• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

क्यानाडा जाने प्रलोभनमा ८ लाख ७९ हजार ठगिइन् युवती

नेपालTouch
मंगलबार श्रावण १२, २०८३ | Tuesday July 28,2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि क्यानाडा जाने र राम्रो आम्दानी गर्ने सपना बुनेकी एक नेपाली युवती सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले थापेको जालमा परेकी छन्।

फेसबुकमा फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेर सुरु भएको सामान्य कुरा अन्ततः विवाह गरी क्यानाडा लैजाने र मासिक चार लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभनसम्म पुग्दा ती युवतीले आठ लाख ७९ हजार रुपैयाँ गुमाउनुपरेको छ।

ठगिएको थाहा पाएपछि पीडित सबनम ढकाल (परिवर्तित नाम) ले प्रहरीमा उजुरी दिएकी थिइन्। जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले गरेको प्राविधिक अनुसन्धान पुरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा ठगी सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको छ।

अभियोगपत्रमा रूपन्देहीका ३७ वर्षीय भिम जीके र अर्घाखाँचीका ६५ वर्षीय राजेन्द्रबहादुर रजालीलाई प्रतिवादी बनाइएको छ। उनीहरूकै बैंक खाता र इसेवा वालेट प्रयोग गरी ठगीको रकम भुक्तानी लिइएको थियो।

वैदेशिक रोजगारीको खोजीमा रहेकी सबनमले सामाजिक सञ्जाल फेसबुकमा नबु क्षेत्री नामक अकाउन्टबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी थिइन्। सामान्य चिनजानपछि उनीहरू टिकटकमा जोडिए र त्यहीँ कुराकानी हुन थाल्यो।

कुराकानीका क्रममा नबु क्षेत्रीले आफू डिभोर्सी पुरुष भएको, क्यानाडाको पीआर रहेको र आफूसँग विवाह गरेर क्यानाडा गएमा मासिक ४ लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभन देखाए। सबनमलाई उनले सजिलै विश्वासमा पारे।

त्यसपछि नबु क्षेत्रीले ह्वाट्सएपमा कुरा गर्न भन्दै सबनमको मोबाइल नम्बर मागे। सबनमले आफ्नो नम्बर उपलब्ध गराएपछि उनले ह्वाट्सएपमा फोन गरी आफू हाल तीन महिनाका लागि नेपाल आएको बताए।

भिसा प्रक्रिया अगाडि बढाउन भन्दै नबु क्षेत्रीले सुरुमा ७ लाख रुपैयाँ लाग्ने र बाँकी रकम आफैँले ब्यहोर्ने आश्वासन दिए। उनले रकम जम्मा गर्नका लागि प्रतिवादी राजेन्द्रबहादुर रजालीको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर पठाए। सबनमले सो खातामा विभिन्न मितिमा रकम जम्मा गरिन्।

केही समयपछि रकम नपुगेको भन्दै थप ४ लाख रुपैयाँ जम्मा गर्न दबाब दिइयो। यस पटक रकम पठाउनका लागि अर्का प्रतिवादी भिम जीकेको इसेवा नम्बर उपलब्ध गराइयो र सबनमले त्यसमा पनि विभिन्न मितिमा रकम जम्मा गरिन्।

रकम बुझिसकेपछि पनि जालझेल रोकिएन। भिसा प्रोसेस भइसकेको तर केही कागजात अझै नमिलेकाले थप रकम जम्मा नगरे पहिला भएको खर्च समेत फिर्ता नहुने भन्दै सबनमलाई त्रास देखाइयो। यो परिबन्धमा परेर सबनमले कुल ८ लाख ७९ हजार रुपैयाँ विभिन्न खातामा पठाइसकेकी थिइन्। पछि आफू ठगिएको थाहा पाएपछि उनले साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

यो ठगी प्रकरणमा पीडितलाई पूर्ण विश्वास दिलाउन क्यानेडियन कम्पनीहरूको नक्कली अफर लेटर र वर्क एग्रिमेन्ट समेत प्रयोग भएको पाइएको छ। साइबर ब्युरोले प्राविधिक तथा डिजिटल पक्षलाई समेटेर यो घटनाको विस्तृत अनुसन्धान गरेको छ। अनुसन्धानका क्रममा ब्युरोले २ जुलाई २०२६ मा ह्वाट्सएप इंकलाई आवश्यक विवरण उपलब्ध गराउन पत्राचार समेत गरेको थियो।

यसका साथै सिटिजन्स बैंक इन्टरनेसनल र इसेवा प्रालिबाट प्राप्त बैंक स्टेटमेन्ट र भौचरहरूलाई प्रमुख प्रमाणका रूपमा सङ्कलन गरिएको छ। आरोपी प्रतिवादीहरूको विवरण माग गर्न राष्ट्र बैंक, नेपाल टेलिकम र भूमिसुधार व्यवस्थापन तथा अभिलेख विभागलाई समेत पत्राचार गरिएको थियो।

अभियोगपत्र दायर हुँदाका बखत दुवै प्रतिवादीहरू भिम जीके र राजेन्द्रबहादुर रजाली फरार रहेका छन्। रूपन्देही बुटवलका भिम जीके र अर्घाखाँची सितगंगाका राजेन्द्रबहादुर रजालीलाई पक्राउ गर्न अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ।

अनुसन्धानका क्रममा प्राप्त भएको सीआरएस अभिलेख अनुसार ६५ वर्षीय रजाली विरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देही मार्फत बैंकिङ कसुर मुद्दा समेत दर्ता भई अनुसन्धान तथा कारबाहीको प्रक्रियामा रहेको खुलेको छ।

ठगी गर्ने मुख्य योजनाकार नबु क्षेत्री भनिने अज्ञात व्यक्तिको भने यकिन नामथर र वतन खुल्न बाँकी छ। निजको पहिचान खुलेपछि र यस घटनामा अन्य कोही संलग्नता फेला परेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दाबी (पूरक अभियोग पत्र) लगिने अभियोगपत्रमा उल्लेख छ।

८ साउनमा काठमाडौँ जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा प्रतिवादी विरुद्ध कडा कानुनी सजाय र क्षतिपूर्तिको मागदाबी लिइएको छ। प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको ठगी कसुरमा सोही संहिताको उपदफा (३) को खण्ड (ग) अनुसार अधिकतम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ।

त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादी राजेन्द्रबहादुर रजालीको तर्फबाट ५ लाख ५१ हजार रुपैयाँ र भिम जीकेको तर्फबाट ३ लाख २८ हजार रुपैयाँ गरी कुल ८ लाख ७९ हजार रुपैयाँ पीडित सबनम ढकाललाई भराइदिन मागदाबी गरिएको छ।

-'टेकपाना'बाट

तपाईंको प्रतिक्रिया