क्यानाडामा ३६ हजारभन्दा बढी उपभोक्ता ऋण तिर्न नसक्ने अवस्थामा
नेपालTouch
अन्टारियो। क्यानाडामा ऋण तिर्न नसकेर कानुनी रूपमा राहत माग्ने उपभोक्ताको संख्या लगातार तेस्रो त्रैमासिकमा ३६ हजार नाघेको छ। सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म ३६ हजार ७९७ जनाले ऋणसम्बन्धी दिवालियापन प्रक्रिया वा अन्य कानुनी राहतका लागि निवेदन दिएका छन्।
क्यानाडाको दिवालियापन तथा ऋण असुलीसम्बन्धी कार्यालयको तथ्यांक उद्धृत गर्दै क्यानाडाली दिवालियापन तथा पुनर्संरचना व्यवसायीहरूको संस्था (काइर्प) ले सार्वजनिक गरेको विवरणअनुसार सन् २००९ को पहिलो तीन त्रैमासिकयताकै यो सबैभन्दा ठूलो संख्या हो। सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि त्यतिबेला पनि ऋण तिर्न नसक्ने उपभोक्ताको संख्या उच्च थियो।
तर, कुल संख्यामा वृद्धि भए पनि क्यानाडाका वयस्कमध्ये प्रति एक हजार जनामा ऋणसम्बन्धी कानुनी राहत माग्नेको दर चालु वर्षको तेस्रो त्रैमासिकमा १.१ रहेको छ। सन् २००९ को सोही अवधिमा यो दर १.५ थियो।
जनसंख्या वृद्धिका कारण प्रतिहजार वयस्कमा देखिने दर कम भए पनि ऋणसम्बन्धी निवेदनको संख्या निरन्तर उच्च रहनुले क्यानाडालीहरूलाई ऋण व्यवस्थापन गर्न कठिन भइरहेको देखाउने काइर्पका उपाध्यक्ष तथा इजाजतप्राप्त दिवालियापन ट्रस्टी वेस्ली कोवानले बताएका छन्।
सन् २०२५ सेप्टेम्बरदेखि २०२६ सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा उपभोक्ता दिवालियापन तथा ऋण राहतसम्बन्धी निवेदन अघिल्लो १२ महिनाको तुलनामा पाँच प्रतिशतले बढेको छ।
सेप्टेम्बरमा मात्रै १२ हजार ८३६ जनाले यस्तो निवेदन दिएका थिए। यो संख्या अगस्टको तुलनामा ९.२ प्रतिशत र सन् २०२५ को सेप्टेम्बरको तुलनामा १.३ प्रतिशत बढी हो।
प्रान्तगत रूपमा अटलान्टिक क्यानाडामा वार्षिक वृद्धि सबैभन्दा बढी देखिएको छ। प्रिन्स एडवार्ड आइल्यान्डमा निवेदन १५.९ प्रतिशतले बढेर १७५ पुगेको छ। न्यु फाउन्डल्यान्ड एन्ड ल्याब्राडोरमा ५.४ प्रतिशतले बढेर ६४९ र नोभा स्कोसियामा पाँच प्रतिशतले बढेर एक हजार १२५ पुगेको छ।
यसैबीच, सन् २०२६ को तेस्रो त्रैमासिकमा क्यानाडाका एक हजार १३३ व्यवसायले दिवालियापनसम्बन्धी निवेदन दिएका छन्। यो संख्या दोस्रो त्रैमासिकको तुलनामा ११.६ प्रतिशत कम भए पनि सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा २.३ प्रतिशत बढी हो।
व्यवसायमध्ये आवास तथा खाद्य सेवा क्षेत्रमा दिवालियापनसम्बन्धी निवेदन सबैभन्दा बढी बढेको छ। यस क्षेत्रमा निवेदन ३५ प्रतिशतले बढेर १८२ पुगेको छ। यातायात तथा भण्डारण क्षेत्रमा १५ प्रतिशतले बढेर ९६ पुगेको छ।
कुल व्यावसायिक दिवालियापन निवेदनमध्ये आवास तथा खाद्य सेवा क्षेत्रको हिस्सा १६.४ प्रतिशत छ। त्यसपछि निर्माण क्षेत्रको हिस्सा १४.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित खबर











.png)



.png)
.png)
.png)
.png)








तपाईंको प्रतिक्रिया