त्यति मात्रै
नेपालTouch
मेरो प्यारो साथी,
तँलाई एउटा सानो कुरा सम्झाउन मन लाग्यो।
डराउनु पर्दैन।
किन रिसाउनु र? छैन नि हो।
म त खुसीले गदगद पो छु त।
तँ सफल भएको देखेर मलाई साँच्चै गर्व लाग्छ।
तर अलिकति हिसाब-किताब मिलाउन बाँकी छ।
त्यति मात्रै।
तैँले केही गरिनस्।
त्यही त समस्या हो।
तैँले आफ्नो काम गरिरहिस्।
म पछाडि पर्दै गएँ।
अब भन,
यसको जिम्मा कसले लिने?
तँ पढिस, लेखिस।
ठूलो मान्छे भइस्।
अनि सजिलै विदेश पनि गइस्।
देश–विदेश घुमिस्।
विदेशमा पनि पढी-लेखी राम्रै काम पाइस्।
मान-सम्मान कमाइस्।
मलाई त्यसमा कुनै आपत्ति छैन।
तर...
यी सबै हुँदा म असफल भएँ।
यदि म असफल नभएको भए,
तेरो सफलता यति प्रस्ट, उज्यालो देखिन्थ्यो र?
तँ आफैँ सोच त।
त्यसैले,
तेरो सफलतामा
मेरो पनि अलिकति योगदान छ।
तँ धेरै मेहनत गर्थिस्।
त्यो त मलाई जति कसलाई थाहा होला र!
मैले पनि नगरेको त कहाँ हो र!
फरक यति मात्र हो—
तँ सफल भइस्,
म भइनँ।
यो त अन्याय हो नि, होइन र?
यसो गम खा त।
त्यसको जिम्मा कसैले त लिनैपर्छ नि, होइन र?
अनि सबैभन्दा उपयुक्त व्यक्ति
तँभन्दा अरू को नै होला र?
मैले धेरै पटक
तेरो सफलताको समाचार सुनेँ।
तेरो गुणगान सुनेँ।
हरेक पटक
म चुपचाप मुस्कुराएँ।
कति पटक त
तँ आफैँले फोन गरी-गरी
आफ्ना उपलब्धिहरूको
बेलीबिस्तार लगाइस्।
फोन राखेपछि
अलिकति रोएँ।
त्यो आँसु पनि
तेरो सफलताको खर्चमै गयो।
त्यसकारण
तेरो खुसीको
अलिकति हिस्सा
मेरो हुनुपर्छ।
पर्छ कि पर्दैन?
तँ आफैँ भन त।
तैँले मलाई कहिल्यै सिधै, ठाडै लुटिनस्।
यो म मान्छु।
तर
तँ जितिरहँदा
म हारिरहेँ।
अब भन त,
तेरो जित
मेरो हारबिना सम्भव थियो?
त्यसैले
तेरो प्रत्येक जितमा
मेरो हारको पनि हिस्सा छ।
हो कि होइन?
मलाई पैसाको लोभ छैन।
नामको पनि छैन।
मान-सम्मानको पनि छैन।
म त केवल न्याय खोज्दै छु।
तेरो कमाइको आधा,
तेरो सम्मानको आधा,
तेरो खुसीको आधा।
बस्,
त्यति मात्रै।
अनि,
तेरो परिवार।
उनीहरू त तेरै भए।
तर
तँ उनीहरूसँग खुसी हुन पाउनुमा
मेरो दुःखको पनि योगदान छ।
तसर्थ
उनीहरूको मुस्कानको
अलिकति भाग
मेरो हुनुपर्छ।
सुन साथी,
मैले कहिल्यै तेरो नराम्रो चाहिनँ।
बरु
तँ धेरै-धेरै माथि उडोस् भन्ने चाहन्थेँ।
तर मलाई हेक्का भएन--
तँ जति माथि पुग्थिस्,
म त्यति तल देखिन्थेँ।
लाग्छ अब बेला आयो--
यो दूरी घटाउनैपर्छ।
म त न्यायको पक्षमा छु।
अतः
तेरो जीवनका सबै राम्रा कुराहरू
मात्र आधा-आधा गरौँ भन्दै छु।
सुख आधा।
सफलता आधा।
इज्जत आधा।
भविष्य आधा।
सास पनि...
हो,
सास पनि आधा।
नत्र
यो संसारले कसरी भन्न--
हामी अभिन्न मित्र थियौँ भनेर?
त्यसैले,
मेरो एउटा सानो अनुरोध छ।
तँ आफैँले खनेको खाल्डोमा
आफैँ ओर्ली।
कत्ति नडरा।
म तँलाई रत्ती पनि दुःख दिन्नँ।
म ढुङ्गा बोकिदिन्छु।
माटो पनि हालिदिन्छु।
आखिर,
तेरो दुःखमा
साथ दिनु
मेरो पनि त कर्तव्य हो नि।
होइन र?
बिस्तारै-बिस्तारै पुरिँदा
दुःख हुन्छ जस्तो लागे,
र, वा, यदि
सास फेर्न गाह्रो भयो भने,
साथीको नाताले खुलस्त भन।
म अर्को छिटोछरितो तरिका पनि
अपनाउन तयारै छु।
-केलौना, बिसी

सम्बन्धित खबर







.png)











.png)






तपाईंको प्रतिक्रिया