रमिता
ईश्वर पोखरेल
रामेसर काका: हाम्रा सँधियार; छिमेकी पनि।
एउटै कुलो हाम्रो। कुलामा सधैँको तिरतिरे पानी। बेलामा कसले पहिले रोपाईं सक्ने भन्ने सधैँको हानाथाप।
जहिल्यै काकाले जित्ने।
बर्खा लागेपछि काकाको घरमा बेलाबेलामा गतिलै दन्तबझान हुने। डाङडुङको आवाज पनि आउने।
हामी कान थापेर झगडा सुन्थ्यौँ।
बिहान भएपछि रमिता हेर्न घरको चेपमा धुरिन्थ्यौँ।
अनि झगडाको मन्थनमा लाग्थ्यौँ।
सम्भावित परिणामका बारेमा हामीबिच वादविवादै हुन्थ्यो।
विविध कोणबाट अनुमान गरेर बल्ल-बल्ल निचोडमा पुगिन्थ्यो।
हाम्रा दिन यसैगरी बित्थे।
उता काकाको खेतमा पानी भरिन्थ्यो; रोपाईं चल्थ्यो।
"झगडा गरेको नाटक गरेर किन हामीलाई अल्मल्याइयो" भनेर कुनै दिन काकासँग झगडा गर्न पनि पाइएन।
झगडा काम सल्टाउनका लागि पनि चाहिने रहेछ: मान्छेको मूल ध्यान त्यता जान्छ; एउटै सियोमा जोतेझैँ सधैँ एउटै सवालमा चर्को स्वरमा बोल्नेहरू पनि त्यतै एकोहोरिन्छन्; विरोधीहरू तिनीहरूभित्र 'खिचडी पाक्दै छ', 'खटपट बढ्दै छ', 'अब फुट्छ, तब फुट्छ' भनेर आत्मरतिमा मग्न रहन्छन्; अखबारवालाहरू पनि अनेकन लक्षणको रौँचिरा विश्लेषणमा धुरिन्छन्।
फुर्सदमा म पहिलेका कुरा सम्झिन्छु; केहीयता रामेसर काकालाई अलिक बाक्लै सम्झिन्छु।

सम्बन्धित खबर

.png)














.png)







तपाईंको प्रतिक्रिया