• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

'मिसिसागा - ब्राम्प्टन जोड्ने एलआरटी निर्माण कार्य २०२७ सम्ममा सकिने'

नेपालTouch
बुधबार श्रावण २७, २०८३ | Wednesday August 12,2026
-नेपाल टच ग्राफिक्स

अन्टारियो । मिसिसागा र ब्राम्प्टन शहरलाई जोड्ने बहुप्रतिक्षित 'हजेल म्याक्कालियन' लाइट रेल ट्रान्सिट (एलआरटी) को निर्माण कार्य सन् २०२७ को समरसम्ममा सम्पन्न हुने भएको छ। मेट्रोलिंक्सका मुख्य कार्यकारी अधिकृत माइकल लिन्डेले भौतिक पूर्वाधारको निर्माण सकिएलगत्तै रेलको परीक्षण सुरु गरिने जानकारी दिएका हुन्।

अन्टारियो सरकारको एक कार्यक्रममा बोल्दै सीईओ लिन्डेले आगामी वर्षको यसै समयसम्ममा आयोजनाको सम्पूर्ण भौतिक संरचना निर्माण गरिसक्ने लक्ष्य राखिएको बताए। १८ किलोमिटर लामो यो रेल सेवा ह्युरोन्टारियो स्ट्रिट भएर सञ्चालन हुनेछ। निर्माण सकिएपछि प्रणाली एकीकरण र सुरक्षा परीक्षणको अन्तिम चरण सुरु गरिनेछ।

तत्कालीन लिबरल सरकारले सन् २०१७ को अगस्टमा यो आयोजनाको घोषणा गरेको थियो। प्रारम्भिक योजना अनुसार सन् २०१८ बाट निर्माण सुरु गरी सन् २०२२ सम्ममा रेल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर विभिन्न कारणले ढिलाइ हुँदा सन् २०२० को वसन्तऋतुबाट मात्रै निर्माण कार्य सुरु हुन सकेको थियो।

आयोजना तोकिएको समयभन्दा केही वर्ष ढिलो भए पनि पछिल्लो समय कामले तीव्रता पाएको मेट्रोलिंक्सले जनाएको छ। हालसम्म लिक ओछ्याउने ७५ प्रतिशत काम सकिएको छ भने गाइडवे निर्माण अन्तिम चरणमा पुगेको छ। त्यस्तै १४ वटा ट्र्याक्सन पावर सबस्टेशनमध्ये आधाभन्दा बढी तथा मर्मतसम्भार र भण्डारण केन्द्रहरूमा विद्युत आपूर्ति सुरु भइसकेको छ।

टोरन्टोका एग्लिन्टन क्रसटाउन र फिन्च लाइन सञ्चालन अघि परीक्षण गर्दा प्राप्त अनुभवका आधारमा हजेल म्याक्कालियन लाइनमा प्रणाली एकीकरण परीक्षण चाँडै सुरु गर्न लागिएको हो। रेल सेवालाई भरपर्दो र सुरक्षित बनाउनका लागि यो अन्तिम चरणको परीक्षण अत्यन्त महत्त्वपूर्ण हुने लिन्डेले स्पष्ट पारे।

अन्टारियोका यातायात मन्त्री प्रभमीत सरकारियाले पूर्वाधार निर्माण जटिल भए पनि निर्माण कार्यलाई तीव्र बनाउन सप्ताहन्तमा समेत काम भइरहेको बताएका छन्। मेट्रोलिंक्स र निर्माण साझेदारहरूसँग मिलेर द्रुत गतिमा काम भइरहेको भन्दै यो आयोजना यस क्षेत्रका बासिन्दाका लागि निकै प्रभावकारी साबित हुने उनले बताए।

दक्षिणमा मिसिसागाको पोर्ट क्रेडिट गो स्टेशनदेखि उत्तरमा ब्राम्प्टनको स्टिल्स एभिन्युस्थित ब्राम्प्टन गेटवे टर्मिनलसम्म सञ्चालन हुने यस एलआरटीमा १९ वटा स्टेसन रहनेछन्। यसका साथै प्रादेशिक कन्जर्भेटिभ सरकारले सन् २०२४ मा यस लाइनलाई मिसिसागा लुप र डाउनटाउन ब्राम्प्टनसम्म विस्तार गर्ने योजनासमेत अघि बढाएको छ।

तपाईंको प्रतिक्रिया