टच ग्राफिक्स

हरेक फुटबल प्रेमीका लागि विश्वकप फुटबल प्रत्यक्ष रङ्गशालामै गएर हेर्न पाउनु एउटा महातीर्थ पुगे जस्तै हो। गाउँघरका गल्ली र माटोका धुलाम्य मैदानहरूमा चोटपटकको पर्वाह नगरी फुटबलको पछि कुद्ने हामी जस्ता सामान्य नेपाली युवाहरूका लागि त विश्वकपको भव्य रङ्गशालामा पुग्नु एउटा सुन्दर तर 'असम्भव' जस्तै लाग्ने सपना हुन्थ्यो। तर, दृढ इच्छाशक्ति र भाग्यको सुन्दर संयोगले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउँदो रहेछ भन्ने कुराको जीवन्त उदाहरण मेरो यो दुईदिने न्युयोर्क यात्रा बनेको छ। जुन १६, २०२६ को त्यो ऐतिहासिक दिन मेरो जीवनको त्यही असम्भव सपना साकार भयो, जसको रोमाञ्चकता अझै पनि मेरो आँखाअगाडि जस्ताको तस्तै नाचिरहेको छ।

मेरो फुटबल मोह बाल्यकालदेखि हो। तर, यो नशाले अझ गाढा र संस्थागत रूप तब लियो, जब म अध्ययनको सिलसिलामा काठमाडौँमा बस्न थालेँ। त्यतिबेला दशरथ रङ्गशालामा हुने सहिद स्मारक 'ए' डिभिजन लिगका खेलहरू हाम्रा लागि कुनै ठूलो चाडपर्वभन्दा कम हुँदैनथे। नेपाली फुटबलको इतिहासमै छुट्टै विरासत र क्रेज बोकेको मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) प्रतिको मेरो प्रेम यति गहिरो थियो कि, हामीले धेरै एमएमसी फ्यानहरूलाई एकजुट गराएर नेपालकै पहिलो आधिकारिक 'मनाङ मर्स्याङ्दी फ्यान क्लब' नै स्थापना गरेका थियौँ। त्यो क्लब केवल एउटा नाम वा सङ्गठन थिएन, हामी जस्ता सयौँ युवाहरूको साझा ढुकढुकी थियो।

त्यतिबेला विद्यार्थी जीवनमा काठमाडौँमा डेरा जमाएर बस्दाका सङ्घर्षका कथाहरू आफ्नै ठाउँमा थिए। एउटा सामान्य कोठा, जहाँ न बत्तीको ठेगान हुन्थ्यो, न कोठामा आफ्नो टिभी नै थियो। तर, फुटबलको मोह यस्तो कि खेल नहेरी बस्नै नसकिने! विश्वकप र ठूला खेलहरूका बेला कोठामा बस्ने सबै साथीहरू एकजुट हुन्थ्यौँ। कसैले सय, कसैले दुई सय गर्दै पैसा उठाएर एउटा पुरानो सेकेन्ड-ह्यान्ड 'टिभी मनिटर' जोडजाड पार्थ्यौँ। एउटै सानो कोठामा गुन्द्री र म्याटमा कोचिएर, त्यही सानो मधुरो स्क्रिनमा संसारका दिग्गज खेलाडीहरूको जादुमयी खेल हेर्थ्यौँ। त्यसरी हुटिङ गर्दै फुटबल हेर्दा मैले कहिल्यै कल्पनासमेत गरेको थिइनँ कि एकदिन म आफैँ संसारकै सबैभन्दा ठूला रङ्गशालामा उभिएर तिनै खेलाडीहरूको खेलको प्रत्यक्ष साक्षी बन्नेछु।

विश्वकपको टिकट पाउनु चिट्ठा पर्नु सरह नै हो। जब टिकट बिक्री खुला भयो, मैले सुरुमा अनलाइन आवेदन भरेको थिएँ र त्यसको केही दिनमै फिफाबाट म टिकट खरिदका लागि छानिएको इमेल आयो। फिफाले पठाएको तोकिएको मितिमा म पनि टिकट खरिद गर्न अनलाइनमा घण्टौँ पर्खेर बसेँ। दुर्भाग्यवश, म बसिरहेको सहर टोरन्टोका लागि कुनै पनि टिकट उपलब्ध नभएपछि मैले हरेश खाइनँ र भ्यानकुभरको दुईवटा टिकट सुरक्षित गरेँ। त्यतिबेला टिकट त बुक गरेँ, तर कुन-कुन देशबीच खेल हुँदैछ भन्ने कुराको खेल तालिका सार्वजनिक नभएकाले अज्ञात नै थियो।

पछि जब फिफाको वेबसाइटबाट मेरो नाममा टिकट स्वीकृत भएको आधिकारिक इमेल आयो र अफिसियल ड्र सार्वजनिक भयो, मेरो खुसीको सीमा रहेन। मेरो भागमा 'बेल्जियम विरुद्ध न्युजिल्यान्ड' को खेल परेको रहेछ। त्यही समयमा भाइ नारायण गैरेले पनि दुईवटा टिकट हात पारेका थिए। संयोग कस्तो पर्‍यो भने, उनको भागमा परेको टिकट न्युयोर्क/न्युजर्सीको प्रसिद्ध मेटलाइफ स्टेडियममा हुने 'फ्रान्स विरुद्ध सेनेगल' जस्तो बहुप्रतीक्षित र हाइ-भोल्टेज खेलको थियो। हामीले तुरुन्तै एउटा 'मास्टरप्लान' बनायौँ— हामीसँग भएको बेल्जियम र न्युजिल्यान्डको टिकट विश्वकप हेर्ने तीव्र सपना बोकेका भाइ हिमाल पुरीलाई दिने निर्णय गर्‍यौँ र हामी दाजुभाइ फ्रान्स र सेनेगलको खेल हेर्न न्युयोर्क जाने तयारीमा जुट्यौँ।

तर, समय सधैँ हामीले सोचेको रेखामा मात्र हिँड्दैन। यात्राको ठीक अन्तिम क्षणमा एउटा अत्यन्तै जरुरी पारिवारिक कामले नारायण अचानक नेपाल फर्कनुपर्ने बाध्यता आइलाग्यो। सपनाको यति नजिक पुगेर पनि रङ्गशाला जान नपाउने भएपछि उनले आफ्नो टिकट हाम्रा अर्का साथी सुवास गौडेलको नाममा ट्रान्सफर गरिदिए। सुवास न्युयोर्कमै हुनुहुन्थ्यो र मैले उहाँसँगै त्यहाँ दुई दिन बिताउने अवसर पाएँ। सुवास तिनै प्रिय दाइ हुनुहुन्छ, जससँग मैले नेपालमा छँदा हाम्रा अन्य अभिन्न मित्रहरू निरञ्जन, सुप्राभा र सुरेशसँग मिलेर घरेलु लिग र नेपालको राष्ट्रिय टोलीका खेलहरू एउटै ग्याङ बनेर हेर्ने गर्थेँ। दशरथ रङ्गशालाको प्यारापिटमा सँगै चिच्याउने पुराना सहयात्रीलाई न्युयोर्कको विश्वकपमा सँगै पाउँदा पुरानो काठमाडौँको न्यास्रो मेटिए झैँ महसुस भयो। यसरी नारायणको भौतिक अनुपस्थितिलाई मनमा बोक्दै, तर उहाँको सद्भावलाई सम्झिँदै सुवास र मेरो मेटलाइफ स्टेडियमको यात्रा तय भयो।

हाम्रो यो यात्रा क्यानाडाको टोरन्टोबाट जुन १५ का दिन बिहान ठीक ५ बजे सुरु भएको थियो। यस यात्रामा म एक्लो थिइनँ, मसँगै मेरो भाइ सुरज र बहिनी अर्चना पनि थिए, जो फुटबल हेर्न त होइन, तर मलाई साथ दिन र न्युयोर्क सहर घुम्ने उद्देश्यका साथ यस यात्रामा सामेल भएका थिए। क्यानाडाको सिमाना काटेर अमेरिकाको न्युजर्सी स्टेडियमसम्म पुग्न करिब ९०० किलोमिटरको लामो सडक यात्रा तय गर्नु थियो। गाडीको स्टेरिङसँगै हाम्रो उत्साह पनि अघि बढिरहेको थियो। बाटोभरि पुराना यादहरू, नेपाली फुटबलका गफ र आउन लागेको खेलको उत्साहमा गीत गाउँदै लगातार गाडी चलाएर दिउँसो २ बजे हामी न्युयोर्क सिटी आइपुग्यौँ। खेलको अघिल्लो दिन हामीले न्युयोर्कका केही ठाउँहरू घुम्यौँ र भोलिपल्टको त्यो ऐतिहासिक क्षणका लागि आफूलाई मानसिक रूपमा तयार पार्‍यौँ।

खेल हुने जुन १६ को दिनका लागि हामीले महिनौँ प्रतीक्षा गरेका थियौँ। बिहानै हल्का ब्रेकफास्ट गरेर स्टेडियम जानका लागि हामीले उबर बुक गर्‍यौँ। खेल दिउँसो ३ बजेदेखि थियो, तर रङ्गशालाको त्यो विदेशी फ्यानहरूको ऊर्जा र फुटबलको जीवन्त संस्कृतिलाई नजिकबाट आत्मसात् गर्न हामी खेल सुरु हुनुभन्दा ठीक ४ घण्टाअगाडि नै ११ बजे त्यहाँ पुगिसकेका थियौँ।

 

त्यो दिन मेरो छाती गर्वले कति चौडा भएको थियो, त्यो म शब्दमा बयान गर्न सक्दिनँ। शरीरमा 'नेपाल' अङ्कित रातो टी-सर्ट र हातमा संसारकै सबैभन्दा मौलिक एवं अद्वितीय चन्द्र-सूर्य अङ्कित नेपालको झण्डा लिएर जब म मेटलाइफ स्टेडियमको गेटतर्फ अघि बढेँ, त्यहाँ उपस्थित हजारौँ अन्तराष्ट्रिय फुटबल फ्यानहरूको नजर हामीमाथि पर्‍यो। "वाओ, नेपाल!" भन्दै फ्रान्स र सेनेगलका फ्यानहरूले हाम्रो त्रिकोणात्मक झण्डाको खुलेर तारिफ गरे। कतिपयले त नेपालको हिमाली सौन्दर्य र बुद्धका बारेमा चासो राख्दै हामीसँग निकै उत्साहका साथ तस्बिरसमेत खिचाए। संसारको जुनसुकै कुनामा पुगे पनि, जस्तोसुकै विशाल भीडमा रहे पनि आफ्नो देशको झण्डा फहराउन पाउनु र त्यसले पाउने सम्मानको अगाडि संसारका अरू सबै सुख फिका लाग्दा रहेछन्।

मेटलाइफ स्टेडियमभित्र पाइला टेक्दाको त्यो पहिलो अनुभूति अद्भुत र अकल्पनीय थियो। आँखाले भ्याएसम्म मानिसहरूको रङ्गीन सागर मात्र देखिन्थ्यो र पूरा स्टेडियम ८१ हजार भन्दा बढी फुटबल प्रेमीहरूले खचाखच भरिएको थियो। मैदानमा दुवै देशका विश्वप्रसिद्ध खेलाडीहरू आमनेसामने उत्रिँदा रङ्गशालाको ऊर्जा शब्दमा अटाउन नसकिने खालको थियो। फ्रान्सको टोलीमा जुल्स कुन्डे, विलियम सालिबा, डेयोट उपामेकानो र थियो हर्नान्डेज रक्षापङ्क्तिमा थिए भने मिडफिल्डमा ओरेलियन चुआमेनी र एड्रियन राबियो उभिएका थिए। त्यस्तै आक्रामक रूपमा माइकल ओलिसे, उस्मान डेम्बेले, डेजिरे दुए र सुपरस्टार किलियन एमबाप्पेले सुरुआती ११ मा स्थान बनाएका थिए।

अर्कोतर्फ, अफ्रिकी पावरहाउस सेनेगलको गोलपोस्टमा एडुआर्ड मेन्डी थिए भने मैदानमा क्रेपिन डियाट्टा, कप्तान कालिडु कुलिबाली, मुसा नियाखाते, इस्माइल दिउफ, इद्रिसा गेई, पापे गेई, लामिन कामारा, इस्माइला सार, निकोलास ज्याक्सन र टोलीका लिजेन्ड सादियो माने पूर्ण जोसका साथ उत्रिएका थिए। खेल यति रोमाञ्चक, तीव्र गतिको र रणनीतिले भरिपूर्ण थियो कि ९० मिनेट कसरी हावाको वेग झैँ बित्यो, पत्तै भएन। रङ्गशालामा दर्शकहरूको त्यो गगनभेदी हुटिङ, प्रत्येक गोलको प्रयासमा गुञ्जने आवाज र खुसीको तरङ्गले शरीरका रौँहरू ठाडो हुन्थे।

त्यो विशाल भीडमा सुवास दाइसँगै बसेर खेल हेरिरहँदा म बारम्बार फ्ल्यासब्याकमा पुगिरहेको थिएँ। मेरो दिमागमा काठमाडौँको त्यो सानो डेरा, निरञ्जन, सुप्राभा, सुरेशसँग दशरथ रङ्गशालामा कराउने गरेका ती दिन, अनि साथीहरू मिलेर पैसा उठाएर किनेको पुरानो टिभी मनिटर आइरहेको थियो। मनमनै सोचिरहेको थिएँ— कहाँ त्यो सानो कोठाको मधुरो स्क्रिन, कहाँ ८१ हजार मानिसको बीचमा यो विश्वकपको जीवन्त महाकुम्भ!

खेल सकिएपछि हामी एउटा आत्मिक सन्तुष्टि र खुसी बोकेर न्युजर्सी फर्कियौँ र भोलिपल्ट फेरि टोरन्टोका लागि ९०० किलोमिटरको यात्रा तय गर्दै घर फर्कियौँ। शरीर थकित थियो, तर मनमा एउटा कहिल्यै नमेटिने खुसी, ऊर्जा र गर्व थियो। यो दुईदिने न्युयोर्क भ्रमणले मलाई जीवनभरिका लागि एउटा यस्तो अमूल्य सम्झना दिएको छ, जुन मेरो जीवनको डायरीमा सधैँ स्वर्ण अक्षरले लेखिनेछ।

-टोरन्टो, क्यानाडा

तपाईंको प्रतिक्रिया