• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

'विश्वकप हेर्न' क्यानाडा आएका १७५ जनाद्वारा शरणार्थी दाबी, ५ जना नेपाली

नेपालTouch
सोमबार श्रावण २५, २०८३ | Monday August 10,2026
-नेपाल टच ग्राफिक्स

अन्टारियो । क्यानाडामा सम्पन्न फिफा विश्वकप २०२६ अवलोकनका लागि आएका १७५ जना विदेशी नागरिकले शरणार्थी दाबी गरेका छन्।

क्यानाडाको अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्रालय (आइआरसिसी) ले दिएको जानकारी अनुसार यसरी शरणार्थी दाबी गर्नेहरूमा नेपालका ५ जना नागरिक समेत रहेका छन्।

भिसा वा विद्युतीय यात्रा अनुमति (इटीए) आवेदनमा 'फिफा विश्वकप २०२६' उल्लेख गरी क्यानाडा प्रवेश गरेका कूल २६,१११ जना विदेशी नागरिकमध्ये ती व्यक्तिहरूले शरणार्थी आवेदन दिएका हुन्।

पहिलोपटक 'दी ग्लोब एन्ड मेल' ले सार्वजनिक गरेको यो तथ्याङ्कलाई आइआरसिसीले सिटिभी न्युजलाई पठाइएको आधिकारिक इमेलमार्फत पुष्टि गरेको छ।

क्यानाडा, अमेरिका र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको पाँच साता लामो विश्वकपअन्तर्गत क्यानाडाका टोरन्टो र भ्यान्कुभर शहरमा १३ वटा खेलहरू सञ्चालन भएका थिए। आइआरसिसीकी प्रवक्ता अनाहिता बेलाडीका अनुसार क्यानाडाले खेलाडी, प्रशिक्षक, सञ्चारकर्मी, प्रायोजक र दर्शकहरूसहित हजारौँ पाहुनालाई स्वागत गरेको थियो।

सिटिभी न्युजलाई दिएको जानकारीमा प्रवक्ता बेलाडीले भ्रमण भिसामा आएका केही व्यक्तिले पछि शरणार्थी दाबी गरे पनि बहुसंख्यक आगन्तुकहरूले भिसाको नियम पालना गरेर फर्किएको बताएकी छन्।

क्यानाडामा शरणार्थी आवेदन दिनका लागि प्रवेश विन्दुमै क्यानाडा सीमा सेवा एजेन्सी (सिबिएसए) का अधिकारीसमक्ष वा देशभित्र प्रवेश गरिसकेको खण्डमा आइआरसिसीमार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने कानुनी प्रावधान छ।

आइआरसिसीको तथ्याङ्क अनुसार शरणार्थी दाबी गर्नेहरूमा सबैभन्दा बढी घानाका २५ जना रहेका छन्। त्यसैगरी इजिप्ट, कोलम्बिया र केन्याका १५–१५ जना, चीन, बङ्गलादेश, नाइजेरिया र सेनेगलका १०–१० जना तथा नेपाल, बुरुन्डी, पाकिस्तान र इक्वेडरका ५–५ जना नागरिक रहेका छन्।

अध्यागमन विभागले विश्वकपको तयारीका क्रममा आउने दर्शक तथा आवेदकहरूलाई सहजीकरण गर्न आवेदन फारमको विशेष बाकसमा 'फिफा विश्वकप २०२६' लेख्न सूचित गरेको थियो। जसका आधारमा क्यानाडा सरकारले प्रतियोगितासँग सम्बन्धित आवेदकहरूको तथ्याङ्क छुट्टै ट्र्याक गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया