• मंगलबार, १९ श्रावण, २०८३
  • Tuesday, 04 August, 2026
  • X

अमेरिकामा 'भिसा बन्ड' : ५० देशका नागरिकले २० हजार डलर धरौटी राख्नुपर्ने

नेपालTouch
शनिबार श्रावण १६, २०८३ | Saturday August 01,2026

अन्टारियो। अमेरिकाले परीक्षणका रूपमा सञ्चालन गर्दै आएको 'भिसा बन्ड' कार्यक्रमलाई स्थायी बनाउने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै व्यावसायिक प्रयोजनका लागि बि-१ र बि-२ भिसा आवेदन दिँदा अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था स्थायी गरेको हो।

रोयटर्सका अनुसार यो नयाँ नियम अगस्ट ३ देखि लागू हुनेछ। नेपालसहित ३० अफ्रिकी मुलुक गरी कुल ५० देशका नागरिकलाई यो व्यवस्था लागू हुनेछ।

अमेरिकाले अघिल्लो वर्ष २०२५ मा परीक्षणका रूपमा यो कार्यक्रम सुरु गरेको थियो। परीक्षणका क्रममा प्रभावकारी देखिएपछि यसलाई स्थायी बनाउने निष्कर्षमा विदेश मन्त्रालय पुगेको हो। भिसा लिएका व्यक्तिहरूले तोकिएको समय सीमा र नियम पालना गरुन् भन्ने उद्देश्यले यो बन्ड प्रणाली उपयोगी देखिएको जनाइएको छ।

यसअघि परीक्षण अवधिमा ५ हजार, १० हजार वा अधिकतम १५ हजार अमेरिकी डलरसम्म बन्ड माग्न सक्ने व्यवस्था थियो। नयाँ नियममा ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम सीमा बढाएर २० हजार डलर पुर्‍याइएको छ।

अमेरिकी अधिकारीहरूले भिसाको अवधि सकिएपछि पनि अवैध रूपमा बस्ने प्रवृत्ति रोक्न यो नीति ल्याएको बताए। तर आप्रवासन अधिकारकर्मीहरूले भने यसले धेरै साधारण र आवश्यक मानिसहरूलाई समस्यामा पार्ने भन्दै विरोध गरेका छन्। ट्रम्प प्रशासनको यो नीतिको आलोचना गर्दै अधिकारकर्मीहरूले कडा आप्रवासन नीतिको नाममा मानिसहरूलाई अप्ठ्यारो पारिएको आरोप लगाए। राष्ट्रपति ट्रम्पले भने राष्ट्रिय सुरक्षाका लागि यो कदम आवश्यक रहेको दाबी गर्दै आएका छन्।

विदेश मन्त्रालयले केही भिसा शुल्क बढाउनुका साथै नयाँ आवेदक र अमेरिकाभित्र रहेका केही आप्रवासीको सामाजिक सञ्जाल परीक्षण (सोसल मिडिया भेटिङ) समेत अनिवार्य गरेको छ।

यो व्यवस्था लागू हुने देशहरूमा नेपाल, अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बारबुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, कोट डिभोआर, क्युबा, जिबूटी, डोमिनिका, इथियोपिया, फिजी छन्।

यस्तै, अन्य मुलुकहरुमा  ग्याबोन, गाम्बिया, जोर्जिया, ग्रेनाडा, गिनी, गिनी-बिसाउ, किर्गिज गणतन्त्र, लेसोथो, मलावी, मोरिटानिया, मोरिसस, मङ्गोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, नाइजेरिया, पापुआ न्यू गिनी, साओ टोमे र प्रिन्सिपे, सेनेगल, सेशेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो, टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे रहेका छन्।

तपाईंको प्रतिक्रिया