• बुधबार, १२ कार्तिक, २०८३
  • Wednesday, 28 October, 2026
  • X

ग्रेटर टोरन्टो क्षेत्रका नौ सहरमा नयाँ मेयर

नेपालTouch
मंगलबार कार्तिक ११, २०८३ | Tuesday October 27,2026

अन्टारियो। क्यानाडाको ग्रेटर टोरन्टो क्षेत्र (जीटीए) का कम्तीमा नौ सहरले सोमबार भएको स्थानीय निर्वाचनबाट नयाँ मेयर पाएका छन्। निर्वाचनमा मिसिसागा, ह्यामिल्टन र ओकभिलसहितका सहरमा नेतृत्व परिवर्तन भएको छ।

'सिटी न्युज'का अनुसार मिसिसागामा एल्भिन टेड्जोले वर्तमान मेयर क्यारोलिन पारिस र पूर्वमेयर बोनी क्रोम्बीलाई पराजित गर्दै जित हासिल गरेका छन्। यससँगै लामो समयदेखि राजनीतिक नेतृत्वमा रहेका दुवै प्रतिस्पर्धी पराजित भएका छन्।

ह्यामिल्टनमा नयाँ उम्मेदवार केनिन लुमिसले वर्तमान मेयर आन्द्रेया होरवाथलाई पराजित गरेका छन्। होरवाथ दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिइन्। उनी सन् २०२२ मा झिनो मतान्तरले मेयर निर्वाचित भएकी थिइन्।

ओकभिलमा सन् २००० देखि नगर परिषद्मा रहेका जेफ नोलले वर्तमान मेयर रोब बर्टनलाई पराजित गरेका छन् । बर्टन छैटौँ पटक निर्वाचित हुने प्रयासमा थिए। क्लारिङ्टनमा पनि टम डिङ्वालले वर्तमान मेयर एड्रियन फोस्टरलाई हराएका छन्।

यसअघि नै वर्तमान मेयरहरूले पुनः निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका कारण एज्याक्स, ओशावा, कलेडन र इस्ट ग्विलिम्बरीमा नयाँ मेयर निर्वाचित हुने निश्चित थियो। एज्याक्समा मर्लिन क्रफोर्ड विजयी भएकी छन् भने ओशावाको नेतृत्व टिटो-डान्टे मारिमपिएत्रीले सम्हाल्ने भएका छन्। इस्ट ग्विलिम्बरीमा स्कट क्रोन नयाँ मेयर बन्नेछन्। कलेडनमा क्रिस्टिना अर्ली मेयर पदका लागि अगाडि रहेको सिटी न्युजले जनाएको छ।

एज्याक्सका मेयर शन कोलियरले मे महिनामै पुनः उम्मेदवारी नदिने बताएका थिए। कलेडनकी मेयर एनेट ग्रोभ्सले अप्रिलमा अवकाश लिने घोषणा गरेकी थिइन्। ओशावाका मेयर ड्यान कार्टरले तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेका थिए। इस्ट ग्विलिम्बरीकी मेयर भर्जिनिया ह्याक्सनले १६ वर्षको नेतृत्वपछि सार्वजनिक सेवाबाट बाहिरिने निर्णय गरेकी थिइन्।

ग्रेटर टोरन्टो क्षेत्रबाहिरका पिटरबरो, ग्वेल्फ, लिंकन, ब्रोक र ओरिलियामा पनि निर्वाचनपछि नयाँ मेयर आउने अपेक्षा गरिएको थियो।

तपाईंको प्रतिक्रिया