सामुदायिक पत्रकारिता र नेपालमा लगानीबारे क्यानाडामा छलफल
नेपालTouch
अन्टारियो । पत्रकारिता र उद्यमशीलताको जगमा क्यानेडियन नेपाली समुदायलाई जोड्ने उद्देश्यका साथ अन्टारियोको जर्जटाउनमा आइतवार अपरान्ह एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को मुख्य आयोजना तथा एनआरएनए क्यानाडा र फेडरेसन अफ क्यानाडा नेपाल च्याम्बर अफ कमर्सको सह-आयोजनामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा इन क्यानाडा थ्रु कम्युनिटी जर्नालिज्म’ शीर्षकमा विचार मन्थन गरिएको हो।
नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न यो कार्यक्रम मुख्यतः दुई सत्रहरूमा बाँडिएको थियो।
कार्यक्रमको पहिलो सत्र क्यानाडामा भइरहेको नेपाली पत्रकारिताको अभ्यास र अनुभव आदानप्रदानमा केन्द्रित थियो। ३० वर्षभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा सक्रिय, तेह्रथुममा जन्मिएकी राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिम्सिनाले यो सत्रको सहजीकरण गरेकी थिइन्।
तिम्सिनाले पहिलो सत्र संचालन गर्दै विदेशमा बसेर पत्रकारिता गर्नेलाई प्रवासी भन्न छोड्नुपर्ने तर्क राख्दै 'आफू बसेको देश नै घरवास ठान्नु पर्ने'मा जोड दिएकी थिइन्।
.jpg)
सो बहसका क्रममा युनिभर्सिटी अफ अटोवाका आंशिक प्राध्यापक डा. भानुभक्त आचार्यले पत्रकारितामा एआईको प्रयोग, यसका राम्रा र नराम्रा पक्षबारे अनुभव सुनाएका थिए। पत्रकारहरूले एआइ प्रयोगमा अभ्यस्त बन्न सके सूचना प्रवाहमा अझ बढी योगदान पुर्याउन सक्ने डा. आचार्यको तर्क थियो।
नेपाल टच मिडियाका सम्पादक बेनुप भट्टराईले क्यानाडामा नेपालीभाषी पाठक, दर्शक र श्रोतालाई लक्षित गरी पत्रकारिता गर्दाका चुनौती र सम्भावनाबारे विचार राखेका थिए।
नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसिएनसी) का अध्यक्ष वेदनिधी गौतमले विदेशमा बस्ने नेपालीलाई विदेशबाटै सञ्चालित नेपाली भाषाका सञ्चारमाध्यमले मातृभाषामै समाचार पस्केर गुन लगाइरहेको उल्लेख गरेका थिए।
अनुभवी पत्रकार अनिल थापाले सैद्धान्तिक पक्षबारे चर्चा गर्दै बदलिँदो समयमा पत्रकारिताको मूल्य-मान्यता जोगाएर पाठकलाई सुसूचित गर्ने काममा चुनौती र अवसर दुवै रहेको बताएका थिए।
दोस्रो सत्रमा क्यानाडामा व्यवसाय र नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्भाव्यताबारे मन्थन भएको थियो।
एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा. पुण्यसागर मरहट्टाले सञ्चालन गरेको उक्त सत्रमा टोरन्टोस्थित सेन्टेनियल कलेजका प्राध्यापक डाक्टर तुल्सी धरेल, व्यवसायी तथा सामाजिक अगुवा विजय पौडेल, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्ट्यान्ट मुगाराज भण्डारी र रियल्टर ऋषिराम गैरे प्यानेलिस्टका रूपमा प्रस्तुत थिए।
उक्त सत्रका सबैजसो सहभागीले क्यानाडामा व्यवसाय गर्दाको अनुभव सुनाउँदै नेपालमा लगानी गर्दा आइपर्न सक्ने सबल र दुर्बल पक्षबारे चर्चा गरेका थिए।
कार्यक्रमका मुख्य अतिथि राजदूत भरतराज पौड्यालले विदेशमा रहेका नेपालीहरूलाई स्वदेशमै लगानी गर्न जोडदार आह्वान गरेका थिए।
"नयाँ सरकारले नीतिगत परिवर्तन गरिरहेको छ", राजदूत पौड्यालले भने, "सूचना र प्रविधिको तीव्र विकासले गर्दा पनि विदेशमा बस्ने नेपालीका लागि नेपालमा लगानी गर्न झनै सजिलो भएको छ।" इच्छुक जोकोहीले सानादेखि ठूला विविध क्षेत्रमा निर्धक्क लगानी गर्न सक्ने वातावरण बनेको राजदूत पौड्यालको भनाइ थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह-कोषाध्यक्ष अभिमन्यु बस्नेतले विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो संस्थाले त्यसमा सदैव सघाइरहेको अवगत गराएका थिए।
कार्यक्रममा नेजा क्यानाडा संयोजक एवं व्यवसायी गोकर्ण लामिछानेले पत्रकारिता र व्यवसायलाई सँगसँगै लैजाँदाका आफ्ना प्रेरक अनुभव सुनाएका थिए।
जर्जटाउनस्थित तन्दुरी टिक्का लाउन्जमा आयोजित कार्यक्रममा व्यवसायी लक्ष्मण मण्डल, नवीन लुइँटेल, डा. चन्द्र पौडेल, लेखक नरेश ज्ञवाली, दिलीप पौडेल, सञ्चारकर्मी जयराम गौतम, शिशिर सिम्खडा, लोकबहादुर गुरुङ, देवेन्द्र नेपाल, धर्म न्यौपाने, विजय अधिकारी, विन्देश खनाल, विकास गौतम आदिले समेत आ-आफ्नो अनुभव सुनाएका थिए।
ग्रेटर टोरन्टो क्षेत्रमा कार्यरत नेपाली सञ्चारकर्मी, लेखक तथा व्यवसायीहरूको सहभागिता रहेको सो उक्त कार्यक्रमले क्यानाडामा नेपाली डायस्पोराको एकता र समृद्धिका लागि बलियो आधार खडा गरेको आयोजकको विश्वास छ।

सम्बन्धित खबर







.png)











.png)






तपाईंको प्रतिक्रिया