• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

क्यानाडामा नेपाली युवा: अग्रजको जगमा नयाँ पुस्ताको सशक्त उपस्थिति

देवेन्द्र नेपाल

शुक्रबार श्रावण २९, २०८३ | Friday August 14,2026

म क्यानाडा आएको धेरै लामो समय भएको छैन, त्यसैले यहाँको नेपाली समुदायलाई दशकौँदेखि नजिकबाट नियालिरहेको व्यक्ति हुँ भन्ने दाबी म गर्दिनँ। तर, पछिल्ला केही वर्षमा नेपाली समुदायका विभिन्न कार्यक्रम, संस्था र गतिविधिलाई नजिकबाट हेर्ने र त्यसमा सहभागी हुने अवसर भने प्रशस्त पाएको छु।

यही छोटो तर अर्थपूर्ण सामीप्यका क्रममा मैले एउटा विशेष कुरा गहिरोसँग अनुभव गरेको छु- क्यानाडामा नेपाली युवाहरू विस्तारै समुदायका विभिन्न क्षेत्रमा अगाडि आउँदैछन्। उनीहरूले जिम्मेवारी मात्र लिइरहेका छैनन्, बरु नयाँ पुस्ताको ऊर्जा, प्रविधि र सीपलाई निःस्वार्थ रूपमा सामाजिक कामसँग जोडिरहेका छन्।

सन् २०२३ देखि २०२६ सम्म आयोजना भएका चारवटा 'हिमालयन मेला' प्रत्यक्ष रूपमा हेर्ने अवसर पाएँ। त्यस्तै, 'नेपाल फेस्टिभल'का तीनवटै संस्करणलाई नजिकबाट नियाल्ने मौका मिल्यो। यसबाहेक विभिन्न नेपाली संघसंस्था तथा समुदायले आयोजना गरेका साना-ठूला कार्यक्रमहरूमा सहभागी हुँदा तिनको तयारी र सञ्चालनलाई भित्री रूपमै बुझ्न पाएँ।

यी सबै गतिविधिलाई सूक्ष्म रूपमा हेर्दा एउटा स्पष्ट निष्कर्षमा पुग्न सकिन्छ- कुनै पनि कार्यक्रम एउटा व्यक्तिको प्रयासले मात्र कहिल्यै सफल हुँदैन। अग्रजहरूको अनुभव, संस्थाको सुदृढ संरचना, स्वयंसेवकहरूको निःस्वार्थ मेहनत, व्यवसायी तथा प्रायोजकहरूको सहयोग र सम्पूर्ण समुदायको अपनत्व, यी सबैको उत्तिकै भूमिका हुन्छ। तर, पछिल्लो समय हाम्रा युवाहरूले यी प्रयासहरूमा जुन फरक स्तरको ऊर्जा थपिरहेका छन्, त्यो साँच्चै तारिफयोग्य छ।

यो लेख कुनै एक पुस्तालाई अर्को पुस्ताभन्दा माथि राख्ने वा तुलना गर्ने प्रयास हुँदै होइन। बरु, अग्रजहरूले खडा गरेको बलियो जगमा उभिएर नयाँ पुस्ताले इँटा थप्दै गरेको एउटा सुन्दर र सकारात्मक यात्रालाई नियाल्ने सानो प्रयास मात्र हो।

सुदर्शन सापकोटा: संस्थागत विरासत र नेतृत्वको नयाँ उचाइ

यस सामाजिक यात्रामा समुदायलाई नयाँ दिशा दिइरहेका केही नामहरू उल्लेख गर्नैपर्ने हुन्छ, जसमध्ये एक हुन् सुदर्शन सापकोटा। सन् २००० मा विश्व बर्माको नेतृत्वमा स्थापना भएको संस्था 'नेप्लिज क्यानडियन कम्युनिटी सर्भिसेस' ले विगत २ दशकदेखि 'हिमालयन मेला' गर्दै आएको थियो। लामो समयदेखि क्यानाडालाई कर्मभूमि बनाएका उनले अध्यक्षको जिम्मेवारी सम्हालेपछि संस्थालाई साँच्चै नै एउटा नयाँ उचाइमा पुर्‍याएका छन्।

यसको सबैभन्दा ऐतिहासिक र गर्विलो उदाहरण टोरन्टो सहरमा अप्रिल महिनालाई 'नेपाली सम्पदा महिना' घोषणा गराउनु हो। अप्रिल २३ का दिन काउन्सिलर निथान शान र अम्बर मोर्लेको प्रस्तावमा मोसन एमएम४०.८ पारित हुने ऐतिहासिक काम अध्यक्ष सुदर्शनकै मुख्य पहल र नेतृत्वमा सम्भव भएको हो। यसले टोरन्टोको बहुसांस्कृतिक पहिचानमा नेपाली योगदानलाई औपचारिक सम्मान दिलाउँदै भावी पुस्ताका लागि एउटा अमूल्य नासो छाडेको छ।

यसका साथै, उनकै नेतृत्वमा आयोजना भएको '१८औँ हिमालयन मेला' ले सफलताको नयाँ कीर्तिमान रचेको छ। हालसम्मकै सबैभन्दा बाक्लो उपस्थिति रहेको उक्त मेलालाई उनले एक परिष्कृत र नयाँ स्वरूप दिएका थिए। साथै, समुदायलाई जोड्न सुरु गरिएको 'मासिक वेबिनार' ले संस्थाको गरिमालाई अझ फराकिलो बनाएको छ। नयाँ सोच र ऊर्जासहितको नेतृत्वले कसरी संस्थालाई नयाँ युगमा प्रवेश गराउन सक्छ भन्ने कुरा उनको यो कार्यकालले प्रमाणित गरेको छ।

धर्म न्यौपाने: पदभन्दा माथिको प्रतिबद्धता

यसैगरी, धर्म न्यौपानेको भूमिका पनि उत्तिकै उल्लेखनीय छ। सन् २०११/१२ मा अग्रज उत्तम केसीको अध्यक्षतामा स्थापना भएको 'लालिगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लब' ले विगत ३ वर्षदेखि 'नेपाल फेस्टिभल' सञ्चालन गर्दै आएको छ। अहिले उनी यसै क्लबको महासचिवका रूपमा समुदायमा निरन्तर सक्रिय छन्। क्यानाडामा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा पाइला टेक्दादेखि नै समुदायका गतिविधिमा जोडिएका न्यौपानेले नेपाल फेस्टिभलको तेस्रो संस्करणमा निर्वाह गरेको भूमिका विशिष्ट छ।

ठूला कार्यक्रमको सफलता मञ्चमा देखिने केही घण्टाको चकाचौंधले मात्र निर्धारण गर्दैन। त्यसको पछाडि महिनौँको तयारी, अनगिन्ती बैठक, समन्वय, फोन, इमेल, व्यवस्थापन, स्वयंसेवा र कैयौँ पटक आफ्नै व्यक्तिगत समय तथा निद्राको त्याग लुकेको हुन्छ। हजारौँ मानिसलाई एउटै उत्सवमा सहभागी गराउनु र कार्यक्रमपछि उनीहरूलाई सकारात्मक अनुभवसहित घर फर्काउने वातावरण बनाउनु चानचुने कुरा होइन।

राजनीतिक वृत्तका व्यक्तिदेखि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउन र सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ठूलो समन्वय क्षमता आवश्यक पर्छ। यस प्रक्रियामा न्यौपानेले खेलेको भूमिका नजिकबाट देख्दा एउटा कुरा स्पष्ट हुन्छ- सामाजिक कामको वास्तविक मूल्य पद वा कुर्सीमा होइन, जिम्मेवारी पूरा गर्न लगाएको समय, इमानदारी र मेहनतमा हुन्छ।

विनय यादव र खेलकुदमार्फत समुदाय जोड्ने प्रयास

अर्को ऊर्जाशील नाम हो, विनय यादव। अग्रजहरूले स्थापना गरेको 'नेप्लिज क्यानडियन क्रिकेट क्लब' को अध्यक्षका रूपमा उनले समुदायमा आफ्नो जिम्मेवारी अत्यन्तै कुशलतापूर्वक निर्वाह गरिरहेका छन्। १०औँ संस्करणको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु आफैँमा एउटा महत्त्वपूर्ण उपलब्धि हो।

क्यानाडाजस्तो व्यस्त देशमा आएपछि पनि क्रिकेटजस्तो खेललाई निरन्तरता दिनु, त्यसलाई थप व्यवस्थित र विस्तार गर्न विभिन्न संस्था तथा सम्भावित प्रायोजकहरूसँग समन्वय गर्नुमा उनको अथक मेहनत लुकेको छ। खेल आयोजना गर्नु भनेको मैदानमा ११ जना खेलाडी उतार्नु मात्र होइन; यसका लागि आर्थिक व्यवस्थापन, मैदानको जोहो, स्वयंसेवक परिचालन र व्यापक प्रचारप्रसार आवश्यक पर्छ। यस्तो जटिल काममा युवाहरूको सक्रियता हाम्रो समुदायका लागि अत्यन्तै सकारात्मक संकेत हो।

संस्कृतिको संरक्षणमा युवाको मोह

युवाहरूको यो सक्रियता सामाजिक संस्था र खेलकुदमा मात्र सीमित छैन। नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा रहेर पनि नयाँ पुस्तासम्म पुर्‍याउने काममा उनीहरूको उत्साहजनक सहभागिता देखिन थालेको छ। यसको एउटा सुन्दर उदाहरण 'हिमालयन मेला'मा देखिएको सुदूरपश्चिमको देउडा नाच हो। दिप केसीको नेतृत्वमा मञ्चमा प्रस्तुत भएको त्यो जीवन्त देउडा नाच प्रत्यक्ष हेर्ने अवसर मलाई पनि मिल्यो।

मातृभूमि नेपालबाट हजारौँ माइल टाढा, क्यानाडाको भूमिमा बसेर आफ्नै देशको माटोको सुगन्ध बोकेको संस्कृति र भूगोलको चिनारी हेर्न पाउनु आफैँमा एक भावुक र महत्त्वपूर्ण अनुभव हो। यस्ता प्रस्तुतिहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्; यिनले हामीलाई झकझक्याइरहन्छन्— हामी को हौँ? कहाँबाट आएका हौँ? र, हाम्रो सांस्कृतिक जरा कति गहिरो छ?

डिजिटल सञ्जालबाट समुदायको मुटुसम्म

आजको युवा पुस्ताको अर्को सबैभन्दा ठूलो विशेषता र हतियार भनेको प्रविधि र डिजिटल माध्यमबाट समुदायलाई जोड्ने क्षमता हो। एमआरआर क्यानाडा मा सक्रिय बिष्णुराज तामाङ, नेप्लीज कम्युनिटी अफ लण्डन का अध्यक्ष सुयोग्य मान बनेपाली लगायत विभिन्न क्षेत्रमा व्यवसाय तथा सामाजिक गतिविधिमा संलग्न धेरै युवाहरू आफ्ना सीप, डिजिटल ज्ञान र सम्पर्कलाई समुदायको हितसँग जोड्ने निरन्तर प्रयास गरिरहेका छन्।

यी सबै व्यक्तिहरूको काम गर्ने शैली र क्षेत्र एउटै छैन। कसैले संस्था हाँकिरहेका छन्, कसैले खेलकुदलाई अगाडि बढाएका छन्, कसैले संस्कृतिको जगेर्ना गरेका छन् त कसैले व्यवसाय र डिजिटल समुदायमार्फत योगदान दिइरहेका छन्। तर, यी सबैको उद्देश्यमा एउटा अद्भुत समानता छ- आफू मात्र अगाडि बढ्ने होइन, आफूले जानेको कुरा र आफूले बनाएको नेटवर्कलाई सिङ्गो समुदायको हितमा प्रयोग गर्ने।

युवाहरूको सबैभन्दा ठूलो शक्ति के हो?

मेरो विचारमा, अहिले क्यानाडामा रहेका नेपाली युवाहरूमा देखिएको सबैभन्दा सुन्दर पक्ष भनेको उनीहरू 'म' भन्ने व्यक्तिगत स्वार्थभन्दा माथि उठेर 'हामी' भन्न र एकअर्कालाई सम्मान गर्न सिक्दैछन्।

  • साथीले प्रगति गर्दा "यो मेरो साथी हो" भनेर छाती फुलाएर खुसी हुन सक्नु।

  • साथीलाई अप्ठ्यारो पर्दा "म तेरो साथमा छु" भनेर काँध थाप्न सक्नु।

  • गल्ती देख्दा बिना हिचकिचाहट प्रश्न गर्न सक्नु।

समुदायलाई बलियो बनाउने सबैभन्दा ठूलो आधार नै यही हो। समुदायमा आलोचना नितान्त आवश्यक छ। तर, स्वस्थ आलोचना र खुट्टा तान्ने प्रवृत्तिबीच आकाश-जमिनको फरक हुन्छ। गलत भएको अवस्थामा प्रश्न गर्नु, सुधारको बाटो देखाउनु र आवश्यक पर्दा हात समातेर अगाडि बढाउनु नै एउटा स्वस्थ र जीवन्त समुदायको परिचायक हो। हामीले एउटा कुरा गहिरोसँग बुझ्न जरुरी छ- अर्को व्यक्ति अगाडि बढ्दा हाम्रो स्थान कहिल्यै सानो हुँदैन। बरु, हाम्रो समुदायमा जति धेरै सक्षम व्यक्तिहरू अगाडि आउँछन्, त्यति नै हाम्रो सामूहिक शक्ति र गौरव बढ्छ।

अग्रजहरूको जगविना नयाँ यात्रा सम्भव छैन

युवाहरूको यो ऊर्जा र योगदानको चर्चा गरिरहँदा, अग्रजहरूले गरेको त्याग र समर्पणलाई हामीले एक पल पनि बिर्सनु हुँदैन। आज हामीले जुन मञ्च, संस्था र समुदाय पाएका छौँ, त्यसको बलियो आधार हाम्रा अग्रजहरूले आफ्नो समय, पसिना र स्रोत खर्च गरेर निर्माण गरेका हुन्। आजका युवाहरूले जेजति नयाँ काम गर्न सकेका छन्, त्यो शून्यबाट सुरु भएको पक्कै होइन। उनीहरूले अघिल्लो पुस्ताले खनिदिएको बाटोमा पाइला राख्दै आफ्नो क्षमता थपिरहेका हुन्।

त्यसैले, पुस्ताहरूबीच प्रतिस्पर्धा होइन, सहकार्यको खाँचो छ। अग्रजहरूको परिपक्व अनुभव र युवाहरूको नवीन ऊर्जा जब एकै ठाउँमा जोडिन्छ, तब मात्र नेपाली समुदायले अझ ठूला र ऐतिहासिक उपलब्धिहरू हासिल गर्न सक्छ।

अझै धेरै अनुहारहरू आउन बाँकी छन्

मैले यहाँ उल्लेख गरेका केही नामहरू हाम्रा सक्रिय युवाहरूको पूर्ण सूची हुँदै होइन। यो समुदायमा यस्ता अनगिन्ती साथीहरू हुनुहुन्छ, जसले विभिन्न कारणले आफ्नो कामलाई सार्वजनिक रूपमा देखाउन चाहनुभएको छैन वा सक्नुभएको छैन। कतिपय आफ्नो पेसागत र व्यावहारिक जिम्मेवारीका कारण पर्दा अगाडि आउन सकेका छैनन् भने कतिपय पर्दापछाडि नै बसेर समुदायको जग बलियो बनाउन अहोरात्र खटिरहेका छन्।

तर मलाई पूर्ण विश्वास छ, समयको अन्तरालसँगै उनीहरू पनि विस्तारै मूलधारमा आउनेछन्। अझ धेरै युवाहरू नेतृत्वमा पुग्नेछन्, अझ धेरै नयाँ र सिर्जनात्मक विचारहरू प्रस्फुटित हुनेछन्, हाम्रा संस्थाहरू अझ बढी संस्थागत र बलिया बन्नेछन्। र, समयक्रममा नेपाली समुदायले आफ्नो दोस्रो पुस्तालाई पनि गर्वका साथ जिम्मेवारी हस्तान्तरण गर्ने एउटा सुन्दर वातावरण तयार गर्नेछ।

अन्त्यमा,

क्यानाडामा हाम्रो नेपाली समुदाय अझै पनि निर्माण र विकासकै चरणमा छ। हामीले छोटो समयमा धेरै उपलब्धिहरू पक्कै हासिल गरेका छौँ, तर जानुपर्ने गन्तव्य र गर्नुपर्ने काम अझै धेरै बाँकी छ। त्यसैले, आज अहोरात्र खटिरहेका सम्पूर्ण सक्रिय युवाहरूलाई मेरो एउटै विनीत आग्रह छ:

हाम्रो बाटो लामो छ, कृपया 'सर्टकट' खोज्नेतिर नलागौँ। सामाजिक क्षेत्रमा रातारात सस्तो नाम कमाउनेभन्दा लामो समयसम्म समुदायको विश्वास र भरोसा जित्ने काम गरौँ। व्यक्तिगत स्वार्थ र इगोभन्दा माथि उठेर सिङ्गो समुदायलाई हेर्ने दृष्टिकोण विकास गरौँ। साथीको प्रगतिमा रमाउन सिकौँ। साथी अप्ठ्यारोमा पर्दा आड बनौँ। गल्ती हुँदा प्रश्न गरौँ, तर व्यक्तिलाई होइन, प्रवृत्ति र समस्यालाई चुनौती दिऔँ।

हामीले एकअर्काको खुट्टा तान्ने होइन, लडेको बेला हात तान्ने र साथ दिने संस्कारको विकास गर्नुपर्छ। आज जसले नेतृत्व गरिरहेको छ, भोलि समयले अर्को व्यक्तिलाई त्यो ठाउँमा ल्याउन सक्छ। आज जसले निस्वार्थ सहयोग गरिरहेको छ, भोलि उसैलाई हाम्रो एक मुठी सहयोगको खाँचो पर्न सक्छ।

त्यसैले, "साथीले प्रगति गर्दा मेरो साथी हो भनेर गर्व गर्न पाइयोस्, साथीलाई अप्ठ्यारो पर्दा म उसको साथी हुँ भनेर साथ दिन पाइयोस्" भन्ने एउटा सुन्दर र आत्मीय संस्कृति निर्माण गरौँ।

हाम्रो यात्रा लामो छ। सबैले एउटै बाटो र एउटै शैलीमा हिँड्नुपर्छ भन्ने छैन, तर हाम्रो गन्तव्य भने सधैँ समुदायको हित, एकता र समृद्धितर्फ नै हुनुपर्छ। सधैँ सँगै, सरल रूपमा र इमानदारीका साथ हातेमालो गर्दै अगाडि बढौँ। भोलिका दिनमा पछाडि फर्केर हेर्दा, हामीले एकअर्काको बाटो छेकेको वा भत्काएको होइन, आउने पुस्ताका लागि बाटो फराकिलो बनाएको इतिहास देख्न पाइयोस्।

तपाईंको प्रतिक्रिया