विश्वकीर्तिमानी निर्मल पुर्जासहित ६ नेपाली आरोहीले गुमाए ज्यान
नेपालTouch
काठमाडौँ। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको छ। बिहीबारदेखि हराइरहेका आरोहीहरूको मृत्यु भएको शनिबार आधिकारिक पुष्टि भएको हो।
दुर्घटनामा पुर्जासहित ६ जना नेपाली आरोही र ४ जना विदेशी नागरिक गरी १० जनाको टोलीकै ज्यान गएको छ। निधन हुने नेपालीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्। पुर्जा संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार विज्ञप्ति जारी गर्दै यस हृदयविदारक घटनाको पुष्टि गरेको छ।
बिहीबार हिमपहिरो गएलगत्तै सुरु भएको खोजीका क्रममा शनिबार बिहान ड्रोन सर्वेक्षण गर्दा क्याम्प–१ नजिकै ५ वटा शव फेला परेका थिए। त्यसअघि नै तीनवटा शव बरामद भइसकेका थिए।
प्रतिकुल मौसम र ६ हजार मिटरभन्दा माथिको भित्ते भौगोलिक कठिनाइका बाबजुद प्रसिद्ध आरोही मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) र पाकिस्तानी आरोही सिरबाज खानको नेतृत्वमा गएको उद्धार टोलीले घटनास्थल पुगेर मृतकहरूको पहिचान गरेको हो। उद्धार कार्यमा सहयोग पुर्याउन केही नेपाली गाइडहरूले आफ्नै आरोहण अभियानसमेत स्थगित गरेका थिए भने पाकिस्तान सेनाको हेलिकोप्टरले पनि हवाई निरिक्षण गरेको थियो।
पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका निर्मल पुर्जाले सन् २०१९ मा संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो असाधारण साहसिक यात्रा नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री 'फोर्टीन् पिक्स: नथिङ इज इम्पोसिबल' मार्फत विश्वभर प्रसिद्ध छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन र अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताए। हिमालले कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राखे पनि आरोहीहरू आफ्नो योगदानका कारण इतिहासमा सधैँ अमर रहने उल्लेख गर्दै उनले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सम्बन्धित खबर


















.png)
.png)







तपाईंको प्रतिक्रिया