• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

हेलिकप्टरबाट गस्ती सुरु गर्दै पील प्रहरी

नेपालTouch
बिहीबार श्रावण २८, २०८३ | Thursday August 13,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडाको अन्टारियो प्रादेशिक सरकारले प्रहरी टोलीका लागि खरिद गरेका हेलिकप्टरमध्ये पहिलो हेलिकप्टर पील क्षेत्रीय प्रहरीले उडान तथा गस्तीका लागि प्रयोगमा ल्याएको छ। 

क्यालेडोनस्थित एक कार्यक्रममा सार्वजनिक गरिएको ओन्टारियोमै निर्मित एयरबस एच-१२५ हेलिकप्टरले यसै सातादेखि मिसिसागा, ब्राम्प्टन र क्यालेडोन क्षेत्रमा गस्ती सुरु गर्नेछ।

पील क्षेत्रीय प्रहरीका प्रमुख निशान दुरैअप्पाका अनुसार यो हेलिकप्टर एकपटकमा लगातार चार घण्टासम्म उडान भर्न सक्षम छ। 

दक्षिण क्यालेडोनबाट मिसिसागास्थित लेक ओन्टारियोसम्म पुग्न यसलाई जम्मा छ मिनेट मात्र लाग्नेछ। यसले सडकमा गाडीमार्फत गस्ती गर्ने अधिकारीहरूलाई थप मद्दत पुग्नुका साथै आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यो हेलिकप्टरसँगै पील प्रहरीको एयर सपोर्ट युनिटमा पाइलट, अधिकारी, इन्जिनियर र प्राविधिक गरी २० जनाको टोली परिचालन गरिएको छ। 

आधुनिक थर्मल इम्याजिङ क्यामेरा तथा हवाई प्रविधि जडित यस हेलिकप्टरको प्रयोग चोरी भएका गाडीको खोजी, आपत्कालीन उद्धार, सवारी नियमन, संदिग्धको निगरानी र गम्भीर अपराधको अनुसन्धानमा गरिनेछ।

अन्टारियो सरकारले ग्रेटर टोरन्टो एरिया  र ओटावाका प्रहरी सेवाका लागि १३४ मिलियन डलरको लागतमा पाँचवटा हेलिकप्टर उपलब्ध गराउने योजना अघि सारेको थियो। 

त्यसपछि फोर्ड सरकारले यो योजनालाई विन्डसर र नायग्रा क्षेत्रसम्म विस्तार गर्दै थप ५७ मिलियन डलर बजेट छुट्याएको थियो। सोही योजना अन्तर्गत पील प्रहरीले पहिलो पटक यो हेलिकप्टर सेवामा ल्याएको हो।

तपाईंको प्रतिक्रिया