• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

'श्रमाधान कल सेन्टर' २४ सै घण्टा सञ्चालन, वैदेशिक रोजगारका गुनासो तत्काल सुनुवाइ

नेपालTouch
बुधबार असार २४, २०८३ | Wednesday July 08,2026

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीका क्रममा रहेका र स्वदेशमै श्रम गरिरहेका श्रमिकहरूको समस्या तथा जिज्ञासालाई तत्काल सम्बोधन गर्न 'श्रमाधान कल सेन्टर' लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रमिकका गुनासा सुन्न र आवश्यक सूचना प्रवाह गर्न यो सेवालाई थप प्रभावकारी बनाएको हो।

सरकारले पछिल्लो समय वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न सुधारका कार्यहरू अगाडि बढाएको छ।

यसै अन्तर्गत मन्त्रालयले रोजगारीका क्रममा ठगीमा परेका, विदेशमा अलपत्र परेका वा श्रम सम्बन्धी कुनै पनि समस्यामा परेका नागरिकहरूलाई सिधै सरकारसँग जोड्न यो कल सेन्टरको व्यवस्था गरेको हो।

कल सेन्टरमा आउने गुनासाहरूलाई सम्बन्धित निकायमा पठाई तत्काल समाधान गर्न विशेष टोली समेत परिचालन गरिएको छ।

श्रम तथा रोजगारसँग सम्बन्धित कुनै पनि जानकारी, सुझाव वा गुनासो भएमा नागरिकहरूले श्रमाधान कल सेन्टरको टोल फ्री नम्बर ११४१ मा निःशुल्क फोन गर्न सक्नेछन्।

नेपाल बाहिरबाट सम्पर्क गर्नुपरेमा ९७७-१-५९७००८१ मा सिधै फोन गर्न सकिनेछ।

यसका साथै मन्त्रालयले इमेल, भाइबर र फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत पनि २४ सै घण्टा गुनासो टिपाउन सक्ने व्यवस्था मिलाएको छ।

तपाईंको प्रतिक्रिया