• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

अध्यागमन नियममा कडाइपछि क्यानाडामा शरणार्थी आवेदन आधा घट्यो

नेपालTouch
बिहीबार श्रावण २१, २०८३ | Thursday August 06,2026

अन्टारियो । क्यानाडा सरकारले अध्यागमन कानुन संशोधन गर्दै कडाइ गरेपछि शरणार्थी दाबी गर्नेहरूको संख्या ह्वात्तै घटेको छ। नयाँ नियम लागू भएसँगै शरणार्थी माग गर्नेको संख्या ५० प्रतिशतले ओरालो लागेको सरकारी तथ्यांकले देखाएको छ।

गत मार्चमा पारित 'बिल सी-१२' ले अध्यागमन, शरणार्थी तथा नागरिकता क्यानाडा (आइआरसिसी) लाई विद्यार्थी, कामदार र पर्यटक भिसामा आएर गरिएका शरणार्थी दाबी अस्वीकार गर्ने अधिकार दिएको छ। नयाँ नियमपछि तीन महिनामा १३ हजार ७१० वटा मात्र शरणार्थी आवेदन परेका छन्, जबकि गत वर्ष यही अवधिमा २७ हजार ८३८ आवेदन दर्ता भएका थिए।

सरकारी प्रतिवेदनले क्यानाडाको शरणार्थी प्रणाली स्थायी बसोबास (पीआर) पाउने चोरबाटो नभएको प्रस्ट पारेको छ। नयाँ व्यवस्थापछि शरणार्थी बन्न अयोग्य ठहरिने आवेदनको संख्या ह्वात्तै बढेको छ।

यो नियम ३ जुन २०२५ वा त्यसपछि परेका आवेदनमा लागू हुन्छ। साथै, २४ जुन २०२० पछि पहिलोपटक क्यानाडा छिरेका तर एक वर्षभन्दा बढी समय बिताइसकेका व्यक्तिहरूको आवेदन अब 'इमिग्रेसन एन्ड रिफ्युजी बोर्ड अफ क्यानाडा' (आईआरबी) मा सुनुवाइका लागि जाने छैन।

अमेरिकामा डोनाल्ड ट्रम्प पुन: राष्ट्रपति बनेपछि गैरकानुनी आप्रवासीविरुद्ध सुरु भएको कारबाहीका बाबजुद क्यानाडा सीमामा आप्रवासीको ठूलो चाप भने नदेखिएको अधिकारीहरूले बताएका छन्। क्युबेकको लाकोल नाकामा सामान्य चाप देखिए पनि त्यसलाई सहजै नियन्त्रणमा राखिएको थियो।

आईआरबीकी अध्यक्ष मानोन ब्रासार्डका अनुसार क्यानाडामा अझै ३ लाख शरणार्थी मुद्दा विचाराधीन छन्। सन् २०२३ मा १ लाख ५६ हजार र त्यसपछि १ लाख ७६ हजार शरणार्थी आवेदन परेका थिए। तर नयाँ कडाइसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म यो संख्या घटेर ९५ हजारदेखि १ लाख ५ हजारमा सीमित हुने अनुमान छ।

तपाईंको प्रतिक्रिया