• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

नेपालीले स्थापना गरेको रेमिट्यान्स कम्पनीले शुरू गर्यो क्यानाडाबाट सेवा

नेपालTouch
शुक्रबार श्रावण २९, २०८३ | Friday August 14,2026

टोरोन्टो। वाल्सी इन्क (Walcy Inc.) अन्तर्गतको डिजिटल रेमिट्यान्स सेवा रेमिट वन टु थ्री (Remit123) ले क्यानाडामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ। नेपाली व्यवसायीहरूले स्थापना गरेको Remit123 ले “छिटो, निष्पक्ष  र भरपर्दो रेमिट्यान्स सेवा” प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

विदेशमा बसेर आफ्नो परिवार, आफन्त तथा प्रियजनहरूको जिम्मेवारी वहन गरिरहेका नेपालीहरूका लागि सुरक्षित, पारदर्शी र झन्झटरहित रेमिट्यान्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस एपको विकास गरिएको हो। क्यानाडास्थित नेपाली उद्यमीहरूको पहलमा स्थापना भएको यस प्लेटफर्मले आधुनिक प्रविधि, नियामकीय अनुपालन र उत्कृष्ट ग्राहक सेवाको संयोजनमार्फत रेमिट्यान्स क्षेत्रमा नयाँ विश्वास स्थापित गर्ने लक्ष्य लिएको छ।

राजदूत पौडेल आफ्नो मोबाइल फोनमा रेमिट वनटुथ्री एप डाउनलोड गर्नु हुँदै।

तीन सरल चरणमा पैसा पठाउन सकिने

एपल एप स्टोर (Apple App Store) र गुगल प्ले स्टोर (Google Play Store) दुवैमा उपलब्ध रेमिट वनटुथ्री एपमार्फत पैसा पठाउन केवल तीन सरल चरणहरू पर्याप्त रहेको कम्पनीेले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। 

१. विवरण दर्ता: आफ्नो खाता बनाउने र पहिचान प्रमाणीकरण गर्ने।

२. लाभग्राहीको दर्ता: पैसा पाउने व्यक्तिको जानकारी एक पटक राख्ने, जसलाई पटक-पटक प्रयोग गर्न सकिन्छ।

३. पैसा पठाउनुहोस्: छिटो र सुरक्षित रूपमा आफ्ना प्रियजनलाई पैसा पठाउने र सोको जानकारी प्राप्त गर्ने।

मिसिसागामा आयोजित कार्यक्रममा बोल्दै राजदूत पौडेल।

कानुनी मान्यता र नियामकीय अनुपालन

वाल्सी इन्क क्यानाडाको Financial Transactions and Reports Analysis Centre of Canada (FINTRAC) मा Money Services Business (MSB) का रूपमा दर्ता भइसकेको छ। साथै, कम्पनी Retail Payment Activities Act (RPAA) अन्तर्गत Bank of Canada मा Payment Service Provider (PSP) का रूपमा पनि दर्ता छ। "क्यानाडाका वित्तीय तथा उपभोक्ता सुरक्षासम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै सेवा विस्तार गर्ने लक्ष्य लिएको छ", कम्पनीले भनेको छ।

सामुदायिक कार्यक्रम र राजदूतको भनाइ

क्यानाडामा सेवा शुभारम्भका अवसरमा अगस्ट ८, २०२६ मा टोरोन्टोको नाथन फिलिप्स स्वायरमामा आयोजित हिमालयन मेला २०२६ मा Remit123 ले समुदायसमक्ष आफ्नो सेवा प्रस्तुत गरेको थियो। 

मेलामै क्यानाडाका लागि नेपालका राजदूत भरतराज पौडेलले रेमिट वनटुथ्री एप औपचारिक रूपमा पहिलोपटक डाउनलोड गरेर शुभारम्भ गरेका थिए। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले जिज्ञासुहरूसँग सक्रिय अन्तरक्रिया गर्नुका साथै रेमिट्यान्स सेवाबारे विस्तृत जानकारी, विशेषता र फाइदाहरू बारे जानकारी दिएका थिए। 

त्यसैगरी, अगस्ट ९, २०२६ मा मिसिसागामा राजदूत पौडेलको उपस्थितमा एउटा विशेष नेटवर्किङ तथा सहकार्य कार्यक्रम गरिएको थियो। त्यस अवसरमा नेपाली समुदायका अगुवा व्यक्तित्वहरू, व्यवसायीहरू, पेसाकर्मीहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

हिमालयन मेलामा कम्पनीका प्रतिनिधिहरू।

सो कार्यक्रमका प्रमुख अतिथि राजदूत पौडेलले नेपाली समुदायका लागि नेपाली स्वामित्वको रेमिट्यान्स सेवा अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले क्यानाडामा रहेका हजारौँ नेपालीहरूले आफ्नो मेहनतको कमाइ नियमित रूपमा नेपाल पठाउने गरेको उल्लेख गर्दै कतिपयले अझै पनि अनौपचारिक तथा गैरकानुनी माध्यमहरू प्रयोग गरिरहेकाले त्यसले आर्थिक जोखिम मात्र नभई कानुनी जटिलतासमेत निम्त्याउन सक्ने चिन्ता व्यक्त गरे। 

राजदूत पौडेलले Remit123 जस्तो क्यानाडामा विधिवत् दर्ता भएको र नियामकीय निगरानीमा सञ्चालन हुने वैधानिक कम्पनीको आगमनले नेपाली समुदायमा विश्वास र सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।

“नेपालमा रहेका परिवारका लागि आफन्तको विदेशको कमाइ अत्यन्त महत्त्वपूर्ण हुन्छ। त्यसैले उनीहरूले पठाउने रकम सुरक्षित, कानुनसम्मत र भरपर्दो माध्यमबाट पुग्नुपर्छ,” उनले भने। 

कार्यक्रममा कम्पनीका तर्फबाट दिनेश सिलवाल, बिनय खड्का र शरद पौडेलले यसको स्थापना, उद्देश्य, बजार र आगामी योजना बारेमा बताएका थिए। करिब ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सिलवाल र खड्काले सहभागीहरूको जिज्ञाशाको जवाफ दिएका थिए। 

क्यानाडा–नेपाल करिडोर छनोटको कारण र सेवाका विशेषता

हाल क्यानाडामा स्थायी बासिन्दा, नागरिक, अन्तर्राष्ट्रिय विद्यार्थी, अस्थायी कामदार तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरू सबै गरेर झण्डै एकलाख नेपाली मूलका व्यक्तिहरू बसोबास गरिरहेको बताइन्छ। उनीहरू अधिकांशको आफ्नो परिवार, संस्कृति र मातृभूमिसँग गहिरो सम्बन्ध छ। यही कारण नेपालमा नियमित रूपमा रकम पठाउने आवश्यकता निरन्तर बढिरहेको छ। यसै आवश्यकतालाई ध्यानमा राख्दै Remit123 ले आफ्नो पहिलो सेवा क्षेत्रका रूपमा क्यानाडा–नेपाल रेमिट्यान्स करिडोर रोजेको जनाएको छ। 

नेटवर्किङ कार्यक्रमका सहभागीहरू।

सेवा शुभारम्भको अवसरमा कम्पनीले सीमित अवधिका लागि कुनै सेवा शुल्क नलिई रकम पठाउने सुविधा उपलब्ध गराएको छ। साथै, कम्पनीले प्रतिस्पर्धी विनिमय दर प्रदान गरेर ग्राहकले पठाएको रकमको अधिकतम मूल्य प्राप्त हुने सुनिश्चित गर्न प्रयास गरिरहेको छ।

भावी योजना र दीर्घकालीन रणनीति

Remit123 को प्रारम्भिक लक्ष्य क्यानाडा–नेपाल रेमिट्यान्स सेवालाई उत्कृष्ट बनाउनु भए पनि कम्पनीले निकट भविष्यमा दक्षिण एसियाका अन्य देशहरूमा सेवा विस्तार गर्ने योजना बनाएको छ। त्यसपछि अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न बजारहरूमा समेत प्रवेश गर्ने कम्पनीको दीर्घकालीन रणनीति रहेको छ।

हिमालयन मेलामा रेमिट 123 को स्टल।

Walcy Inc. द्वारा सञ्चालित Remit123 एक डिजिटल रेमिट्यान्स प्लेटफर्म हो, जसले मोबाइल एपमार्फत सुरक्षित, सरल र भरपर्दो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा प्रदान गर्दछ। "Fast, Fair and Reliable Transfers" भन्ने मूलमन्त्रसहित Remit123 ले प्रविधि, पारदर्शिता, नियामकीय अनुपालन र ग्राहक-केन्द्रित सेवामार्फत विश्वभरका आप्रवासी समुदायहरूको विश्वासिलो रेमिट्यान्स साझेदार बन्ने लक्ष्य राखेको छ।

थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.remit123.ca मा सम्पर्क गर्न सकिनेछ।

तपाईंको प्रतिक्रिया