जन्मसिद्ध नागरिकता सीमित गर्न ट्रम्पका दुई नयाँ कार्यकारी आदेश
नेपालTouch
अन्टारियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास फेरि अघि बढाएका छन्। सर्वोच्च अदालतले केही साताअघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उनले दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्।
बिहीबार जारी गरिएको एउटा आदेशले आफ्ना सन्तान जन्मसिद्ध नागरिकताका लागि योग्य नहुने गैरनागरिकहरूको परिभाषा विस्तार गरेको छ। अर्को आदेशले ‘बर्थ टुरिज्म’ अर्थात् सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिला अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासमा प्रतिबन्ध लगाएको छ।
‘यो धेरै वर्षअघि नै हुनुपर्ने थियो, तर अहिले हामी त्यसलाई कार्यान्वयन गरिरहेका छौँ,’ ओभल अफिसमा ट्रम्पले भने। उनले जन्मसिद्ध नागरिकताको १५० वर्ष पुरानो व्यवस्थालाई अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयास सर्वोच्च अदालतले अस्वीकार गरेको भन्दै त्यसको आलोचना गरे।
पहिलो कार्यकारी आदेशमा अमेरिकाको उदारताको दुरुपयोग गर्दै विदेशी तत्त्वले अमेरिकी नागरिकलाई ठग्ने प्रयास गरेको भन्दै त्यसबाट उत्पन्न जोखिम रोक्न नयाँ व्यवस्था गरिएको उल्लेख छ।
आदेशअनुसार बच्चाका दुवै अभिभावक गैरअमेरिकी नागरिक भए र तीमध्ये एक जना विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारको कर्मचारी, जालसाजीमार्फत नागरिकता लिन खोजेको व्यक्ति वा संघीय कानुनअनुसार नागरिकता नपाइने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भए अमेरिकामा जन्मिएको बच्चाले स्वतः अमेरिकी नागरिकता पाउने छैन।
ट्रम्प प्रशासनले लामो समयदेखि ‘बर्थ टुरिज्म’को विरोध गर्दै आएको छ। प्रशासनले विशेषगरी रुस र चीनका नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाउँदै आएको बीबीसीले उल्लेख गरेको छ।
कार्यकारी आदेश सार्वजनिक गर्दै ट्रम्पले ‘बर्थ टुरिज्म’मार्फत अमेरिकामा सयौँ हजार शिशु जन्मिएको दाबी गरे। तर गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार जनगणनामा आधारित अनुमानले हरेक वर्ष यस्तो अभ्यासबाट करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने देखाउँछ। संस्थाले सरकारी तथ्याङ्क उद्धृत गर्दै सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट ९ हजार ६ सय शिशु जन्मिएको जनाएको छ।
ह्वाइट हाउसका नीति विषयक उपप्रमुख तथा गृह सुरक्षा सल्लाहकार स्टेफन मिलरका अनुसार धेरै व्यक्ति पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गरे पनि उनीहरूको वास्तविक उद्देश्य बच्चा जन्माएर त्यसलाई स्वतः अमेरिकी नागरिक बनाउनु हो। उनका अनुसार त्यस्ता सन्तानले पछि सामाजिक सुरक्षा सुविधा, मतदानको अधिकार र अमेरिकी नागरिकलाई प्राप्त हुने अन्य अधिकार तथा सुविधा पाउँछन्।
मिलरले अध्यागमन तथा राष्ट्रियता ऐनले राष्ट्रपतिलाई अमेरिका प्रवेशमा अपवाद र सीमा निर्धारण गर्ने अधिकार दिएको भन्दै त्यसैका आधारमा ‘बर्थ टुरिज्म’मा प्रतिबन्ध लगाइएको बताए।
ट्रम्पले सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेको केही दिनमै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका थिए। त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत जुनमा ट्रम्प प्रशासनको नीति कार्यान्वयन गर्न नमिल्ने फैसला गर्दै जन्मसिद्ध नागरिकता यथावत् रहने निर्णय गरेको थियो।
नयाँ आदेश सार्वजनिक गर्दै ट्रम्पले सर्वोच्च अदालतको निर्णयलाई ‘खराब र अन्यायपूर्ण’ भन्दै आलोचना गरे। ‘यसको असर हाम्रो देशले भोगिरहेको छ, र हामी त्यसलाई अर्को तरिकाले अन्त्य गर्दैछौँ,’ उनले भने।

सम्बन्धित खबर

.png)




.png)














.png)






तपाईंको प्रतिक्रिया