• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

क्यानाडामा पढ्दै गरेकी एक छोरीको उनकी आमालाई पत्र

निर्मल घिमिरे 

बुधबार श्रावण ६, २०८३ | Wednesday July 22,2026
-नेपाल टच ग्राफिक्स

मेरी प्यारी आमा, सञ्चै हुनुहुन्छ? कान्छीलाई कस्तो छ? घरतिर के कस्तो छ? सिमखोले गरामा खेत रोपाईं सकियो कि बाँकी छ? वस्तुभाउको अवस्था के कस्तो छ? लाली गाईले के पाई? मने पठ्याङ्ग्री अहिले त ठूली भइसकि होली है? हाम्रो दोर्जे कुकुरलाई कस्तो छ? कत्तिको हेरचाह गर्छ आजकाल घरको?

आमा, आज सपनामा कपालमा तेल लगाएर तपाईंको काखको सिरानी बनाई बाहिर आँगनको पारिलो घाममा निदाइरहेकी थिएँ। ठुलो हुरीबतास आएर अचानक झल्याँस ब्युँझिएँ, तपाईंहरूको सम्झनाले असाध्यै सतायो, नियास्रो लागेको छ। धेरै मिस गरिरहेकी छु तपाईंहरूलाई। अनि फेरि सुत्न खोज्दा निन्द्रै लाग्दै नलागेको हुँदा उठेर यो चिठी लेख्दै छु। आमा, मलाई यहाँ ठीकै छ, आराम छु। मेरो धेरै चिन्ता नगर्नु होला है।

दम रोगको कारण अरूको पर्म जान सक्नुहुन्नथ्यो तपाईं। आफू जान नसकेपछि आफन्त र गाउँलेहरू हाम्रो रोपाईंमा नआउने परम्परा अहिले पनि उस्तै त होला नि है? अधिकांश मानिसहरू परदेशिएका र सहरतिर बसाँई जाने कारण खेताला पाइँदैनथ्यो। तपाईं २ जना मात्रैले कसरी मिलाइरहनुभएको होला भन्ने म बुझ्न सक्छु। असाध्यै चिन्ता लाग्छ आमा। घरको हुर्किएकी ठूली छोरी म, सानी बहिनी र रोगी आमालाई छाडेर परदेशमा आएकी छु। के गर्नु, आफ्नो र परिवारको सपना साकार पार्नलाई पैसा अनिवार्य चाहिने रहेछ। त्यो पैसा घरमा बसिबसी नफल्ने हुँदा पढाइसँगसँगै कमाइ पनि राम्रो हुन्छ र हाम्रो परिवारको आर्थिक अवस्थामा सुधार आउँछ कि भन्ने आशा लिएर परदेशिएकी पनि आज १ वर्ष पुग्नै लागिसकेछ।

जाडो महिना लाग्ने बेलामा आएको ६ महिनासम्म त यहाँ कामै पाइएन। आफैँ पुगेर र अनलाइनमार्फत करिब ४०० भन्दा बढी बायोडाटा बनाएर पसल, होटल, रेस्टुरेन्ट, ट्रान्सपोर्ट कम्पनी, वेयरहाउस लगायतका सम्भावित सबै ठाउँमा बाँड्दै हिँडें। चिनजान र नेपालतिरबाट पहिल्यै आएर व्यवस्थित भई बसेका ठूलाबडा कसैलाई भन्न र कामको लागि अनुरोध गर्न छुटाइनँ होला आमा मैले। तर सबैबाट निःशुल्क अर्ती उपदेश र आदर्शवादका वचनबाहेक अरू पाउन नसकिने रहेछ परदेश भन्ने ठाउँमा। पैसा चाहिएको बेलामा निःशुल्क ज्ञानको धाराप्रवाह छाट्ने मान्छेहरूको कमी देखिएन यहाँ पनि। त्यो पनि आफ्नै नेपाली समुदायका हुनेखाने स्तरमा पुगेकाहरूबाट।

तर आमा, उहाँहरूलाई पनि स्वार्थी भन्न मिल्दैन, यो परिवेश नै त्यस्तै छ। अधिकांश जोडिएका सम्पत्ति किस्ताबन्दीमा लिएको हुने रहेछ। एक दिन मात्र किस्ता विलम्ब भएमा जरिवाना तिर्नुपर्ने कारणले पनि हुन सक्छ, उहाँहरू पनि हामीजस्तै सधैँको हतार र चिन्तित रहेको देखिन्छ।

नेपाल हुँदाका ताका हामी हिउँ परेको देख्दा फुरुङ्ग हुन्थ्यौँ, चिप्लेटी खेल्न दगुर्थ्यौं। तर यहाँ त करिब ५ महिनाको दिनचर्या नै हिउँमै गुजार्नुपर्ने रहेछ। जताततै हिउँकै ढिस्को, सडकको किनाराबाट हिउँ छिचोल्दै कपडा माथि सुर्काएर किचिकिच हिउँको लेदोमा खुट्टा धसाउँदै हिँड्दा हुइँकिएर आउने मोटरले उच्छिट्याउने हिलोले नभिजाएको दिनै हुन्न यहाँ।

अनि कोठा बाहिरको तापक्रम माइनस ३० सम्म पुग्ने हुँदा बाहिर निस्कनै मुस्किल हुने रहेछ। त्यस्तो मौसममा पनि मैले आश नमारी कलेज जानुअघि पनि, फर्किएर आउँदा पनि आफ्नो बायोडाटा बाँड्दै, काम खोज्ने दिनचर्यालाई निरन्तरता दिई नै राखेँ। फलतः बल्ल-बल्ल एक मेक्सिकन रेस्टुरेन्टमा वेटरको काम गर्न लागेकी छु। जसले गर्दा अहिले त खान, अन्डरग्राउन्डको साझा कोठाभाडा तिर्न, अनि कलेजको फी कसरी पो तिर्ने होला भन्ने चिन्ता हटेको छ।

अँ, साँचि आमा, नेपालतिर त साउन महिना सुरु भयो है! चारैतिर हरियाली, रमाइलो, बोलबम तीर्थालुहरूको जयजयकार। यहाँ त साउन न भदौ! सधैँ बिहान झिसमिसेमै उठेर हतार-हतार कपाल गुजुल्ट्याउँदै कलेज, कलेज सकेपछि हतारिँदै रेस्टुरेन्टमा खाना पुर्याउने र उनीहरूले खाएका जुठाभाँडा ओसार्ने काम बडो अहोभाग्यले मिलेको छ, त्यो पनि आएको ६ महिनापछि। जसले मेरो सम्पूर्ण खर्च पुर्याएर घरको ऋण तिर्न पनि सहयोग पुर्याइरहेको छ।

नेपाल हुँदा तपाईंलाई दङ्ग्याएको, ८ बजेसम्म सुत्दा पनि तपाईंले "उठ अब खाजा खाने बेला भयो नानी" भनेर बोलाएको, खाना खाएर कलेज अनि कलेजबाट सहकारी संस्थाको एकाउन्टेन्टको पार्ट-टाइम जागिर। साउन लाग्दा हातभरि लपक्कै मेहन्दी, चुरा, हरिया कपडा, कपाल स्ट्रेट गरेर हावामा फुर्फुर उडाउँदै स्कुटरमा दिदीबहिनी सरर... हिँडेको मान्छे, अहिले यहाँ बिहान ४:४५ बजेको अलार्मसँगैको उठाइ, उठ्नासाथ अघिल्लो दिनको बासीभात पोको पारी ठिहीमा लुगलुग मुटु कमाउँदै बस कुर्नुपर्दा।

कलेज सकेपछि त्यही बासीभात ओभनमा तताएर हतार-हतार खाई काममा पुग्ने, काम सबै सकाएपछि साढे १० बजे राति छुट्टी भएपछि डेढ घण्टा टाढाको कोठामा बुरुरु... हिउँ खेप्दै पुगी खाना बनाएर, खाइबरी भोलिपल्टलाई पोको पारेर सुत्दा ठ्याक्कै साढे १ बज्छ आमा।

काम सकेपछि 'बान्दर-टोपी' भित्र गुजुल्टिएर फुङ्ग उडेको कपाल र ध्वाँसे अनुहार लिएर बस छुट्ला कि भनेर लुगलुग काम्दै दगुर्दा कतिपय दिनमा त बस छुटेर बिहानपख २ बजे मात्र कोठामा पुगेकी छु। यद्यपि, पैसाकै अभावले त हरियो कपडा नलगाएको भन्न मिल्दैन तर बिस्तारै भान हुन लाग्यो कि, एक त अनावश्यक फजुल खर्च हो भने अर्कातिर काममा त्यो लगाउन बन्देज गरिएको नियम हुने गर्दछ।

हाम्रो बिहीबारे हाटमा भैँसी व्यापारी भुर्तेल काकाले आफ्नो भैँसी बेच्नलाई "यो त गुजरातीकै खच्चर हो, सिङ हेर्नुस्, दाँत हेर्नुस्, कस्तो कालो सलक्क परेको छ, जिउडाल र यसको रौँ हेर्नुस्, घर लगी दूध दुहेर हेर्नुस्, एकहाते पनि छैन, कस्तो ज्ञानी छ, घास, दानापानी पनि मज्जाले खान्छ, कस्तो गुणी भैँसी हो यो त" भनेर बखान गरेजस्तै गरी नेपालका कन्सल्टेन्सीका दलालहरूले एप्लाई गर्नुपूर्व ह्यान र त्यान भन्दै अनेक-अनेक फुलबुट्टा भनेर देखाएका सपना, यहाँ आएकै दिन तासको घरझैँ सबै गर्ल्याम-गुर्लुम ढल्ने रहेछ।

'जानासाथ कलेजले १ काम दिलाइदिइहाल्छ अनि अर्को काम त्यहाँ बस्दा चिनजानका साथीभाइबाट पाइहालिन्छ। १ घण्टाकै कम्तीमा पनि १८ डलर दिन्छ, त्यो भनेको नेपाली २ हजार जति पो हुन्छ। दिनमा जति घण्टा काम गरियो, त्यो घण्टालाई दुई हजारले गुणन गर्दा जति आउँछ, दैनिक आम्दानी त्यति हुन्छ। दैनिक त्यति भएपछि महिनामा कति हुन्छ भनेर मैले बताउनै पर्दैन' भनेर यसरी लोभ लाग्ने कुराहरूलाई चाहिँ मुख्य रूपमा हाइलाइट गरेर सुनाउँछन् कि, वर्षदिनभित्र त त्यहाँ पुगेर पुरै तरक्की पो गरिन्छ कि क्या हो जसरी।

पुगेको ६ महिनामा पीआर एप्लाई गर्न पाइन्छ भन्थे। यहाँ पढाइ सकिएपछि वर्क पर्मिट (काम गर्न पाउने इजाजत) मात्रै आउँदा पनि ठुलो चिट्ठा परेको जस्तो खुसी भइने रहेछ। पीआर त अझै कति वर्षपछि कहिले र कुन चराको नाम हो, अझै अत्तोपत्तो छैन।

नेपालबाट देखिने क्यानाडा र यहाँको वास्तविक रुपमा अनुभव गर्दै गरेको क्यानाडामा आकाश-जमिनको फरक हुने रहेछ आमा। नेपालबाट देखिँदा त हिउँसँगै रमाइरहेका, गर्मी मौसममा समुद्रमा छोटा कपडा लगाएर दुवै औँला उठाई हाँस्दै रमाइरहेका फोटोजस्तो, आधुनिक, बढेमानको सपिङ कम्प्लेक्सभित्र किनमेल, पार्कमा घुमफिर गर्दै रमाइलो गर्ने बेला बनाइएको १५ सेकेन्डको टिकटकमा देखिएजस्तो सहज, सुन्दर र रमाइलो हुँदैन रहेछ परदेश।

त्यति समय निकालेर घुमफिर गर्न उनीहरूले १ महिनाअघिदेखि योजना बनाएर बल्ल-बल्ल समय मिलाएका हुँदा रहेछन्। हामी बस्ने घरमै बस्दै गरेका एक जोडी दाजु-भाउजूको भेट सप्ताहन्तमा मात्र हुने गरेको देखियो। एकको दिनको काम हुँदा अर्काको रातको ड्युटी पर्ने रहेछ। त्यस्तै हुने रहेछ आमा यहाँको चलन। सबैका आ-आफ्नै कथा छन्, सबैको आ-आफ्नै समस्या। घरबार, गाडी, व्यवसाय भइसकेकाहरूको आ-आफ्नै समस्या छ।

सगोलमा सेयरिङ नगरी बसौँ भने पैसाले पुग्दैन। बस्दा कतिपय साथीहरूसँग कहिले रुचि मिल्दैन, विचार मिल्दैन, सोच मिल्दैन, खान्की मिल्दैन, मन मिल्दैन। कहिले आफूलाई उनीहरू मिलेर अलि विभेद गरिरहेको भान हुन्छ र आफैँ चुप बस्नु नै श्रेयस्कर ठान्दछु। सुरु-सुरुमा त नरमाइलो पनि लाग्ने गर्थ्यो, तर अहिले त बानी परिसकेछ। सामान्य लाग्छन् त्यस्ता सामान्य समस्याहरू।

बिदाको दिन ऐनाअघिल्तिर उभिन्छु र आफ्नो अनुहार हेर्दा आफैँप्रति दया जागेर आउँछ। पहिला नेपालमा हुँदा आँखावरिपरी अलि-अलि रिङ्कल देखिन्थ्यो, अहिले त रिङ्कलवरिपरी चाहिँ आँखा भएको पाउँछु। अनिद्रा र थकानले होला सायद पोतो बसेको जस्तो देख्छु आफ्नै अनुहार।

महिनाको तीसै दिन काम गर्दा पैसा त राम्रै आउँछ आउनलाई। तर आउनासाथ कर, कोठाभाडा, खाना खर्च, गाडीभाडा, फोन, बत्ती, पानी, बिजुली इत्यादिमा कहाँ हराउँछ-हराउँछ। त्यो पनि बहुतै फारो गरेर, घरको दुख सम्झेर, बहिनीको पढाइ, आमाको ओखतीमुलो, साहुको सयकडा ३ को ऋण, घरबारको बन्धकी इत्यादि मनन गरेर सक्दो बचाउने कोसिस गर्दैछु।

आमा, परदेशमा धेरै इच्छा, चाहना अनि खुसीहरूलाई मनमनै दबाएर बाँच्न सकियो भने मात्र आफ्नो उद्देश्यमा पुगिने रहेछ। सुरु-सुरुमा त म कत्ति आत्तिन्थेँ, डराउँथेँ, मन हडबडाउँथ्यो। बाथरुमभित्र बसेर धेरै रुन्थेँ।

आमाले पकाएको खाना खाएर थालमा चुठेर हिँड्ने, दिदी-बहिनीले लुगा धोइदिने, घरको काममा सिन्को समेत नभाँचेका सुकुमार, सुकुमारीहरूको लागि होइन रहेछ यो मुलुक। कि एक्स्ट्रा ट्यालेन्ट नै हुनुपर्यो, कि यहाँ बिक्ने खालको व्यावसायिक सीप हुनुपर्यो, होइन भने त जे काम मिल्छ, त्यो कामलाई अहोभाग्य ठानेर गरिएन भने, काम गर्न लाज मानियो, सरम मान्न थालियो, सानो काम र ठुलो काम भनेर छनोट गर्न थालियो भने भोकै बस्नुपर्ने रहेछ आमा। जुन कुरा मैले आउनासाथै अनुभूति गर्न पाएँ। जुन मेरो लागि असाध्यै राम्रो सिकाइ भयो।

छोरीले कत्ति दुख पाएकी रहिछे, त्यति दुखमा पनि बोल्दा हाँसेरै ठीकै छ भन्थी भनेर नसोच्नुहोला किनकि म तपाईं र बहिनीको आँखामा आँसु देख्न सक्दिनँ। त्यसै त बुबाको निधनपछि ओभाउन नसकिरहेको तपाईंको परेला भिजेको हेर्न सक्दिनँ थिएँ म।

त्यसैले नभनेको हो यहाँको व्यथा। अहिले त आमा म यसलाई व्यथा र दुख भनेर परिभाषित गर्दिनँ नि। किनकि यस्तो सङ्घर्ष गर्ने म नै पहिलो आप्रवासी नारी होइन रहेछु नि! यहाँ आउनेहरू सबैको आ-आफ्नै कथा छ, आ-आफ्नै इतिहास छ, आ-आफ्नै ब्याकग्राउन्ड छ। तर सबैको कथाहरू फरक-फरक भए तापनि सुरुवाती दिनहरूमा सबैको व्यथा चाहिँ एकै किसिमको हुने रहेछ।

त्यसैले त अचेल मैले यसलाई दुख नठानी एक आप्रवासी परदेशीको सङ्घर्षको जीवनचक्र सोचियो भने मनोबल उच्च बनाउन सकिने रहेछ नि! अहिले त तपाईंको छोरीको मनोबल कस्तो मजबुत बन्दै गएको छ नि बुढीमाउ। अब त सानातिना हुरीबतासले हल्लाउन पनि सक्दैन। दुख के हो, सङ्घर्ष के हो, जीवन के हो, आफन्त नातेदारहरू के हुन् सबै थाहा भइसकेको छ यो १ वर्षभित्र।

केही गर्नु छ मैले। बुबाको देहावसानपश्चात् हाम्रो परिवारको आर्थिक दुरावस्था देखि दुत्कार्ने समाज, सधैँ तिरस्कार गर्ने छिमेकी, हेयको नजरबाट हेरी बेवास्ता गर्ने नाम मात्रका आफन्त भनाउँदाहरूका अघिल्तिर सक्षम बनी देखाउनु छ। च्यातिएको आमाको धोती फेर्नु छ।

आकाशगङ्गा देखिने छानो मायाको सिमेन्टले टाल्नु छ। बहिनीलाई एक काबिल सरकारी अफिसर बनाउनु छ। त्यो सबै पूरा गरेपछि मात्र म आफ्नो खुसीपट्टी सोचौँला। अहिले मेरो मुख्य दायित्व पढाइ, सँगसँगै खर्च जुटाइ, अनि पढाइ सिद्धिएपछि कमाइ, त्यसपछि घरको उत्थान गर्ने मात्र हुनेछ।

खैर, लेख्या लेख्यै धेरै बेर पो हुन लागिसकेछ। बुबाको तिथि कति गते पर्छ, खबर गर्नुस् न है। यहाँ अरू रीत पुर्याउन नसके पनि त्यस दिन निराहार त बस्न सक्छु नि म। अनि सुन्नुस् न आमा, अघिल्लो महिना र यो महिनाको तलबबाट बचाएर यता आउँदा लिएको टिमुरबोटे भुसाल बडाबासँग लिएको सयकडा ३ वाला ऋणको सावाँ-ब्याज गरेर एक लाख तिरिदिनुहोला। म भोलि १ लाख १५ हजार पठाउँछु। अनि बाँकीले चाहिँ तपाईं र बहिनीले साउनको हरिया कपडा, चुरा किन्नुहोला। कान्छीलाई मेहन्दी र कपडा किनिदिनुहोला। तीज पनि त्यसैले मनाउनुहोला।

सोह्रश्राद्ध लागेपछि मेरो अर्को महिनाको तलब आउँछ। म बुबाको श्राद्ध ताका फेरि पठाउँछु। बिस्तारै सबै ठीक हुन्छ आमा, हाम्रो पनि दरिद्रताका दिनहरू सकिन्छन्। म बुझ्न सक्छु मलाई आफ्नो करियर बनाउन तपाईंले भएको घरबारी नै बन्धकी राखेर ३० लाख बढी रकमको ऋण र सोको सावाँ-ब्याजको ठुलो बोझ आफ्नो थाप्लोमा उठाइरहनुभएको महानता, अनि बुबाको निसानी नौगेडी र मार्वाडी समेत बेचेर मलाई खर्च पठाउनुभएको कुरा।

आमा, मैले १९ वर्षसम्म नबुझेको जीवन यो १ वर्षभित्र बुझेँ। वरपर देखेको र भोगेको जीवनले धेरै कुरा सिकाइरहेको छ। अर्को अर्थमा भन्नुपर्दा क्यानाडा एक ठुलो विश्वविद्यालय रहेछ। मैले लेख्दै गर्दा सबै बेहाल, अस्तव्यस्त र खत्तम छ भन्न खोजेको चाहिँ होइन।

विश्वका धेरै देशका आप्रवासीहरूको ठुलो बाहुल्यता छ। जसले गर्दा धेरै समुदायका बहुसांस्कृतिक परम्पराबारे जानकारी पाइन्छ। विकसित राष्ट्र, फराकिला सडक, सभ्य समाज, व्यस्त जीवन, सबै पूर्वाधारहरूले सम्पन्नशाली परिवेश। सीप, योग्यता र लगनशीलता भयो भने राम्रो कमाइको अवसर हुने उच्च सम्भावना, यहाँको स्थायी कागजात बनाउन पाइयो भने राज्यबाट राम्रो साथ र सहयोग प्रणालीको स्थापना गरेको कल्याणकारी राज्यव्यवस्था- यो पनि छ यहाँको सकारात्मक पाटोभित्र। धैर्य गरेर जसले त्यो सुविधा पाएका छन् भने मैले पनि पक्कै त्यो सफलतासम्म पुगेरै छाड्छु भन्ने सङ्कल्प मनमा लिएकी छु आमा।

अनि अर्को कुरा है आमा, मलाई जस्तै बहिनीको मनमा विदेशको भूत सवार हुन कहिल्यै नदिनुस् है। नेपालमा राम्रोसँग पढेर लोकसेवा तयारी गर्न लगाउनुपर्छ। त्यसै त उसको पढाइ पनि असाध्यै राम्रो छ, दिमाग पनि तेजिलो छ। नाम निकाल्न सक्छे सरकारी जागिरमा। सरकारी राम्रो पदको जागिर भयो भने त आमा यो विदेशको तनावयुक्त जिन्दगीभन्दा हजारौँ गुणा राम्रो हुन्छ। फेरि अहिले सरकारी जागिरेहरूको तलब, सेवा-सुविधा पनि बढ्दै गएको छ नेपालमा पनि।

आमा, गन्थन-मन्थन केर्दाकेर्दै बिहानको ४ बजिसकेछ यहाँ। अब उठ्छु म। फ्रेश भएर क्याम्पस जान र खाना प्याकिङ गरेर तयारी गर्नपट्टी लाग्छु। राम्रोसँग बस्नु, ओखती समयमै खानु, धेरै मेरो चिन्ता नलिनु है बुढीमाउ। म यहाँ हाँसीखुसी ठीक, सही-सलामत छु। आफ्नो र बहिनीको धेरै ख्याल गर्नुस् है। अहिलेलाई कलम बन्द गर्छु है आमा।

बाई-बाई मेरी प्यारी मायालु!

उही तपाईंकी प्यारी छोरी स्नेहा

-टोरन्टो, क्यानाडा

तपाईंको प्रतिक्रिया