गुँड छोड्दा गौंथली- प्वाख पलाउॅंदा परदेशी
भोज अर्याल
बसाइँसराइको कार्य-कर्ममा सानै उमेरदेखि नै म त अति धेरै नै खप्पिस पो थिएँ। हुन त, आफू बसेको ठाउँबाट थोरै-धेरै वरपर सर्नु कुन चाहिँ ठुलो कुरा भयो र? यति त बुढापाकादेखि बालबालिकाले समेत सजिलै गर्ने गरेका हुन्छन्। तर मैले यहाँ उठान गर्न खोजेको मूल मुद्दा नै अलि फरक खालको हो। बसेको ठाउँबाट सर्न त जो पनि सक्ला, तर पुरै बसाइ नै सर्न भने सबैको बलबुताले नभ्याउन सक्ने पनि हुन सक्छ।
पहाडबाट हुत्तिँदै जब म तराईतर्फ बसाइँ सरेँ, तब मेरो जीवनकै पहिलो बसाइँसराइको श्रीगणेश भइहाल्यो। त्यस घटनापछि त झन् तराई हुँदै पराई मुलुकसम्म नै सराइको कथा रोकिँदै रोकिएन। अझ भनौँ, काठमाडौँमा भाडाको कोठामा कोचिएको बसाइ र सराइको कुरा सम्झिँदा आज अचम्म लागेर आउँछ। मेरो बसाइँसराइको विवशता देखेर सायद 'बिरालोले पाठा सार्ने' पुरानो कहावतले समेत हार मानेको हुन सक्ने मेरो एकलौटी ठम्याइ रहेको छ।
शुरुमै एउटा कुरा प्रष्ट पारिहालौँ। बसाइँसराइको बारेमा खास म गहिराइमा पुग्ने नै छैन, वा यसबारे गम्भीर कुरामा प्रवेश नै नगरी यस निबन्धको बिट मार्ने कोसिस गर्नेछु! "हैन यो के पारा हो?" यसरी भने अलि नसोच्नुहोला। यति भनेपछि त हजुरले पनि पक्का कुरोको चुरो बुझिसक्नुभयो होला? तर कुरो र कुलो जता गएता पनि, जे-जसो भए पनि ठिकै छ। खासमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अनेकौँ अवसरको खोजी वा बहाना बनाएर मानिसहरू बसाइँ सरेका हुन सक्ने मेरो अधुरो मात्र हैन मधुरो बुझाइ रहेको छ।
जस्तै– गाउँबाट सहरतिर पस्नु, पहाडबाट झरेर मधेसमा खस्नु र गएर उतै बस्नु, हुँदाहुँदै स्वदेश नै छोडेर विदेशमा भासिनु, उस्तै परे आफ्नो अस्तित्व समेत पुरै मासिनु। यो सबै काइदाको विषय बन्दै गएको कुरा आज छुराजस्तै धारिलो बनेको छ। अब म थोरै पनि ढिला नगरी यस कुराको बखान गर्दै यो लेखनलाई विस्तारित गर्दै जाने अनुमति चाहन्छु।
सायद यो बचपनतिरको कुरा हो। दुई-चार दिनको लागि भए पनि कतै बसाइँ सर्दा म त त्यसै बाख्राको पाठोजस्तै बुरुक्क उफ्रिहाल्थेँ।
यस विषयमा केही सतही, केही रसिला र केही कसिला कुरा त गर्दै जाने नै छु। तर त्योभन्दा पहिले मेरा निजी अनुभवका कुरा गरेर सबैलाई अलि बिजी बनाउन चाहन्छु। सायद यो बचपनतिरको कुरा हो। दुई-चार दिनको लागि भए पनि कतै बसाइँ सर्दा म त त्यसै बाख्राको पाठोजस्तै बुरुक्क उफ्रिहाल्थेँ। अब लामो समयको लागि बसाइँ सर्दा त यो मन नै कति हो कति खुसी हुने! छोडेर जानेहरू कोही खुसी, कोही बेखुसी हुने कुरा मान्य मात्र हैन सर्वमान्य नै बनिसकेको छ। पहाडका गाउँ मात्र हैन, देशबाट लर्को लागेर विदेशतिर उड्नेहरू बढेको बढ्यै छन्। उनीहरू जहाजमा चढेकै छन्। जानेहरू गए पनि वा विदेशी नै भए पनि, बस्नेले उता रोइलो पनि मच्चाएकै छन्। यो सबै सुन्दा पनि कान नै टट्टाउने गर्छ झन्-झन्।
आफू विदेश पसेको यत्रो धेरै वर्ष भएपछि मात्र बसाइँसराइ भनेको के रहेछ भनेर बुझ्न खोज्दै छु; किनकि बल्ल मेरो बुद्धिको घैँटोमा घाम लाग्दै छ। खासमा म अल्छी गरेर बसेको त होइन, तर कहिले कामै काम त कहिले दामै दामको बल्छीमा परेको कुरा भने पक्का हो। तर धेरै कुरा नबुझे पनि यसो राम्रो लाउन र मिठो-मसिनो खान पाइन्छ कि भनेर यता सरेको हो। होइन भन्ने खासमा को? यति कुरा त लाटोले पनि बुझेको होला। तर मैले फेरि बुझी-बुझी बुझ पचाउँदो रहेछु। अब आफैँ पराईको देशमा सराइ भएपछि के कराइरहनु! यति भन्दै यतापट्टि बस्दै गर्दा मैले देखेका केही दिग्गज तथा केही सर्वज्ञानी महानुभावहरूको कुरो-कन्थो पनि यसैमा मिसमास पारेर खिचडी पकाऊँ कि भनेर सोच्दै पो छु!
विदेशमा बस्ने गरी नै आउनु एक मामूली कुरा त हुँदै होइन, यो त एक अन्तर्राष्ट्रिय स्तरको बसाइँसराइ पो रहेछ!
विदेशमा बस्ने गरी नै आउनु एक मामूली कुरा त हुँदै होइन, यो त एक अन्तर्राष्ट्रिय स्तरको बसाइँसराइ पो रहेछ! यो कुरा त मैले बल्ल पो बुझेँ। सुरुका दिनमा ठाउँ नै नसरे पनि कोठा त यता पनि सर्नुसम्म सरियो। कहाँ सरियो, के-कसरी सरियो, यो त निजी कुरा पो पर्यो, खै कसरी भनौँ र? कोठा जति सरे पनि बसेको सहर नै छोड्ने मेरो योजनाले भने हावा नै खायो। यसर्थ, म त किर्नोजस्तै एकै ठाउँमा गढेर पो बसेछु!
तर मैले यसो अरू मानिसहरूलाई पनि हेरेर चित्त बुझाइरहेको हुन्छु। आफूलाई किन बेकारमा किर्नो भनेर गिर्नु? कोही मानिस त यहाँ किर्नाको पनि बाउ हुँदा रहेछन्! बरु आकाश खस्ला, पहाड नै धस्ला, समुद्र सुक्ला, तर उनीहरू सुरुमै आएर जमेर बसेको ठाउँ ज्यान गए पनि छोडेर अन्त सर्दै सर्दैनन्! जुन कुरा मैले त्यसै लेखेको मात्र हैन कि मेरै नजरले देखेको पनि हो। उसो त उनीहरूको जमाइसँगै कमाइ नै बेजोड हुने रहेछ। लोभलाग्दो कमाइ र ढेउवा समाइले गर्दा ठाउँ सर्ने काममा मानिसहरू पछि पर्दा रहेछन्। "जता गुलियो आफू त निरमाया त्यतै भुलियो" भनेको त्यसै कहाँ हो र?
नेपाल छोडेर मानिसहरू युरोप, अमेरिका, अस्ट्रेलिया लगायत संसारभरि छरिएकै छन्। अहिले त झन् विदेश जानेहरूको बाढी नै आएको छ। यदि मिल्ने हो भने मानिसहरूले बच्चाको जन्मदर्ता गर्दै गर्दा उसको पासपोर्ट नै बनाउने थिए, भिसा नै लगाउने थिए र आफ्नो सन्तानलाई जन्मिँदै विदेश भगाउने थिए भनेर भन्नलाई कुनै आइतबार कुर्नु पर्ला र? सर्ने बानी परेकाहरू जो जता सर्ने हो सरून्, तर म थप कुरा लेखेर यस निबन्धलाई पूरा गर्नपट्टी लाग्छु।
यदि मिल्ने हो भने मानिसहरूले बच्चाको जन्मदर्ता गर्दै गर्दा उसको पासपोर्ट नै बनाउने थिए, भिसा नै लगाउने थिए र आफ्नो सन्तानलाई जन्मिँदै विदेश भगाउने थिए भनेर भन्नलाई कुनै आइतबार कुर्नु पर्ला र?
मैले सुरुमै किर्नोको कुरा गर्दै थिएँ, साच्चै बिचमै पो कता छोडेछु। कोही फेरि यसको ठिक उल्टो नै हुने रहेछन्। उनीहरू कोठा (अपार्टमेन्ट) मात्र हैन कि ठाउँ नै सरेको सर्यै, सरेको सर्यै गर्छन्। मानौँ कि सर्नको लागि नै उनीहरू विदेश बसेका हुन्। बसाइँ सर्दा नै ठुलो मजा लुटेका छन्। उनीहरू सबैका आफ्नै कथा र व्यथा पनि त होलान्। तर पहिले बसेको गाउँ र ठाउँ सम्झेर तिनीहरू खास किन पो रोलान्?
जब म यता क्यानाडातिर फर्केर हेर्छु, कोही यताबाट उता त कोही उताबाट यता सरेको पाउँछु। यताउता वा जो जता सरे पनि यो सबै निजी मामिला त पर्यो, खासमा हामीलाई किन सरोकार पर्यो? जस्तो कि ठुला-ठुला ठाउँहरूबाट साना गाउँहरूमा को नै सर्दो होला? टोरन्टो र भ्यानकुभरजस्ता ठुला ठाउँमा बस्नेहरूको शान नै क्या गजबको हुन्छ! यदि त्यहाँबाट कोही झुक्किएर अन्ततिर सरेछ नै भने पनि लुसुक्क पाराले सर्दो होला। मने, जिन्दगी भनेकै बगेको खोला, जहाँ गए पनि बोक्नै पर्ने त्यही पुरानो फाटेको झोला। मने फाटेको भनेँ, फेरि चित्त नदुखाउनुहोला।
यदि कोही पहिलो पटक किन यो वा त्यो ठाउँ नै रोजेर आयो? यो आउनेले नै जान्ने कुरा भयो। तर कोही आयो वा कोही गयो भनेर यसमा गोहीको आँसु किन पो बगाउनु। कोही पीआर लिन भन्दै क्यानाडाको दुर्गम प्रदेश धाउँछन्, कोही आफन्त बोलाउन भनेर आउँछन्, कोही चाहेको जागिर भेटाउन भनेर बसाइँ सर्छन्। कोही फेरि आएको एक वर्षमै अर्कै प्रोभिन्सतिर भागेर अचम्मै गर्छन्। कोही आफ्नो स्वार्थको घैँटो नभरुन्जेल गढेर बस्छन्, भरिसकेपछि चढेर अन्तै सर्छन्। "यहाँ त चिसो नै धेरै रहेछ! बस्नै गाह्रो भयो! गतिलो जागिर नै पाइएन!" आदि-इत्यादि कुरा काट्दै हिँडेको पनि भेटिन्छ। सायद आफ्नो काम बनाउनको लागि सियो बनेर छिर्ने र हात्ती बनेर लात्ती बजार्नेको यता पनि खासै कमी छैन। अर्थात् फाली बनेर गाली दिनेहरू पनि थुप्रै पाइन्छन्।
कोही पीआर लिन भन्दै क्यानाडाको दुर्गम प्रदेश धाउँछन्, कोही आफन्त बोलाउन भनेर आउँछन्, कोही चाहेको जागिर भेटाउन भनेर बसाइँ सर्छन्।
मानिसहरू क्यानाडाको पूर्वी भेग जस्तै– क्युबेक, नोभा स्कोसिया, ओन्टारियो लगायतका ठाउँहरूबाट पनि छिटफुट रूपमा सास्काचुन, म्यानिटोबा वा अल्बर्टातिर सरेको पाइन्छ। सायद उनीहरूलाई केही नपुगेर हो वा अरू धेरै चिसो खान मन लागेर यतातिर बस्ने गरी सरी आएका हुन्। "के खान आउनुभयो नि हजुर यता?" यसरी त खै कसरी सोध्नु र! कुरा अलि अलमल हुने, दिउँसै रात पर्दा आँखा नै झलमल्ल हुने। उता अल्बर्टा वा बीसीतिर बस्नेले पनि ठुलै फुर्ती लडाएकै हुन्छन्। "आई लिभ इन टोरन्टो" भन्नुस् वा "आई लिभ इन सरी, बीसी वा क्यालगरी" भन्नुस्; जो जहाँ बसे पनि ऊ आफ्नै लागि बस्ने हो, अरूसँग त के नै लेनदेन छ र? बस कुरा सकिएन त!
तर देशकै राजधानी भएर पनि अटावाले भने अलि सुस्त गतिमा मस्ती मारेको छ जस्तो म ठान्छु। अटावातिर बस्नेहरू खासै फुर्ती लडाएको झैँ पाउँदिनँ! देशको राजधानी काठमाडौँ नपुगेसम्म हाम्रो मनले मान्दैनथ्यो, तर जीवनभर यता अटावा नै नपुगी बस्नेहरू क्यानाडामा गनेर वा भनेर सकिँदैनन् होला। मानिस कहाँ बस्यो, बसेन वा उसले के खायो, खाएन भन्दा पनि ऊ कुन चिन्तन लिएर कसरी बाँच्यो र यो समाजलाई के योगदान दियो त? यही कुरा नै खास मूल भए पनि अरू चिजले नै यहाँ रनभुल पारेको पाइन्छ।
जब म क्यानाडाका प्रदेशहरूलाई हेर्छु, मलाई निकै ताजुब लागेर आउँछ। अनि म सोच्न थाल्छु– यो प्रदेश हो कि यो देश हो? एउटा देशको प्रदेश पनि कहाँ अर्को देशको सिमानाभन्दा ठुलो हुन्छ? साथै नेपाल लगायत स-साना मुलुकहरूको झलझली याद आउँछ। यहाँको भूगोल नै यति धेरै ठुलो छ, अनि सबैतिर समान हिसाबले विकास कसरी सम्भव हुन्छ होला र? अनि सबैतिर मानिसहरू कसरी बाक्लिएर बस्न सक्छन् होला? हाम्रो जस्तो सानो देश नेपालमा कर्णाली प्रदेश किन पछि परेको हो? देशको भूगोल ठुलो भएर हो वा मानिसको मन सानो भएर हो? तसर्थ, क्यानाडामा पनि कर्णालीको झल्को नमेटिने भन्ने कुरा हुन सक्दैन। यही तुलना गर्दै घोत्लिन्छु अनि म पनि चित्त बुझाउँछु।
देशकै राजधानी भएर पनि अटावाले भने अलि सुस्त गतिमा मस्ती मारेको छ जस्तो म ठान्छु। अटावातिर बस्नेहरू खासै फुर्ती लडाएको झैँ पाउँदिनँ!
यति ठुलो भूभाग भएको क्यानाडामा बसोबास गर्ने मानिसको संख्या निकै कम हो। जुन क्षेत्रमा मानिसको कमी भए पनि सरकारले समेत लमी बनेर बढाउन सकेको पाइँदैन। आउनेहरू एक ठाउँमा आउने तर सकेसम्म आफ्नै डम्फु बजाउने गर्छन्, जता मन लाग्छ उतै सर्छन्। तर सरसरती हेर्दा टाठाबाठा त राम्रै ठाउँमा सर्छन्, कोही भने रिँगटा आउने गरी एक ठाउँमै बसेर जीवनभर फन्को मारिरहन्छन्। भनाइ नै छ कि चरा-मुसाले त गुड सारिरहन्छन् भने मानिसको के कुरा? कुरा नढाँटी भन्दा, यता भौतिक शरीर जति सरे पनि मानिसको मन नै बसाइँ सरेको हुँदैन! बरु त्यो उतैकै न्यास्रोमा हमेसा हराइरहेको वा अल्झिएको हुन्छ। यद्यपि, सबैतिर यो तर्कले बलियो रूपमा काम नगर्न पनि सक्छ।
म फेरि यसो हेर्छु, यसरी बारम्बार जो जता सरे पनि वा रमिता नै गरे पनि बसेको गुड र रमेको माटोप्रति कुनै भावनात्मक साइनो यहाँ भेटिँदैन। जसरी आफ्नो जन्मदेशको यादले मानिसको मन छुन्छ, यताको खासै कुनै कुराको यादले पनि कसैको मन छुँदै छुँदैन। तर यसरी भनिहाल्न त अलि हुँदैन। कुरा यसरी बुझ्नुपर्ने रहेछ कि विदेश त केवल रमाउन र कमाउनको लागि मात्र हो, तर यो ठाउँ भावनाको डोरी समाउनको लागि भने होइन! यदि कोही आत्मीयता र दिगो सम्बन्धको कुरा गरेमा विदेशमा त्यसको कुनै औकात हुँदैन। विदेशमा आएर बनेको साइनो र सम्बन्ध वा समूह र गुटहरू कति बेला पानीको फोकाझैँ बिलाउँछन् वा सिसाको ऐनाझैँ झरम्म फुट्छन्, यसको कुनै भरोसा नै नहुने रहेछ भन्ने कुरामा यो अल्पज्ञानी लेखकको समेत पूराका पूरा ठोकुवा रहेको छ।
अन्तमा, जो जता सर्ने हो सरौँ, आफ्नो कर्म सधैँभरि पूरा गरौँ। आफ्नो घरको भकारी धन-दौलत र सम्पत्तिले भरौँ, कसैको रिस, राग र कुभलो चाहिँ नगरौँ। विदेशमा बसेर आत्मीय माया र दिगोपन पाइन्छ कि भन्ने ठुलो भ्रमजालमा अब हामी नपरौँ; किनकि यो स्वार्थी दुनियाँमा कोही पनि तपाईंको असल साथी हुन सक्दैन। एक जनाको दुःख-पीडाले यहाँ अर्को मानिसको मन कदापि छुँदैन। यसरी सबैलाई एउटै घानमा हालेर मकै भुटेझैँ भुट्न भने अलि हुँदैन। उता कोही मानिसहरू भन्दा हुन्– यी सबै कुराहरू सम्झिँदा पनि परदेसिनेहरूको मन खै किन रुँदैन?
-क्यानाडा

सम्बन्धित खबर

.png)










.png)

.png)








तपाईंको प्रतिक्रिया