• सोमबार, २४ कार्तिक, २०८३
  • Monday, 09 November, 2026
  • X

सुनेको क्यानाडा, भोगेको क्यानाडा

सुभाष सुवेदी

शनिबार फाल्गुण २९, २०७७ | Saturday March 13,2021

“कुर्दाकुर्दा हैरान भएँ यार ! कति लामो समय लागेको ! ठूलै समस्या देखापरे कि क्या हो ?” 

हवाइजाहज अवतरण भएको ४ घण्टासम्म पनि बाहिर ननिस्किँदा हामीलाई लिन आएका मित्र कृष्ण निरौलाले सोधेका प्रश्न थिए यी। 

सन् २०१२, जुन २६ गते बिहिवार दिउँसो क्यानाडाको टोरोन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय एयरपोर्टमा स-परिवार अवतरण भएका थियौं। सानी छोरी आफ्नो कुरा भन्न नसक्ने र हामी नयाँ ‘इमिग्रेन्ट’ बाबुआमाको त्यहाँको तालमेल बुझाइमा कमजोरीका कारण अध्यागमनमा सामान्य समस्या आयो, वा भनूँ अलि बढी नै समय लाग्यो।  

कृष्ण हामीलाई लिन एयरपोर्टमा आएका थिए। पर्याप्त समय राखेर केही घण्टापहिले नै आएका र जहाज पनि केही ढिलो गरी उत्रिएको दुवै घानमा परेका थिए उनी।

१८ महिनाकी बच्चीलाई लामो यात्रा र यात्राको खानाले पेट गडबडाएको रहेछ। एयरपोर्टमा ओर्लिएपछि छोरीलाई ट्वाइलेट जानपर्ने भएछ। हामीले बाबुआमाको ध्यान त्यसमा पुगेनछ। छोरीलाई सौच गर्न नेपालमै बानी परेको ‘पटी’ चाहिने। हामीले त्यो कहाँबाट ल्याउनु। निकै लामो प्रयासपछि छोरीको सौच गर्ने खाँचोलाई वैकल्पिक उपायले समाधान गरियो। समस्या सानो थियो र तर हामीलाई रुनु र हाँस्नु चाहिँ बनाएकै हो यसले।

बाहिर निस्कने क्रममा के कसो गर्ने भन्ने हामीलाई पहिला नै आधारभूत जानकारी दिइएको थियो। भनेभन्दा छिसिक्क फेर नपारी गरेर झन्झट र आपदमुक्त भएर बाहिर निस्किने एकसुत्र ध्यान थियो। त्यहीअनुसार गर्दा सामान ठेल्ने गाडा लिन समस्या आयो। भारितारी निकै थिए। जेनतेन व्यवस्था गरेर बाहिर आइयो। लिन आएका मित्रलाई संक्षिप्तमा यथार्थ बतायौं। उनले समस्या बुझिदिएको भान भयो, अनि उनैले व्यवस्था गरेको ट्याक्सीमा चढ्यौं। 

गन्तव्य कति ठाढा छ ? र कहाँ हो पूर्ण जानकारी छैन। मात्र सहरको नाम थाहा थियो। सबै जिम्मा उनै मित्रले लिएका थिए। जब ट्याक्सीमा चढेर गन्तव्यका लागि खुला बाटोमा प्रवेस गर्यौं, मेरो मानसपलटमा निर्माण भएका काल्पनिक मानचित्रका ठुलाठूला भ्रमहरू क्रमस: भत्किन सुरु भइसकेका थिए।

निकै भ्रममा हुर्किएको रहेछु। वा, भनूँ कल्पनाको संसारलाई भव्य ढंगले सिंगारेको रहेछु त्यो बेला। 

हाम्रो पुस्ता त्यस्तो समयमा हुर्किएछौं जुनबेला विश्वव्यापीरुपमा प्रविधिको द्रुत विकास हुँदै थियो। नेपालमा पनि यो क्रम सुरुहुनथालेको थियो।  

इन्टरनेर र सामाजिक सञ्जालहरूसँग परिचित हुने मौका पनि औषत नेपालीको तुलनामा केही अघि नै मिल्यो मलाई। 

घरपरिवारका आफ्न्त र समाजिक परिवेशका दाजुभाइ, दिदीबहिनीमार्फत व्यक्त र अव्यक्त रुपमा नेपाल भित्रिएका सन्देश। त्यसकै आधारमा विकास भएको हाम्रो सामाजिक परिवेश र बनेको मेरो मानसिकता।सामाजिक सञ्जालमा साथीभाइ र आफन्तले व्यक्त गर्ने भावना र जानकारी वास्तविकताभन्दा अलिक फेर पर्ने भएर होला बाहिरी संसारको मेरो परिकल्पना पनि वास्तविकता भन्दा निकै परसम्म विकास भएको रहेछ ।

गन्तव्यतर्फ सोझिंदा फराकिला सडक आउने बित्तिकै मलाई अलि अनौंठो लाग्यो। यहाको भू-बनोटले नि मेरो दिमागी तस्वीरको लय समातिरहेको थिएन। विकसित राष्ट्र स्वर्ग जस्तै छन् भन्ने कयौं पटक सुनेको। स्वर्ग कस्तो हुन्छ भन्दा स्वर्गै जस्तो भन्नेबाहेक कसैले देखेजानेको कुरा भएन स्वर्ग। तर विकसित देश स्वर्ग जस्तै भन्दा चाहिँ केही तस्वीर बनाएको रहेछ मनले। आफ्नो परिवेस भन्दा फरक प्रतिबिम्ब निर्माण गर्ने रहेछ विकसित राष्ट्रका बारेमा। मेरो मानसपटलमा निर्माण भएको स्वर्गजस्तो प्रतिवबिम्ब ध्वस्त हुन समय नै लागेन। 

स्वर्गजस्तो विकसित देशप्रतिको मेरो पहिलो प्रतिक्रिया थियो ‘मधेश जस्तै रहेछ’! समथर भूमि, परपरसम्मको क्षितिज देखिने, कतै कतै ढिस्का र जंगल। निकै पातलो वस्ती।

हाम्रो गन्तव्य थियो टोरोन्टोबाट दक्षिण ८० किलोमिटरको दुरीमा रहेको किचनर सहर। जब सिधा र समथर सडकतर्फ प्रवेश गर्यौं यतिखेर मैले अर्को कुरा ख्याल गरें। त्यो हो विपरित दिशाबाट आएका सबै गाडीको लाइट बलिरहेका थिए।  दिउँसै बत्ति बालेर चलेका ती गाडीहरु कुनै म्याराथन जित्न कुदेका जस्ता तीव्र रफ्तारमा थिए। एक किसिमले रमाइलो देखिन्थ्यो। 

“किन दिउँसै सबैले गाडीका बत्ति बलेका ?” अचम्म मान्दै मैले साथीलाई सोधे। थाहा भयो मौसममा आउने परिवर्तनको कुनै भर नहुने नभएकाले बत्ति बाल्न कानुनत: अनिवार्य रहेछ यहाँ। गाडीको उत्पादन पनि मौषमको ख्याल गरेर त्यसरी नै भएका हुने रहेछन् यहाँ।

हामी एक करिब एक घण्टाको मोटर यात्रापछि किचनर आइपुग्यौं। साथीकै घरमा केही दिनको पाहुना हुँदाहुदै आवश्यक सरसामानको जोडजाम गर्यौं।नयाँ ठाउँ, नयाँ परिवेश।  सबैथोक नयाँ। बोल्न सक्ने कुरा पनि बोल्न नसकिने, विस्तारै मनोवलमा कमी आउँदै गएको अनुभव हुन थाल्यो। यो क्रम दोस्रो वा तेस्रो दिनदेखि नै सुरु भयो। त्यसको प्रमुख कारण भाषा नै थियो। सामान्य शब्दहरु र बिस्तारै बोलेको बुझ्न सकिन्थ्यो। तर बोलीचालीको भाषा ‘स्ल्याङ’ बुझ्न निकै कठिन हुन्थ्यो जुन हामीलाई अभ्यास नै थिएन।

यहाँको हिडाइ, बोलाइ, सिकाइको शैली निकै फरक। त्यही शैली बोलाइमा झल्कथ्यो होला। अङ्ग्रेजी भाषामा दख्खल राख्नेलाई पनि यो समस्या हुने रहेछ भन्ने हामीले निकै पछि बुझ्यौं। अझैपनि कतिपय सन्दर्भमा के बोल्ने, के जवाफ दिने भन्ने मनमा झिंझक चाहिँ हुन्छ। यो अभ्यासको कमीले नै हो।

हामी गएको शहर सानो थियो। त्यो शहर र वरपर औंलामा गन्न सकिने संख्यामा नेपालीको बसोबास रहेछ। अब सुरु भयो पाठशाला। शिक्षक त्यो क्षेत्रकै बासिन्दा नेपाली भाषी। त्यसमा पनि ‘हेड सर’ चाही मेरै मित्र कृष्ण र सहपाठी साम्भवी नेपाल। अध्ययन, अनुसन्धान कम गर्ने, सुनेकै भरमा विश्वास गर्ने मजस्तालाई यी कक्षा निकै उपयोगी सावित भए। शिक्षणका विषय प्राय: क्यानडाको भूगोल, मौसम, ड्राइभिङ, नियम कानुन, किनमेल गर्ने बजार, किनमेल गर्ने तरिकालगायत हुन्थे। यसका साथै पहिलो चरणमा गर्नुपर्ने कागजी प्रक्रिया र काम खोज्ने प्रकियाका बारेमा सुरुमा गतिलै कक्षा लियौं। यसमा पनि गाडी र ड्राइभिङका बारेमा अलि बढी हुन्थ्यो। यस्ता कक्षाबाट प्रारम्भमा क्यानडा बुझ्न धेरै मद्दत गरेको थियो ।

त्यो पाठशालाका अन्य दुई शिक्षक विमल पौडेल र गोपी भट्टराई। उनीहरुले दिनरात पढाएका छन् सुररुको हाम्रो क्यानेडेली जिन्दगीलाई। उनीहरू जतिखेर पनि पढाइरहने, हामी ‘जेट ल्याग’को कारण उँघिरहने। निन्द्रा मात्रै लाग्ने। सुने जस्तो हुने तर केही नबुझ्ने। यही कारणले सिकाइ त्यतिप्राभावाकारी भएन र नतिजा राम्रो आएन जस्तो लाग्छ। एक महिनासम्म राती निन्द्रा नपर्ने भयो। त्यसमा पनि सानी छोरी साथमा। आफ्ना समस्या त थिए। छोरीका पनि उस्तै समस्या। उता, हाम्रा शिक्षकहरूमा पनि विषयवस्तुको जानकारीमा कमजोरी रहेछ भन्ने अलिपछि बुझेका थियौं। स्वभाविक थियो। सबै सिक्दै पनि हुनुहुन्थ्यो। मेरो सिकाइको अनुभवले के भन्छ भने नवआगन्तुकलाई केही दिनको विश्रामपछि सिकाइयो भने बारम्बार भनिरहनु नपर्ने रहेछ।  

हामी क्यानाडा प्रवेस गर्दा यहाँ मध्ये ग्रिष्म ऋतु थियो। आएको पहिलो दिन नै फरक अनुभव गरेको अर्को कुरा दिन र रात। आफ्नो देशमा दिन र रातको लम्बाइ एकाध घण्टाभन्दा बढीले फरक हुदैन। यहाँ त दिन निकै लामा, रात सारै नै छोटा। रातको १० बजेसम्म झलमल्ल घाम लाग्दा अनौठो लाग्योे। घाम नस्ताउँदै रातको १० बजे नेपालमा घरकासँग कुरा भयो। घाम लागिरहेको कुरा उत्साहित भएर सुनाएको सम्झिन्छु। गर्मीमा दिनको र जाडोमा रातको लम्बाई बढी हुने रहेछ यहाँ।

मौसमका हिसावले हामी आएको समय वर्षभरिकै उत्कृष्ट रहेछ। छोटो समय गर्मी हुने भएर होला यहाँ गर्मी यामले विषेश महत्व राखेको। हिंडडुल गर्न सहज, पार्कहरुमा सबैतिर हरियाली, बाटो वरिपरि थरीथरीका रंगीविरङ्गी फूलहरु। पार्कहरु निकै ठूलो क्षेत्रफलमा फैलिएका, विभिन्न क्रियाकलापलाई छुट्याइएका। भेटघाट, छलफल, मेला, वनभोज सबै खुला पार्कमा हुने। 

किचनरमा रहेको नेपाली समुदाय पनि गर्मी मौषमको फाइदा लिँदोरहेछ। हरेकदिन प्राय: साँझपख पुरुषहरू फुटबल खेल्ने र महिलाहरु आफ्नै समूहमा आफ्ना अनुभव, संघर्ष र जानकारी साटासाट गरेर समय बिताउने क्रम सुरु भयो। पुरुषहरु फुटबल खेल्ने भने पनि सबैजना ५ मिनेटमा हस्याङफस्याङ गर्ने, दम काढ्न थाल्ने। १५ मिनेटमा खेल समाप्त। अनि गफगाफ सुरु। गफगाफ, परिचय नवआगन्तुकलाई उपयोगी नै हुने भइगो।

यो शिलशिला पहिलो वर्षको गर्मी यामभरि रह्यो। यस्ता क्रियाकलापले समुदायसँग घुलमिल हुने मौका मिल्यो। नेपालका विभिन्न भेगका नेपाली दाजुभाइ, दिदीबहिनीसँग भेटघाट दैनिकजसो हुन्थ्यो। सबैका अनुभव सुनेर कुरा बुझिन्थ्यो, मनन् गरिन्थ्यो। यसबाट हामीले क्यानाडाको बारेमा आवश्यक उपयोगी जानकारी लिने मौका पायौं। समुदायभित्र हुने यस्ता क्रियाकलापबाट नवआगन्तुकले फाइदा लिनसक्ने अनुभव गरेको छु। भरअभर साथ सहयोग गर्ने पहिलो आफ्नै समूदायले रहेछ परदेशी भूमिमा।

सुरुमै अनौठौ लागेको अर्को घाँस र परालका बिटा। विकशित राष्ट्रमा खेती-किसान पनि हुन्छ भन्ने जानकारी थियो। कसरी गर्छन् भन्ने चरम कौतुहलता थियो। ट्याक्सीमा किचनर आउँदा आँखाले भ्याएसम्मका ठूला समथर बारीमा लहरै मिलाएर सुकाइएका घाँस -परालका गोलाकार पाङ्ग्राजस्ता बिटा देख्दा अचम्म लाग्यो साथै, रमाइलो पनि। कसरी यति ठूलाठूला बारीमा घाँस काटेर सक्छन् होला ? कसरी त्यो घाँस-पराल मिलाएर चिल्लाचिल्ला डल्ला पार्न सकेको होला ? यस्तै जिज्ञासा आए। मनमनै जवाफ पनि आफैं गुनें: अहिले म क्यानडामा छु, यहाँ अधिकतम काम मेसिनरी औजारबाट हुन्छ। यत्रायत्रा बारीका पाटामा मान्छेले घाँस काटेर वा बिउबिजन गरेर सम्भव छ ? सान्त्वन्ना पाएको जस्तो गर्यो। घाँसका एमानका एक मान्छेभन्दा अग्ला यस्ता गोलाइलाई यहाँ ‘बेल अफ हे’ वा ‘बेल अफ स्ट्र’ भन्दा रहेछन्। मलाई अझैपनि मेसिनले घाँस काट्दै गोला पार्दै पछाडिबाट सौच गरेजस्तो डल्ला छोड्दै अघि बढ्दै गरेको धित मर्नेगरी नजिकबाट हेर्न मन छ। तर उचित अवसर मिलेको छैन। सायद खेती-किसान परिवारमा जन्मेको हुर्किएको भएर त्यसमा चासो रहेको होला।

यतै अनौठो, उतै अनौठो लाग्ने क्रम अझै जारी छ। यो जीवनकालभरि नै रहनेछ भन्ने लाग्छ अहिलेसम्मको क्यानाडा बसाइ र भोगाइ हेर्दा। कुनैपनि विषयमा सतहीरुपमा सोच्दा समान्य लागे पनि गहिरिएर हेर्दा अनौठो लाग्ने काम अहिले झन बढी हुन्छ। दैनिकजसोका विज्ञान-प्रविधिका नयाँ आविष्कारले र तिनको प्रयोग तुरुन्त सर्वसाधारणको जीवनमा हुने यहाँको संस्कारले गर्दा हरेक क्षेत्रमा अनौठो लाग्ने यान्त्रिक काम, कर्मका दृश्यहरु जताततै देखिरहन्छु म ।

किचनरमा हामी सबै परिवार संगठित भएर एक अर्काको सहारा बनेका थियौं। केही साथीहरू एकल ‘अपार्टमेन्ट’ वा घर खरीद गरी स्थायी बसोवास गर्नु भएको थियो। 

सिक्दै, छक्क पर्दै, ट्वाँ पर्दै, रमाइलो गर्दै पहिलो वर्ष बितेको पत्तै भएन। त्यहाँबाट सबै परिवार लाखापाखा लाग्यौं। हामीले किचनरमा १५ महिना वितायौं। त्यौ पन्ध्र महिनाले मलाई धेरै कुरा सिकायो। नेपालबाट यता बसाइँसराइपछिको पहिलो पाठशाला ‘किचनर पाठशाला’का सबै शिक्षक, अभिभावकलाई धन्यवाद भन्छु म यहाँ आइपुग्दा।  

लेखक हाल क्यानाडाको एडमन्टनमा बस्छन्। 

तस्विर: लेखक/नेपाल टच

 

तपाईंको प्रतिक्रिया