• मंगलबार, १९ श्रावण, २०८३
  • Tuesday, 04 August, 2026
  • X

क्यानाडामा नयाँ प्रविधिको साना आणविक रियाक्टर निर्माण तीव्रता

नेपालTouch
आइतबार श्रावण १७, २०८३ | Sunday August 02,2026
प्रतीकात्मक तस्बिर

अन्टारियो। क्यानाडाले अन्टारियोस्थित डार्लिंगटन आणविक केन्द्रमा निर्माण भइरहेको नयाँ पुस्ताको साना आणविक रियाक्टर (एसएमआर) का लागि आवश्यक युरेनियम प्रशोधन र आपूर्ति श्रृंखला विस्तार गर्ने तयारी थालेको छ।

विश्वका धनी राष्ट्रहरूको समूह (जी-सेभेन) मध्ये क्यानाडाले पहिलोपटक ठूलो मात्रामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ साना आणविक रियाक्टरको निर्माण कार्य अघि बढाएको हो।

यस प्रविधिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको क्यानाडासामु इन्धन आपूर्तिको चुनौती भने कायमै छ।

क्यानाडासँग कच्चा युरेनियमको ठूलो भण्डार भए पनि त्यसलाई रियाक्टरमा प्रयोगयोग्य बनाउने उच्च प्रविधिको प्रशोधन (एनरिचमेन्ट) क्षमता भने छैन। हालसम्म क्यानाडाले यस्तो युरेनियमका लागि अमेरिका वा युरोपेली साझेदारहरूमा भर पर्नुपर्ने बाध्यता छ।

रसिया-युक्रेन युद्धपछि विश्वभर आणविक इन्धनको आपूर्तिमा समस्या देखिएकाले विज्ञहरूले क्यानाडालाई आफ्नै देशभित्र युरेनियम प्रशोधन क्षमता विकास गर्न सुझाव दिएका छन्।

डार्लिंगटन आणविक केन्द्रमा कुल चार वटा नयाँ एसएमआर निर्माण गर्ने योजना छ। यी रियाक्टरहरूबाट उत्पादन हुने बिजुलीले क्यानाडाका करिब १२ लाख घरधुरीलाई स्वच्छ ऊर्जा पुर्‍याउने लक्ष्य राखिएको छ।

परम्परागत ठूला आणविक प्लान्टको तुलनामा साना रियाक्टरहरू कम खर्चिला, चाँडो निर्माण गर्न सकिने र जलवायु परिवर्तन नियन्त्रणका लागि स्वच्छ ऊर्जाका भरपर्दो विकल्प मानिन्छन्।

यस प्रविधिलाई सफल बनाएर अन्तर्राष्ट्रिय बजारमा समेत एसएमआर बिक्री गर्ने क्यानाडाको तयारी छ। तर त्यसका लागि इन्धनको सुरक्षित र निरन्तर आपूर्ति सुनिश्चित गर्नु मुख्य सर्त बनेको विज्ञहरूको भनाइ छ।

तपाईंको प्रतिक्रिया