आफन्तहरूभन्दा टाढा, आफन्तहरुकै बिच
एकराज भट्टराई
'बाटो सबैको यही हो, अघि र पछि मात्र हो' भनेर शोकाकुल अवस्थामा भन्ने गरिन्छ। यसले जन्मपछि मृत्यु निश्चित छ र अजम्बरी कोही छैन भन्ने बुझाउँछ। हुन त यस्तो अवस्थामा ढाढस दिइन्छ, तर पनि पूर्ण आयु पछिको मृत्यु र अकाल मृत्युको असर फरक हुन्छ। खाऊँ-खाऊँ र लाऊँ-लाऊँ भन्ने उमेरमा, छोराछोरीको लालनपालन र शिक्षादीक्षा दिने बेला हुने मृत्युले पार्ने असर झनै दर्दनाक हुँदोरहेछ। परदेशमा यस्तो स्थिति हुनु अझै स्वाभाविक रूपमा अप्ठ्यारो हो।
क्यानाडामा मैले यो स्थिति देखेँ, सुनेँ र महसुस गरेँ। युवाहरू बसाइँ सरेर यहाँ आउने भएकाले प्रायः सबैजसोका बाबुआमा नेपालतिरै हुन्छन्। यस्तो अवस्थामा अचानक हुने आफन्तको मृत्यु झनै पीडादायी हुन्छ। विदेशमा आएपछि यहाँका सबै नेपाली एक-अर्काका आफन्त हुन्छन्। त्यसैले यहाँका नेपालीहरूबीचको सम्बन्ध पारस्परिक प्रेम, सहयोग र सद्भावमा अडिएको छ।
क्यानाडाको मेरो बसाइमा रमाइलो समय पनि उपभोग गरेको छु र नजिकबाट शोकाकुल अवस्था पनि देखेको छु। यहाँको परिवेशअनुसार मृत्युपछिको दाहसंस्कार र काजकिरिया नजिकबाट सुनेको, देखेको र अनुभव गरेको छु। विदेशमा रहेका नेपालीहरूको अपनत्व, एक-अर्कामा सहयोग र सुख-दुःखको सहभागितालाई मैले नजिकबाट महसुस गरेको छु।
४ अक्टोबर २०२६ (तदनुसार २०८३ असोज १८ गते) क्यानाडाको समयअनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म ब्राम्प्टनस्थित ब्राम्टन क्रिमेसन एण्ड बिजिटेसन सेन्टरमा सुव्रत भट्टराईकी पत्नी ललिता पाण्डेको दाहसंस्कार थियो। सो क्रममा छोरी एकता र ज्वाइँ भुवन ढुङ्गेल साथमा हुनुहुन्थ्यो भने नाति ईभान रुघामर्कीले चाहेर पनि आउन सकेको थिएन। ललिताले संसार छाडेको छैटौँ दिन थियो। कानुनी प्रक्रिया र दाहसंस्कार गर्ने ठाउँको समय मिलाउँदा अक्टोबर ४ मा दाहसंस्कारको प्रक्रिया सुरु गरिएको थियो।

त्यसदिन हलमा करिब २५० जना नेपालीहरू भेला भएका थिए, प्रायः परिवारसहित। सबैभन्दा अग्रभागमा ललिताको दिवङ्गत शरीर राखिएको थियो। अगाडिको टेबलमा श्रद्धाञ्जलीका लागि ल्याइएका पुष्पगुच्छा र मालाहरू सजाइएका थिए। हाम्रो परम्परा र संस्कृतिअनुसार धार्मिक विधिबाट अन्तिम संस्कार प्रारम्भ गर्न पण्डितजी तयार हुनुहुन्थ्यो। अगाडिपट्टि ललिताका बुबा-आमा, दाजु-भाउजू, दिदी-भिनाजु र सुव्रतका दिदी हुनुहुन्थ्यो। अमेरिकाको भर्जिनियाबाट ललिताका बुबा-आमा र पेन्सिलभेनियाबाट दिदी-भिनाजु आउनुभएको थियो। सुव्रतकी आमाको भिसाका कारण तत्काल उपस्थित हुन नसके पनि आउने प्रक्रियामा रहेको कुरा थाहा भयो। नेपालमा हुने नातागोता र आफन्तको पीडाको अवस्था पनि उस्तै अनुमान गर्न सकिन्थ्यो।
यता हलमा क्यानाडाबासी ललिता र सुव्रतका नातेदार गोपी काफ्लेले पारिवारिक दुःखद माहोलबीच दाहसंस्कारअघिको समवेदना र श्रद्धाञ्जली सभालाई सहज रूपमा सञ्चालन गरिरहनुभएको थियो। दर्दनाक रुवाबासीबीच सबैका आँखा आँसुले भिजेका थिए। आमा-बुबाको अपार माया, दुःख र पीडाका आँसु पोखिएका थिए। सँगसँगै साथीहरूसँग बिताएका रमाइला क्षणहरू, पारिवारिक सुखद पलहरू, छोरीहरूसँगको माया-स्नेहका तस्बिरहरू र घुमफिरका आत्मीय क्षणहरू हलका ठूला 'डिस्प्ले बोर्ड'मा लगातार चलिरहेका थिए। त्यसले शोकलाई धैर्यधारण गर्ने शक्तिलाई झनै कमजोर बनाएको थियो। दुई छोरीहरू मातृवियोगले उपस्थित सबैलाई रुवाएको थियो। मेरो मन पनि भारी र भक्कानिएको थियो।
मेरो मनमा ललितासँग सेप्टेम्बर २७ का दिन भएको अन्तिम भेटको सम्झना आइरहेको थियो। डिस्प्लेमा त्यसैवेला खिचेको अन्तिम भेटको फोटो आइरहेको थियो। सुव्रत, ललिता र उनका दुई छोरी, साथै नेपालबाट आउनुभएका मेरा साथी एवं संविधान सभा सदस्य आनन्द पौडेल, उहाँकी श्रीमती, उहाँहरूका ज्वाइँ-छोरी हामी सबै हाम्रै घरमा भेटघाटमा थियौँ। रमाइलो कुराकानीपछि छुट्टिँदा सेप्टेम्बर २८ सुरु भइसकेको थियो।
हामी २९ सेप्टेम्बर बेलुका ६ बजेतिर ब्राम्प्टनमा आनन्दजीसँगै थियौँ। मेरी छोरी एकताले ललितालाई अस्पताल पुर्याएको खबर पाइन्। हतार-हतार मेरा छोरी-ज्वाइँ र आनन्दजीका छोरी-ज्वाइँ अस्पतालतिर लाग्नुभयो। हामी घरमै थियौँ। एकछिनपछि ललिताले सबैलाई छाडेर संसारबाट बिदा लिएको खबर आयो। आनन्दजी दम्पती, नातिनी, म र नाति सबै भावविह्वल भयौँ। मैले गत दशैँमा दुवै जना र साना नातिनीहरूलाई टीका लगाएर आशीर्वाद दिएको थिएँ। वंशवलीअनुसार म बुबा, सुव्रत छोरा, ललिता बुहारी र नातिनीहरू हाम्रा साना सन्तति थिए। मेरी छोरी एकता उनीहरूको दिदी थिइन्। यसरी पारिवारिक स्नेह गाँसिएको थियो हाम्रो।
ललितासहित छोरीहरूका साथीहरूको एउटा टोली थियो, जहाँ अपार पारस्परिक प्रेम थियो। आनन्द पौडेलजीका ज्वाइँ-छोरी र नातिनीको परिवारसँग पनि त्यस्तै घनिष्ठता थियो। उहाँहरूको घर नजिक भएकाले पनि आवतजावत बाक्लै रहेछ। ललिता सधैँ हँसिली र उज्याली थिइन्, सिङ्गो परिवार नै सबैको प्रिय थियो। तर, अचानक कति दुःखद अवस्था! हामी तीनै परिवार बसेर खिचेको फोटोमा आनन्दजीकी नातिनी पढाइका कारण नआएकाले मात्र छुटेकी थिइन्। त्यो फोटो वृत्तचित्रजस्तै देखिइरहन्थ्यो। यी सबै निकटताले नाति-नातिना समेत दुःखी थिए।
शोकसन्तप्त अवस्थामा गोपीजीले पनि भावविह्वल हुँदै कार्यक्रमको संयोजन गर्नुभयो। ललिताकी विद्यालय तहदेखिकै साथी ज्योतिले उनीहरूबिचको घनिष्ठ मित्रताका बारेमा बताइन्। ज्योति र विकास श्रेष्ठले समवेदना प्रकट गरे, तर धेरै बोल्न सक्ने अवस्था कसैको थिएन। छोरी एकताले पनि समवेदनाका केही शब्द बोलिन्। मैले पनि समय मागेर भावपूर्ण श्रद्धाञ्जली दिँदै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेँ र पीडा सहन गर्ने शक्ति प्रदान गरून् भनी ईश्वरसँग प्रार्थना गरेँ।
सुव्रत र ललिताकी ठूली छोरी, सुव्रतकी दिदी, ललिताकी दिदी र सुव्रत आफैँले आफ्नो वेदना पोखे। अन्तिम बिदाइमा निकटतम आफन्तहरूले केही शब्द बोले। सुव्रत, छोरीहरू र आमा-बुबाको रुवावासी रोकिएको थिएन। उपस्थित सबैले ललिताको अन्तिम बिदाइमा पुष्पार्पण गरे। घरपरिवारका तर्फबाट धार्मिक विधिअनुसार धूप-दीपसहित पुष्पार्पण गरेपछि शवलाई क्रिमेशन च्याम्बर भित्र लगियो। दाहसंस्कार गर्ने मेसिनमा पुर्याएपछि ठूली छोरी साबीले बटन थिचेपछि दाहसंस्कारको प्रक्रिया सम्पन्न भयो। मैले यो सब नजिकबाट अवलोकन गरेँ। त्यसपछि हामी हलबाट निस्कियौँ। अस्तु वा खरानी पनि विधिपूर्वक हस्तान्तरण गर्ने उनीहरूको आफ्नै प्रक्रिया हुने रहेछ।
शवदाह गृहमा दाहसंस्कार भइसकेपछि अन्तिम श्रद्धाञ्जलीमा आउनेहरूलाई खाजा खुवाउने हाम्रो परम्पराअनुसार व्यवस्था गरिएको थियो। सुविधासम्पन्न ठाउँ भएकाले सबै कुरा सहज थियो। यसपछि काजकिरिया घरमै सुरु भएको छ र इष्टमित्रहरूको आवतजावत भइरहेको छ।
ब्राम्प्टनमा 'हिमालयन डाइनामोस क्लब' छ, जसमा ब्राम्प्टन र आसपासका ४० वर्षभन्दा माथिका खेलाडीहरू सङ्गठित छन्। यसले बर्सेनि ४० माथी उमेर समुहकाबीच फुटबल प्रतियोगिता गराउँछ। साथै क्लबले साना बालबालिका र युवाहरूलाई पनि खेल अभ्यासमा प्रेरित गर्दै आएको छ। यस क्लबले ग्रेटर टोरन्टोका धेरै टोलीहरूलाई नजिक ल्याएको छ। विदेशमा भएका नेपालीहरू यसले गर्दा आफू बसेको सेरोफेरोमा एउटा वृहत् परिवारका रूपमा जोडिएका छन्। उनीहरू बन्धु-बान्धवका रूपमा छन्। त्यसैले दुःखमा दुःख बिसाउने र सुख-दुःख दुवैमा एक-अर्काको साथ दिँदै आएका छन्।
विदेशमा भए पनि नेपालीहरूले आफ्नो संस्कार र संस्कृतिलाई कायमै राखेका छन्। यस दुःखद घडीमा विकास श्रेष्ठको संयोजनमा सहयोग सङ्कलन अभियान पनि चलाएको छ। जसमा ४२ हजार डलर भन्दा धेरै सहयोग पनि जुटिसकेको छ। यो शोकसन्तप्त समयमा एक प्रकारले सद्भाव, प्रेम र समवेदना प्रकट गर्ने माध्यम पनि हो। यस्तो पुनीत कार्य अनुकरणीय छ। नेपाल र नेपाली हुनुको नाता आत्मिक रूपमा अभिन्न अङ्ग बनेको छ।
दिवङ्गत ललिताको आत्माको चिर शान्तिको कामना गर्दछु !
-इटोविको (टोरन्टो), क्यानाडा

सम्बन्धित खबर.png)

.png)











.png)














तपाईंको प्रतिक्रिया