आत्महत्या किन कसैको रोजाइ बन्छ?
दिलीप पौडेल
किताबहरू पढ्ने लत लाग्यो भने धेरै पुस्तकहरू पढिन्छन्। एउटा किताबले अर्को किताब पढ्न रुचि जगाउँछ, अर्कोले फेरि अर्को। पढेका सबै किताबहरू सधैँ याद हुँदैनन्। तर कहिलेकाहीँ कुनै किताबको एउटै वाक्यले पनि हाम्रो सोचाइ बदल्न सक्छ, तिनले जीवन नै परिवर्तन पनि गर्न सक्छन्।
तिनै किताबहरूमध्ये क्यानेडियन लेखक डन गिल्मोरको पुस्तक ‘टु द रिभर’ ले मेरो जीवनमा गहिरो छाप छोडेको छ। यो किताब हाम्रो समाजका त्यस्ता अँध्यारा कुनाहरूको यथार्थ चित्र हो, जहाँ धेरै लेखकहरू पुग्न वा लेख्न हिच्किचाउँछन्।
मैले पहिलोपटक पुस्तक हातमा लिएर यसको आवरण सरसर्ती हेर्दा सोचेको थिएँ कि यो लेखकका भाइको मृत्युबारे मात्र लेखिएको संस्मरण हो र सम्भवतः मृत भाइ डेभिडको शव खोज्ने यात्राको कथा हुनेछ। तर पाना-पाना पल्टिँदै जाँदा म लेखकको विशिष्ट लेखनशैली र मानिसले आत्महत्या किन गर्छ भन्ने विषयमा उनले प्रस्तुत गरेको गहिरो दार्शनिक ज्ञानबाट पूर्ण रूपमा मोहित भएँ।
यस पुस्तकमा गिल्मोर परिवारको संस्मरण यथार्थमा आधारित छ। त्यतिबेला डनका आमाबुबा अल्बर्टाको क्याल्गरी सहरमा बस्थे। समयसँगै डेभिडले आफ्ना जेठा दाजु डनभन्दा पहिले विवाह गरे। डेभिड आफ्ना दाजुभाइ र दिदीबहिनीभन्दा केही फरक स्वभावका थिए।
उनलाई संगीत, साथीभाइसँगको जमघट र गाँजा मन पर्थ्यो। उनी विभिन्न सङ्गीत समूहमा आबद्ध भए। पछि उनी आफ्नी नयाँ प्रेमिकासँग युकोन टेरिटोरीको ह्वाइटहर्समा सरे। यता डन लेखक बन्ने सपना बोकेर टोरन्टो गए भने उनकी दिदी सास्काचेवानमा बस्न थालिन्।
पाना-पाना पल्टिँदै जाँदा म लेखकको विशिष्ट लेखनशैली र मानिसले आत्महत्या किन गर्छ भन्ने विषयमा उनले प्रस्तुत गरेको गहिरो दार्शनिक ज्ञानबाट पूर्ण रूपमा मोहित भएँ।
यसरी सिङ्गो परिवार चार फरक-फरक स्थानमा विभाजित हुन पुग्यो। तर आमाले सबैलाई जोड्ने पुलको काम गरिरहिन्। उनले डनलाई बारम्बार फोन गरेर डेभिडका बारेमा समाचार सुनाइरहन्थिन्।
ह्वाइटहर्समा प्रेमिकासँग बस्दा डेभिड राति क्लबहरूमा गीत गाउने, ढिलासम्म मदिरा पिउने र गाँजा सेवन गर्न थाले। उनी पटक-पटक नयाँ युवतीहरूसँग सम्बन्ध गाँस्दै आफ्नी प्रेमिकालाई धोका दिन्थे। समय बित्दै जाँदा उनको स्वास्थ्य पनि बिग्रिन थाल्यो।
उनले अत्यधिक मदिरा सेवन गर्न थाले। मदिरा, लागूपदार्थ र बारम्बारको बेवफाईका कारण अन्ततः उनी आफ्नी सबैभन्दा प्रिय प्रेमिकासँग छुट्टिए। त्यसपछि उनले मदिरा र कोकिन सेवन छोडे। स्थानीय पुस्तक पसलमा व्यवस्थापकको रूपमा सम्मानजनक जागिर पाए।
सबै कुरा फेरि सामान्य हुँदै गएको जस्तो देखिन थाल्यो। डेभिडको यो परिवर्तनले क्याल्गरीमा रहेको परिवारलाई पनि खुसी बनायो।
तर एक दिन डेभिडका बुबाआमाले डेभिड हराएको अपत्यारिलो खबर सुन्नुपर्यो। भाइ हराएपछि लेखक डन आफ्ना पचहत्तर वर्षीय बुवासँग ह्वाइटहर्स पुग्छन्। त्यहाँ उनले डेभिडकी नयाँ प्रेमिका र उनका नजिकका साथीहरूलाई भेट्छन्।
अन्ततः जब आरसीएमपीले डेभिडको शव फेला पार्छ, तब उनीहरूको आशा समाप्त हुन्छ। डेभिड आफैँले ट्रक चलाएर सहरबाट करिब तीस किलोमिटर टाढा रहेको युकोन नदीमा पसेर आत्महत्या गरेका हुन्छन्। उनको शव ट्रक राखिएको स्थानबाट करिब तीस किलोमिटर तल रहेको जलविद्युत् बाँध नजिक भेटिएको हुन्छ।
यसरी आफ्ना भाइको मृत्युको अत्यन्त मार्मिक वर्णनसँगै डनले मानिसहरू किन आफ्नै जीवन अन्त्य गर्छन् भन्ने प्रश्नको गहिरो खोजी गर्छन्। विशेष गरी जीवनको उत्कर्ष अवस्थामा रहेका मानिसहरूले किन आत्महत्या गर्छन् भन्ने विषयमा उनले विभिन्न अनुसन्धान र उदाहरणहरू प्रस्तुत गरेका छन्।
अनुसन्धानका आधारमा उनले आत्महत्याका केही प्रमुख कारणहरू उल्लेख गरेका छन्। पहिलो, आत्महत्याको प्रवृत्ति आनुवंशिक हुन सक्छ, अर्थात् यो हाम्रो जिनमा हुन्छ। कतिपय आत्महत्या गर्ने मानिसहरूको अनुसन्धान गर्दै जाँदा परिवारको कुनै न कुनै सदस्यले आत्महत्या गरेको प्रमाणहरू भेटिएको देखिन्छ।
यसको एउटा उदाहरण हो प्रख्यात लेखक अर्नेस्ट हेमिङ्वेको परिवार। उनले आफैँ आत्महत्या गरेका थिए भने उनका पिता क्लारेन्स एड्मन्ड्स हेमिङ्वे, उनका भाइ लेस्टर हेमिङ्वे र उनकी नातिनी मार्गो हेमिङ्वेले पनि आत्महत्या गरेर जीवन समाप्त गरेका थिए।
कतिपय आत्महत्या गर्ने मानिसहरूको अनुसन्धान गर्दै जाँदा परिवारको कुनै न कुनै सदस्यले आत्महत्या गरेको प्रमाणहरू भेटिएको देखिन्छ
दोस्रो गम्भीर कारण डिप्रेसन वा स्किजोफ्रेनिया जस्ता मानसिक रोगहरू हुन्। जब मानिसले आफ्नो जीवनशैली कस्तो बनाउने भन्ने बारेमा सही निर्णय लिन सक्दैन, तब ऊ समाजको देखासिकीको पछाडि दौडिन्छ। आफूलाई अरूसँग तुलना गरेर हीनताबोध महसुस गर्छ। अरूको सफलतालाई आफ्नो असफलता ठान्दछ। अन्ततः आफैँले निर्धारण गरेको जीवनशैली आफैँलाई भारी पर्न जान्छ। आफूलाई परिवर्तन गर्ने हिम्मत पनि उसमा रहँदैन। जीवनका आसाहरू सबै मर्दै जान्छन् र अन्ततः ऊ अपराध वा आत्महत्याको बाटो रोज्न पुग्छ।
तेस्रो, बेरोजगारी, ऋण वा अप्रत्याशित आर्थिक सङ्कटजस्ता आर्थिक कारणहरू हुन्। बुद्धले भन्नुभएको छ, "दुःखको स्रोत भनेकै चाहना हो।" मानिसका चाहनाहरू अनेक हुन्छन्, जस्तै ठुलो घर, सुन्दर जोडी, चिल्लो गाडी। यी चाहनाहरू मानिसको स्तर अनुसारका हुन्छन्। सबैको चाहना बुगाटी वा बिएमडब्लु नै हुन्छ भन्ने छैन। चाहना राख्नु खराब होइन।
बुद्धले पनि दुःखबाट मुक्ति प्राप्त गर्न आफ्ना चाहनाहरू नै सर्वथा त्याग भन्नुभएको छैन। तर चाहना कति गर्ने? दुई हजार कमाइ छ, दुई लाखको गाडी चढ्ने चाहना राख्यो भने त्यसले आर्थिक सङ्कट निम्त्याउन सक्छ। "यावज्जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिबेत्" भन्दै जताजताबाट ऋण र उधारो पाइन्छ लिएर मोज गर्ने, अनि पछि तिर्ने उपाय नभएपछि आत्महत्या गर्नेहरूको सङ्ख्या पनि धेरै छ।
राज्यले अवलम्बन गर्ने नीति र उसका विविध पक्षमा हुने कमजोरीका कारण देशमा बेरोजगारीको स्थिति भयावह हुन सक्छ। यसले नागरिकहरूमा निराशा पैदा गर्छ। जब उसले आफू तथा आफ्नो परिवार पाल्ने कुनै उपाय नै देख्दैन, तब उसले आत्महत्याको बाटो रोज्छ।
चौथो, दीर्घरोग, लत वा निरन्तर बिग्रँदै गएको स्वास्थ्य अवस्थाले पनि मानिसलाई आत्महत्यातर्फ धकेल्न सक्छ। लामो समयसम्मको शारीरिक पीडा, उपचारको अनिश्चितता, अरूमाथि निर्भर हुनुपरेको अनुभूति, मानसिक तनाव, तथा मदिरा वा लागूपदार्थको लतले जीवनप्रतिको आशा क्रमशः कमजोर बनाउँदै लैजान सक्छ।
यस्ता अवस्थाहरूमा यदि समयमै उपचार, पारिवारिक साथ, मानसिक स्वास्थ्य सेवा र सामाजिक सहयोग उपलब्ध भएन भने आत्महत्याको जोखिम बढ्न सक्छ। क्यानडाको एउटा चर्चित उदाहरण रिक र्यापियन हुन्।
उनी राष्ट्रिय हक्की लिगका प्रतिभाशाली खेलाडी थिए, तर धेरै वर्षसम्म डिप्रेसनसँग सङ्घर्ष गरे। मानसिक स्वास्थ्यका चुनौती र त्यससँग जोडिएका कठिनाइका कारण सन् २०११ मा उनले आत्महत्या गरे। उनको मृत्युपछि क्यानडाभर मानसिक स्वास्थ्य, विशेष गरी दीर्घकालीन मानसिक रोगको समयमै उपचार र सहयोगको आवश्यकताबारे व्यापक बहस सुरु भयो।
यस उदाहरणले देखाउँछ कि दीर्घरोग वा बिग्रँदो स्वास्थ्य अवस्था केवल शारीरिक समस्या मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि गम्भीर प्रभाव पार्ने भएकाले समयमै सहारा र उपचार अत्यन्त आवश्यक हुन्छ।
डेभिडको केसमा पनि लेखकले गाँजा, रक्सी र युवतीहरूको लत र उनको बिग्रँदै गएको स्वास्थ्य अवस्थालाई कारक मानेका छन्। आज आत्महत्या समाजमा डरलाग्दो रूपमा फैलिरहेको समस्या बनेको छ। धेरै मानिसहरूले जीवनमा कुनै विकल्प नदेख्दा आत्महत्याको प्रयास गरेका हुन्छन्। तर मृत्यु सधैँ अन्तिम विकल्प हुनु आवश्यक छैन।
पुस्तकमा उद्धृत अर्को अनुसन्धानअनुसार धेरै लेखकहरूले लेखनलाई उपचार (थेरापी) का रूपमा प्रयोग गरेका थिए। जब उनीहरूको लेखनले आफ्ना पीडा कम गर्न छाडेको महसुस गरे, तब उनीहरूले मृत्यु रोजे।
लामो समयसम्मको शारीरिक पीडा, उपचारको अनिश्चितता, अरूमाथि निर्भर हुनुपरेको अनुभूति, मानसिक तनाव, तथा मदिरा वा लागूपदार्थको लतले जीवनप्रतिको आशा क्रमशः कमजोर बनाउँदै लैजान सक्छ
लेखकले क्याल्गरीका एक कवि र टोरन्टोका लेखक एच. एस. भाभराको आत्महत्याको प्रसङ्ग पनि यो किताबमा उठाएका छन्। एच. एस. भाभराले सन् २००० को जुन महिनामा, आफ्नो ४५ औँ जन्मदिन आउन ठीक एक हप्ता बाँकी रहँदा टोरन्टोको डन नदीमाथि बनेको प्रिन्स एडवर्ड भायाडक्ट पुलबाट हाम फालेर आत्महत्या गरे।
यो पुलले टोरन्टोको ब्लोर स्ट्रिटलाई ड्यानफोर्थ एभिन्युसँग जोड्छ। त्यसपछि यो पुलमा सुरक्षा पर्खाल हालिएको थियो। भर्जिनिया वुल्फ, युकिओ मिशिमा, स्टेफान स्वाइग, जोन बेरीम्यान जस्ता प्रसिद्ध अवार्ड विजेता लेखकहरूले आत्महत्या गरेका थिए। त्यस्तै यो समस्या गायक, सङ्गीतकार, कमेडियन, र नायक-नायिकाहरूमा पनि देखिन्छ।
यो पुस्तक हृदयदेखि लेखिएको कृति हो। आत्महत्याका विषयमा यसमा प्रशस्त अनुसन्धान, तथ्य र सन्दर्भ सामग्री समावेश छन्। आफ्ना भाइको आत्महत्यालाई बुझ्ने प्रयासमा लेखकले अनेकौँ घटनाक्रम, अध्ययन र केस स्टडीहरू प्रस्तुत गरेका छन्।
त्यसैले यो पुस्तक केवल एउटा पारिवारिक संस्मरण मात्र होइन, आत्महत्या जस्तो जटिल सामाजिक र मनोवैज्ञानिक समस्यामाथिको गहिरो अनुसन्धान पनि हो।

सम्बन्धित खबर












.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया