डढेलोको धुवाँमा ट्रम्पले दिएको भन्सार शुल्कको धम्की ‘बकवास’ : प्रिमियर डग फोर्ड
नेपालTouch
अन्टारियो। क्यानाडामा फैलिएको डढेलोको धुवाँ अमेरिकातर्फ फैलिएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली उत्पादनमा अतिरिक्त भन्सार शुल्क लगाउने धम्की दिएपछि क्यानाडाका राजनीतिक नेतृत्वले त्यसको कडा प्रतिवाद गरेका छन्।
अन्टारियोका प्रिमियर डग फोर्डले ट्रम्पको यस्तो अभिव्यक्तिलाई गैरजिम्मेवार र ‘बकवास’ भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
विश्वकप फुटबलको फाइनल खेल हेर्ने क्रममा न्युजर्सीमा अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग यस विषयमा कुरा गर्दै क्यानाडाले आफ्नो क्षेत्रको डढेलो नियन्त्रण गर्नुपर्ने चेतावनी दिएका थिए।
ट्रम्पले धुवाँका कारण अमेरिकी वायुमण्डल दूषित भएको दाबी गर्दै क्यानाडाले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने वा थप भन्सार शुल्कको सामना गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत क्यानाडाले वन व्यवस्थापनमा लापरबाही गरेको आरोपसमेत लगाएका थिए।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्टारियोका प्रिमियर डग फोर्डले ट्रम्पको आलोचनाको खण्डन गरे। फोर्डले अमेरिकाले गुनासो र धम्की दिनुको सट्टा छिमेकी मुलुकको नाताले डढेलो निभाउने अग्निपरीक्षक तथा दमकल विमान पठाएर सहयोग गर्नुपर्ने बताए।
विगतमा क्यालिफोर्नियाको डढेलो र हुरीबतासका बेला क्यानाडाले अमेरिकालाई मद्दत गरेको स्मरण गराउँदै उनले संकटको समयमा एकअर्कालाई सहयोग गर्नु नै असल छिमेकीको कर्तव्य हुने स्पष्ट पारे।
प्रिमियर फोर्डले अमेरिकाले 'सफ्टवूड लम्बर' माथि लगाएको भन्सार शुल्क हटाएमा वन व्यवस्थापन र स्रोत साधनको परिचालनमा अझ सहज हुने उल्लेख गरे। अमेरिकाको मिनेसोटा राज्यबाट सुरु भएको डढेलो समेत फैलिएको उदाहरण दिँदै उनले प्राकृतिक विपत्तिलाई राजनीतिक मुद्दा बनाएर आरोप-प्रत्यारोपमा उत्रिनु जायज नभएको तर्क गरे।
हाल उत्तरी अन्टारियोसहित क्यानाडाका विभिन्न भागमा डढेलो लागिरहेको छ। यसबाट निस्किएको धुवाँका कारण टोरन्टोका साथै अमेरिकी शहरहरू डिट्रोयट, सिकागो र न्युयोर्कलगायतका क्षेत्रमा वायुको गुणस्तर खस्किएको छ र स्वास्थ्य सतर्कता जारी गरिएको छ।

सम्बन्धित खबर










.png)


.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया