• मंगलबार, १९ श्रावण, २०८३
  • Tuesday, 04 August, 2026
  • X

क्यानाडामा युवामाझ छाला डढाउने ‘ट्यानम्याक्सिङ’ ट्रेन्ड, चर्मरोग विशेषज्ञहरू चिन्तित

नेपालTouch
आइतबार श्रावण १७, २०८३ | Sunday August 02,2026

अन्टारियो। क्यानाडाका युवापुस्ता (जेन-जी) माझ टिकटक जस्ता सामाजिक सञ्जालमा ‘ट्यानम्याक्सिङ’ नाम दिइएको एक खतरनाक ट्रेन्ड लोकप्रिय बनेपछि चर्मरोग विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

घामको पराबैजनी (यूभी) किरण उच्च भएको समयमा सनस्क्रिन (घामबाट बच्ने क्रिम) को प्रयोग नगरी वा अति कम प्रयोग गरेर शरीरलाई घाममा डढाउने र छालाको रङ गाढा बनाउने अभ्यासलाई युवाहरूले सामाजिक सञ्जालमा ‘ट्यानम्याक्सिङ’ भन्दै सेयर गरिरहेका छन्।

क्यानेडियन डर्मेटोलोजी एसोसिएसनका अनुसार सर्वेक्षणमा सहभागी करिब ४० प्रतिशत क्यानेडियन युवाहरूले गत एक वर्षमा जानीजानी घाममा छाला डढाएको स्वीकार गरेका छन्।

७९ प्रतिशत युवाहरूलाई छालाको क्यान्सरको जोखिमबारे थाहा भए तापनि उनीहरूले सौन्दर्य र आत्मविश्वास बढाउने बहानामा यस्तो जोखिम मोलिफेरेको पाइएको छ।

टोरोन्टोकी चर्मरोग विशेषज्ञ डा. जुलिया क्यारोलले वर्षौँदेखि घामबाट छाला जोगाउने जनचेतना अभियान चलाइए पनि अहिलेका युवाहरू युभी इन्डेक्स उच्च भएका बेला समेत घाममा बस्न थालेको भन्दै चिन्ता व्यक्त गरिन्।

उनका अनुसार आजको यो लापरवाहीको असर २० देखि ३० वर्षपछि उमेर ढल्किँदै जाँदा चाउरी पर्ने, छालामा दाग देखिनेदेखि लिएर मेलानोमा जस्ता घातक छालाको क्यान्सरका रूपमा देखिन सक्छ।

अर्कोतर्फ, युवाहरू भने भविष्यको स्वास्थ्य जोखिमभन्दा वर्तमानको सुन्दरता र सामाजिक सञ्जालको भाइरल ट्रेन्डलाई बढी प्राथमिकता दिइरहेको बताउँछन्।

विज्ञहरूले छाला डढ्नु वा कालो हुनु नै छाला क्षतिग्रस्त भएको सङ्केत भएको स्पष्ट पार्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म घाममा धेरै नबस्न, सनग्लास, टोपी र कम्तीमा ३० एसपिएफ भएको सनस्क्रिन प्रयोग गर्न सुझाव दिएका छन्।

तपाईंको प्रतिक्रिया