लाहुरेनी सौन्दर्य, जुनु राना अनि लाहुरेनी सपना
जसकुमार राई
जुनु रानाको “लाहुरेनी सौन्दर्य” पुस्तक भर्जिनियाका मित्र अशोक राईको घर पुगेपछि उहाँले उपहार दिनुभयो। उहाँको पुस्तकको नाम “लाहुरेनी सौन्दर्य” सुन्नेबित्तिकै म अलिक नजिक भएँ। म लाहुरेकै छोरो, भान्जा, भतिज। धरानमा हुर्केको, लाहुरेहरूको सङ्गत र उठबसले गर्दा नै लाहुरेहरूप्रति धेरै नजिकिन्छु। अझ एकताका लाहुरेहरूको बेलायतविरुद्धको गोर्खा आन्दोलनमा धरानमा 'गोर्खा युवा मञ्च' खोलेर नै बाबु, बाजे, काका, मामाहरूको आन्दोलनलाई सहयोग गरेका कारणले मैले यो विषयवस्तुमा अध्ययन गर्ने मौका पाएँ। अनि मेरो जिन्दगीमा 'लाहुरे', 'लाहुरेनी' शब्द आत्मीय भएर हृदयको कुनामा टाँसिरहन्छ।
नेपालमा लाहुरेहरूलाई होच्याएर 'तोरी लाहुरे' नै बनाए पनि लाहुरेहरूसँग साँच्चै नै वैश्विक पहिचान छ। लाहुरे हुनु भनेको विश्वको खतरनाक सैनिक हुनु हो। गोर्खा भूतपूर्व सैनिक अर्थात् छोटकरी नाम 'गोभूपू' दिएको उ बेला हामीले 'गोक्ते', 'भुँडे', 'पुड्के' भन्न पनि भ्याइदियौँ, तर मायालु व्याख्याले। पेन्सन पकाएर आएका लाहुरेहरू नेपालमा दैनिक सैनिक अभ्यास कम र बियरमा दम राखेपछि भुँडे हुने नै भए। नेपालको भूमिमा उनीहरू फर्केर आएपछि सरकारले नचिनेपछि, उनीहरूको अन्तर्राष्ट्रिय स्तरको पहिचानको कुनै काम नभएपछि र पहिचान नदिएपछि गोक्ते हुने नै भइहाले। अझ हाम्रो हाइटको मानिस अलि भुँडी तन्किएपछि पुड्के हुने त भइहाल्यौँ। धरानबाट यो नामको परिपञ्च रचिए पनि लाहुरेनीहरूको बारेमा त्यस्तो केही नयाँ थिएन। 'लाहुरेनी सौन्दर्य' आफैँमा नाम नै काफी छ। धरानका लाहुरेनीहरूको आन, बान र शान देखेर पनि हामी कायल थियौँ।
लाहुरेहरूलाई बेलायतले दुई सय वर्षदेखि शोषण, विभेद, अन्याय अनि अधिकारविहीन बनाएर राखेको रहेछ भन्ने अलि पछि थाहा पायौं। धरानमा २०५२ सालदेखि यता गोर्खासँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिएको मेरो जिन्दगी गोर्खाली इतिहास र आन्दोलनको प्रभावले नै २०६२ सालमा लाहुरेको आन्दोलनको बारेमा मेरो जर्नालिज्म (पत्रकारिता) को थेसिस नै लेखेको थिएँ। सधैँ यो विषयमा गौरव गरिरहन्छु।
अझ भनौँ, हङकङकी लेखक जुनु रानाको पुस्तकले ध्यान नखिचेको होइन। सामाजिक सञ्जालमा पुस्तकको आवरण देखेको थिएँ, तर यसरी पुस्तकसँग भेट होला भन्ने लागेको थिएन। न्यूयोर्कदेखि गाडीको बाटो पाँच घण्टा टाढा म्यारील्यान्डबाट अशोकजीको घरमा पुस्तक प्राप्त गर्नु पनि संयोग नै थियो।
पुस्तक सरसरती हेर्दै गएँ, चाख बढ्दै गयो। पुस्तकले धेरै महत्त्वाकाङ्क्षा राखेको छैन।
पुस्तक सरसरती हेर्दै गएँ, चाख बढ्दै गयो। पुस्तकले धेरै महत्त्वाकाङ्क्षा राखेको छैन। पुस्तकमा कोही त छ जसले आफू र वरपरका विषयसँग जोडिएका वातावरण, सम्बन्ध, प्रेम अनि आत्मीयताहरूको बारेमा क्यान्भास कोरेको होस्— जहाँ तपाईं अमूर्त भोगाइ र बेकारका कुराहरू देख्न र पढ्न पाउनुहुन्न। खाली आँखाले र हृदयले सहेका, अनुभूति गरेका वरपरका साना-साना विषयहरू (जसलाई विषयवस्तु बनाउन पनि मुस्किल पर्छ) मा मिहीन ढङ्गले कुरा नलुकाई, सरल भाषामा कोकिल स्वरमा तपाईंलाई 'लाहुरेनी सौन्दर्य'ले सम्झाइबुझाइ गरिरहन्छ। अझ भनौं, बेकारको बौद्धिकतामा अल्झाएको कहीँ पाइँदैन। जो तपाईंलाई लागेको छ, त्यही कुरा भन्दै जाँदा पुस्तक पढिरहँदा आफैँसँग लेखक छेवैमा आएर बोलिरहेको हो कि भन्ने लागिरहन्छ। पढ्दा पनि कोही बोलिरहेको हो कि भन्ने भान हुन्छ। भनौँ न, लेखनको भाषाभन्दा पनि बोलीचालीको भाषामा उतारिएको पुस्तकभरी भेटिइरहन्छ।
खासमा "पुस्तकको आवरण हेरेर जज गर्नु हुँदैन" भन्छु म चाहिँ। पढिसकेपछि लाहुरेनीको सौन्दर्य खै कता हराउँछ-हराउँछ, “लाहुरेनी सौन्दर्य” देखि “लाहुरेनी फूल” सम्म आइपुग्दा लाहुरेनीको सुन्दर मनको बासना आइरहन्छ। अरू खोज्नुभयो भने चाहिँ भेटिँदैन।
यो पुस्तक बेलाबेलामा मनमा उठेका विचारहरूको सङ्ग्रह हो, जो जुनु रानाको जीवनको आरोह-अवरोहको दस्तावेज हो, जसलाई मानवीय जीवनका सुन्दर मनहरूले भोगेका अनुभूतिहरूको सङ्ग्रह भन्न सकिन्छ। तपाईं जुनुको विचारमा सहमत वा असहमत हुन सक्नुहुन्छ, तर उनको विचारले तपाईंलाई सोच्न बाध्य चाहिँ बनाउँछ नै।
लेखक सबैभन्दा धेरै मृत्युसँग आत्तिएको देखिइन्छ। उनलाई वरपर साथीभाइ, आफन्त र आफ्नै बुबाको मृत्युले नमीठोसँग गिजोलेको छ।
लेखक सबैभन्दा धेरै मृत्युसँग आत्तिएको देखिइन्छ। उनलाई वरपर साथीभाइ, आफन्त र आफ्नै बुबाको मृत्युले नमीठोसँग गिजोलेको छ। अनि उनीहरूले समाजलाई दिएर गएको योगदानको बारेमा खुलेर प्रशंसा गर्छिन्। उनको लेखाइ यस्तो छ— लेखाइले बढाइचढाइ नायकको निर्माण गर्दैन। जे, जो, जसरी देखिएका छन्, त्यसरी नै उनीहरूलाई प्रस्तुत गरिएको छ। त्यसैले उनले लेखकका रूपमा भन्दा पनि भोगेर, अनुभूति गरेर निस्किएका निष्कलङ्क शब्दहरू ओतप्रोत गरेकी छन्। कसैको दासले जसरी कसैको प्रशंसा बकेकी छैनन्। उनका लेखाइहरूमा बगिरहँदा यथार्थका भावहरूलाई कहीँ कतै मर्न दिइएको छैन।
जुनुका निबन्धहरू नितान्त निजी अनुभवबाट सुरु हुन्छन् र समाजको विकृति र विसङ्गतिको फराकिलो ठाउँसम्म पुग्छन्। 'लाहुरेनी सौन्दर्य', 'आजको छोरी', 'महिला हिंसा र नेपाली समाज' जस्ता शीर्षकहरूले व्यक्तिगत कथाभित्र सामाजिक संरचनाको आलोचना गर्छन्। “महिला हिंसा र नेपाली समाज” शीर्षक राखेर नै महिला हिंसा गर्नेकै पक्षमा समाजका अगुवा अनि अभियन्ताहरू पीडकलाई नायक र पीडितलाई झनै पीडित बनाइरहेका उदाहरण प्रस्तुत गर्दै समाजको विसङ्गतिको आलोचना गरेकी छन्। “धर्मग्रन्थ, बधू शिक्षा र महिला हिंसा” मा समाजमा रहेका धेरै प्रकारका महिला हिंसाप्रति खुलेर बहस गर्नु उनको सीधा कुरा र प्रस्ट विचारको नमुना देख्न सकिन्छ। उनी घुमाएर कुरा चपाएर बोल्दिनन्; जे अगाडि देखिएको छ, त्यही प्रस्ट पार्छिन्। पुरुष एकाधिकारवादी चिन्तनको ज्वालाले समाजलाई कता लैजाला भन्ने चिन्ता गर्छिन्।
आलोचना पनि प्रेमले गर्न सकिन्छ भन्ने कुराको सुन्दर अर्थ खोज्न चाहिँ पुस्तकै पढ्नुपर्छ।
उनी वैदेशिक आप्रवासनको प्रभाव महिलाको आँखाबाट हेर्ने संवेदनशील स्रष्टाका रूपमा देखा परेकी छन्। यी साना-साना लेखहरूमा व्यक्तिगत अनुभवलाई सामाजिक विमर्शमा रूपान्तरण गर्ने निबन्धकारका रूपमा हेर्ने हो भने हङकङका नेपालीहरूले गर्ने राम्रो कामको प्रशंसा अनि विसङ्गतिहरूको खुलेरै आलोचना गरिएको छ, जहाँ प्रमिल आलिङ्गन पनि छ। आलोचना पनि प्रेमले गर्न सकिन्छ भन्ने कुराको सुन्दर अर्थ खोज्न चाहिँ पुस्तकै पढ्नुपर्छ।
“बिना”, उनको मन मिल्ने साथीको हङकङमा पारिवारिक विश्वास अनि घरबार कसरी समाप्त भयो? ज्यादै सरल तवरले समाजलाई ऐनाजसरी देखाउनु उनको सटिक लेख-रचनाको विशेषता हो। यसलाई छोटो पुस्तक आकारको “टिकटक” भन्नुपर्ला, जति स्क्रोल गर्दै गयो, केही नयाँ अनि महत्त्वपूर्ण सन्देश पाइने। भ्यालेन्टाइन डे (प्रेम दिवस) को दिन 'मनु सोल्टीनी'को यादले आँखा रसाउँछ। युवा वैंशको उनको प्रेम, शरीरमा रोगले आक्रमण गरेपछि प्रेमीसँग विवाह गर्ने उनको सपना अधुरो रह्यो। शारीरिक अशक्तताको अवस्थामा पनि मनु सोल्टीनीको प्रेमीलाई भेट्ने मनोकाङ्क्षा पूरा हुँदैन। हृदयविदारक क्षणको तस्बिर कोरिएको उनको लेखले मन छुन्छ। त्यस्तै हङकङको आगलागीमा भएको नेपाली परिवारको क्षतिमा पनि समवेदना र आँसुहरू उनका पुस्तकहरूमा बगेका भेटिन्छन्।
त्यसैगरी, हङकङका एउटा दुर्लभ चरित्रका आदरणीय किसन राईलाई पनि सम्झिनाले मेरो किसन दाइसँगको व्यक्तिगत सङ्गतका बारेमा चलचित्रजस्तै यादहरू घुमिरहे। किसन दाइ अहिले लाग्छ, “आलु” हुनुहुन्थ्यो। बहुराष्ट्रिय कम्पनीको सुन्दर अनि रेसिपीसँग पनि मिल्ने; नेपाली स्वादमा त आलुको महिमा अपरम्पार नै छ— सबैको स्वादको नन-भेज तरकारीसँग मिल्ने आलु हुनुहुन्थ्यो। तर स्वार्थको सुगर बढी हुनेहरूका लागि चाहिँ विष नै हुनुहुन्थ्यो। किसन दाइको सम्झना चलिरहँदा
त्यस्तै हङकङको आगलागीमा भएको नेपाली परिवारको क्षतिमा पनि समवेदना र आँसुहरू उनका पुस्तकहरूमा बगेका भेटिन्छन्।
२०१७ सालको यामातेई सामुदायिक भवनमा भएको रत्नकुमार बान्तावाको जीवनमा आधारित “स्याक्रिफाइस नेभर डाइज” डकुमेन्ट्री शोपछि, हतार-हतारमा सम्पन्न भएको थियो। त्यही बेला 'हिमायती'को डकुमेन्ट्री सुटिङ गर्नुपर्ने भएकाले हामी झनै हतारिएका थियौँ। हतार-हतारमा जीवन बितिरहेको हङकङलाई सही बाटोमा हिँडाउने एक मात्र पात्र किसन राई हुनुहुन्थ्यो। उहाँ नभएको हङकङ आजकल प्रायः शून्य-शून्य लाग्छ। पहिलो पटक हामी मोफसलमा काम गर्ने पत्रकारहरूलाई सम्मान गर्दै हङकङमा कार्यक्रमको आयोजना गर्नु, साथै रामेशजस्तो जनताको कलाकारको एकल कार्यक्रम गराउनु— किसन दाइ दिमागले होइन मुटुले चल्नुहुन्थ्यो भन्ने अहिले पनि मलाई लागिरहन्छ। उहाँले हामी पत्रकारमा 'सेक्स सिम्बोल/ग्ल्यामर' र जनगायक रामेश श्रेष्ठमा नाफा खोजेका भए उहाँ आजसम्म कसैको मनमा बाँचिरहनुहुने थिएन।
अब चाहिँ खासमा “लाहुरेनी सौन्दर्य”को चर्चा नगरी बिट नमर्ने नै भयो। किनभने लेखकले यो लेखलाई नै पुस्तकको नाम राखेर सजाउनुभएको छ। लाहुरेको सौन्दर्य अवश्य आउँछ— लाहुरेनी भएपछि। लाहुरे नभई लाहुरेनी हुन गाह्रो छ। लेखकलाई पनि लाहुरेकै कारण हङकङ पुगेर जीवनलाई अभ्यास गरिरहेको अवस्था छ। खासमा रहर त लाहुरेनी बन्ने नभएको कहाँ हो र? सिङ्गापुर पुगेको मुक्लीसे भेनालाई नक्कल पारेर फोटो नपठाएको कहाँ हो र? तर पनि लेखक लाहुरेनी नहुनुको सुन्दर पीडाभन्दा पनि भएका लाहुरेनीहरूको दुःखलाई आत्मसात् गर्न तयार छिन्।
श्रवण मुकारुङको लाहुरेनी गीत याद आउँछ। लासिमित राईको स्वरमा सजिएको मेरो यो प्रिय गीत थियो:
लडाइँको मैदानमा तिमी खेल्छौ बन्दुकसँग
एकान्तको जङ्गलमा म त खेल्छु आँसुसँग
बैरी मारी सिमानाको रक्षा गर्नु तिम्रो कर्म
आफ्नै घरको चार किल्ला जोगाउनु मेरो धर्म
समाजले लाहुरेको सफलतालाई सम्मान गर्छ, तर लाहुरेनीको सङ्घर्षलाई प्रायः देख्दैन। 'लाहुरेनी हुनु, धेरै पैसा खेलाउनु, सुखी हुनु, परदेश घुम्नु अनि मस्ती गर्नु' अर्थ लगाइरहनेहरू, “पल्टनेको धनको आशमा” झुन्डिने भन्ने आरोप लगाएर गीत गाउनेहरू अहिले पनि चर्चित छन्। ती लाहुरेनीको आरिस गर्नेहरूलाई जुनुले मज्जाले सम्झाएकी छन्।
लडाइँमा मान्छे नमर्ने भए अरू जाति नै त्यो लाहुर भर्तीमा पुगिसकेका हुन्थे, जसरी कमाउने ठाउँ अमेरिकामा पढे-लेखेका अनि सम्पत्ति भएकाहरू अहिले देखा पर्छन्। बेलायतमा लाहुरेहरू हुलका हुल किन देखिन्छन्? मर्नु, युद्ध गर्नु कुनै खेल, ओलम्पिक वा विश्वकप होइन— कसैको हार अनि जितमा ट्रफी पाइने। हार्नेहरू चिहान हुन्छन्, माटो हुन्छन्। युद्धको नियम नै एउटा नमरी, समाप्त नभई अर्काको जित हुँदैन। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध भएका ठाउँ मलेसिया, ब्रुनाई, फल्कल्यान्ड टापु, अफगानिस्तान, कोसोभो र कारगिलमा टुर्नामेन्ट खेल भएको भए अन्य जाति कै मानिस जान्थे। छाती र तिघ्रा नपुग्नेहरू लालमोहर लिएर जान्थे। मर्नुपर्ने भएकाले नगएका हुन्।
लाहुरे नभई लाहुरेनी नहुने भएकाले लाहुरेजत्तिकै साहसी लाहुरेनी हुनैपर्ने थियो। किनभने युद्धमा जानका लागि उनले बिदाइ गर्नु चानचुने कुरै थिएन। लाहुरेको वैंश, धन र आलिसान मात्रै होइन, लाहुरेको फ्रस्ट्रेसन, मृत्यु, घाइतेको स्याहार पनि अनि मलामी पनि भएर लाहुरेनीको बाहिरी सौन्दर्यलाई आँक्न मिल्दै मिल्दैन। अझ भनौँ, लाहुरेले कमाएको धन ठुलो हो या लाहुरेनीले जोगाएको सम्बन्ध? यही प्रश्न पनि यो पुस्तकको आवरणसँगै आएको नामको सबैभन्दा गहिरो साहित्यिक अनुभूति हो। वर्तमानमा उभिएर इतिहासका शासकहरूको लाहुरे लगाउने मनोपोलीमाथि प्रश्न गर्छिन्। लाहुरेहरूलाई खासमा शासकले बेचेका हुन्— वीर तर दास बनाएर युद्ध मैदानमा बेचेका हुन्। त्यसरी नै लाहुरेनीहरू पनि लाहुरेको पहिचानमै सङ्गोलमा बेचिएका हुन्। जुनु रानाले नेपाली साहित्यमा लाहुरेको सफलताको कथा होइन, लाहुरेनीको मौन प्रतीक्षालाई इतिहासका पानामा लेख्ने साहस गरिन्। उनको लेखनले आँसुको वर्णन मात्र गर्दैन, सामाजिक र राजनीतिक इतिहासमाथि प्रश्न उठाउँछ।
लाहुरे नभई लाहुरेनी नहुने भएकाले लाहुरेजत्तिकै साहसी लाहुरेनी हुनैपर्ने थियो। किनभने युद्धमा जानका लागि उनले बिदाइ गर्नु चानचुने कुरै थिएन।
जुनु रानाको भाषा अत्यन्तै अलङ्कारिक छैन। उहाँ सरल, सहज र संवादात्मक शैलीमा लेख्ने लेखक हुनुहुन्छ। यही सरलताले पाठकलाई पुस्तकको अन्त्यसम्म तानिरहन्छ।
'राष्ट्रपतिज्यूलाई पत्र', 'हाम्रो सङ्घसंस्थाप्रति जन्मिएको प्रश्न', 'महिला हिंसा र नेपाली समाज' जस्ता शीर्षकहरूले उहाँको लेखन केवल भावुक मात्र नभई सामाजिक र राजनीतिक चेतनाले पनि निर्देशित भएको देखिन्छ। उहाँले पात्रहरूलाई आदर्श बनाउनुभएको छैन; उनीहरू समाजका कमजोर प्रतिनिधि पात्र हुन्। यही कारणले आवाजविहीनहरूको आवाज मुखरित गर्न पनि जीवनका वास्तविक पात्रहरूको स्पर्शले यो कृतिलाई अझ मुलायम बनाएको छ।
जुनु रानाको लेखन केवल कथा वा निबन्ध होइन, नेपाली महिलाको जीवन, सङ्घर्ष, प्रेम, आत्मसम्मान र सामाजिक परिवर्तनको खोज पनि हो। यही संवेदनशीलता र सामाजिक दृष्टिले उनको लेखनलाई समकालीन नेपाली साहित्यमा अर्थपूर्ण बनाउँछ।
हङकङका गगनचुम्बी भवनहरूको छायामा पनि नेपाली मन कसरी धड्किरहन्छ भन्ने अनुभूतिको नाम हो “लाहुरेनी सौन्दर्य”। यसमा परदेशको उज्यालो छ, तर गाउँको सम्झनाको ओस पनि छ; मुस्कान छ, तर त्यसभित्र लुकेको मौन विरह पनि छ।
जाँदाजाँदै, हङकङ मैले पहिलो पटक र बारम्बार टेकेको सुन्दर भूमि हो, जहाँ मेरी आमा म जन्मनुअघि झन्डै ६ वर्ष लाहुरेनी जीवन बिताउनुभएको थियो। आमा दोस्रो पटक हङकङबाट फर्किएको तीन महिनामा म मेरो पहाडको घर भोजपुर, भोटेछापमा जन्मिएँ। यो आमाले भन्नुभएको हो। मेरो लगभग हङकङमा नजन्मिनुमा आमालाई दोषी मान्थें। किनभने मेरा समकालीनहरू हङकङ आईडी लिएर कमाउन थालेपछि आमालाई मैले भनेको थिएँ, “आमा, तीन महिना किन नपर्खिएको? म पनि हङकङ आईडीवाला हुन्थें। हेर, पैसा कमाएर धरानमा घर बनाउँथें।”
आमाले मुसुक्क हाँसेर भन्नुभएको थियो, “यो परदेशमा तीन महिना कसले पर्खन्छ आफ्नो घर फर्कन? तँलाई पछि थाहा हुन्छ।” आमाले चाहनुभएको भए म हङकङ आईडीवाला हुन्थें। अहिले पनि मलाई पछुतो लागिरहन्छ, तर चित्त बुझाउँछु। आईफोनजस्तै आफैँलाई ठान्ने गर्छु अनि हाँस्छु— “असेम्बल इन हङकङ, मेड इन नेपाल!” आज झन्डै जन्मेको भूमिको सम्झना गर्दै जुनुजीको “लाहुरेनी सौन्दर्य”लाई नियालिरहँदा म नजन्मेको भूमिमा लेखक जुनु रानाको आशा, सङ्घर्ष, प्रेम, आत्मीयता, डर, शङ्का, रिस, आत्मगौरव र समकालीन यथार्थको सुन्दर जीवनसँग साटिने मौका पाएँ।
'लाहुरेनी सौन्दर्य' नेपाली डायस्पोरा साहित्यमा परदेशलाई केवल भौगोलिक दूरीका रूपमा होइन— स्मृति, प्रेम, पहिचान र आत्मसङ्घर्षको सांस्कृतिक भूगोलका रूपमा प्रस्तुत गर्ने संवेदनशील कृति हो।
-न्यूयोर्क, क्वीन्स ज्याक्सन हाइट्स

सम्बन्धित खबर
.png)
.png)










.png)

.png)








तपाईंको प्रतिक्रिया