• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

एनआरएनए क्यानाडा पीडितको न्याय, सुरक्षा र कानुनी अधिकारका पक्षमा उभिने

नेपालTouch
बुधबार श्रावण २७, २०८३ | Wednesday August 12,2026

टोरन्टो। एनआरएनए क्यानाडाले यहाँको नेपाली समुदायभित्र हालैका दिनामा चर्चामा आएका मानव तस्करी तथा आप्रवासनसम्बन्धी ठगीका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोसुकै व्यक्ति वा समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गर्दै सम्बन्धित निकायबाट हुने अनुसन्धान तथा कानुनी कारबाहीमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थाका प्रवक्ता तिलाराम सापकोटाले अगस्ट ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा क्यानाडामा बसोबास गर्ने नेपाली समुदायको हित, सुरक्षा र मर्यादाप्रति संस्था प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

"संस्थाको नाम, पद वा पहुँचको साथै कुनै साँस्कृतिक कार्यक्रममा गरेको उपस्थितिलाई दुरुपयोग गरीकसैले पनि व्यक्तिगत स्वार्थका लागि कानुन विपरित कार्य गर्छ भने त्यस्ता कार्यको संस्था कडा शब्दमा भत्सर्ना गर्दछ", विज्ञप्तिमा भनिएको छ। 

संस्थाको नाम वा पदको दुरुपयोग अस्वीकार्य

एनआरएनए क्यानाडाले गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधिमा संलग्न जोसुकै व्यक्ति वा समूहसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ। संघले पीडितको न्याय, सुरक्षा र कानुनी अधिकारका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित घटनाबारे निष्पक्ष छानबिन गर्न स्थानीय तथा संघीय सुरक्षा निकायलाई आग्रह गरेको छ।

"सम्बन्धित निकायमा उजुरी गरेको खण्डमा दोषीलाई कानुनी दायरामा ल्याउन र अभियोजन गर्ने प्रक्रियामा क्यानेडियन प्रशासनलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं" विज्ञप्तिमा जनाइएको छ।

पीडितलाई न्याय र समुदायलाई सचेत रहन आग्रह

एनआरएनए क्यानाडाले आप्रवासनसम्बन्धी ठगी वा मानव तस्करीको जोखिममा परेका व्यक्तिहरूलाई सम्बन्धित सरकारी निकायमा उजुरी गर्न आग्रह गरेको छ। संघले श्रमिक वा अन्य व्यक्तिबाट गैरकानुनी रूपमा रकम असुल्ने, उनीहरूको शोषण गर्ने वा आप्रवासन प्रक्रियाको दुरुपयोग गर्ने कार्य गम्भीर कानुनी परिणाम निम्त्याउन सक्ने भन्दै समुदायलाई सचेत रहन आग्रह गरेको छ। विज्ञप्तिअनुसार, यस्ता गतिविधिमा संलग्न व्यक्तिले घटना भएको लामो समयपछि पनि आपराधिक अभियोग, जरिवाना, जेल सजाय वा सम्बन्धित लाइसेन्स खारेजीजस्ता कानुनी परिणाम सामना गर्नुपर्ने हुन सक्छ। संघले उजुरीकर्ताको सूचना तथा गोपनीयताको संरक्षण सम्बन्धित निकायहरूको जिम्मेवारी रहेको पनि स्मरण गराएको छ।

कहाँ उजुरी गर्ने?

संस्थाले आप्रवासन ठगी, मानव तस्करी वा सम्बन्धित गैरकानुनी गतिविधिबारे जानकारी भए क्यानाडाका सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा निम्न सम्पर्कहरू उल्लेख गरिएको छ:

CBSA Border Watch Line: 1-888-502-9060 र वेवसाइट

https://www.cbsa-asfc.gc.ca/security-securite/bwl-lsf-eng.html](https://www.cbsa-asfc.gc.ca/security-securite/bwl-lsf-eng.html)

ESDC Service Canada Tip Line: 1-866-602-9448

क्यानाडाको संघीय  प्रहरी आरसिएमपीको वेवसाइटhttps://www.rcmp-grc.gc.ca/](https://www.rcmp-grc.gc.ca/)
स्थानीय प्रहरीमा पनि उजुरी गर्न सकिन्छ। 

Ministry of Labour (श्रम मन्त्रालय) :

Canadian Human Trafficking Hotline: 1-833-900-1010

समुदायको प्रतिष्ठा जोगाउन एकजुट हुन आह्वान

विज्ञप्तिको अन्त्यमा संस्थाले नेपाली समुदायको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गैरकानुनी गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। संघले कानुनविपरीत कार्य गर्ने व्यक्तिको पहिचान उसको व्यक्तिगत जिम्मेवारी भएको स्पष्ट गर्दै त्यस्ता गतिविधिका कारण समग्र नेपाली समुदायलाई नै नकारात्मक रूपमा चित्रण गर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई जिम्मेवार र सचेत बन्न आह्वान गरेको छ। प्रवक्ता सापकोटाद्वारा जारी विज्ञप्तिमा कानुनको शासन, पीडितको अधिकार र सुरक्षित आप्रवासन प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याइएको छ। 

तपाईंको प्रतिक्रिया