• शनिबार, ३० श्रावण, २०८३
  • Saturday, 15 August, 2026
  • X

एयर क्यानाडाद्वारा ‘एरोप्लान’को २५ प्रतिशत सेयर साढे दुई अर्ब डलरमा बिक्री

नेपालTouch
बुधबार श्रावण २७, २०८३ | Wednesday August 12,2026

अन्टारियो। क्यानाडाको प्रमुख विमान सेवा कम्पनी एयर क्यानाडाले आफ्नो बहुचर्चित लोयल्टी कार्यक्रम ‘एरोप्लान’को २५ प्रतिशत अल्पसङ्ख्यक सेयर दुई अर्ब ५० करोड अमेरिकी डलरमा बिक्री गर्ने भएको छ।

निजी इक्विटी फर्म ब्ल्याकस्टोन र क्याबेकको पेन्सन कोष व्यवस्थापक ‘ला केस’ लगायतका लगानीकर्ता समूहलाई उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार लगानीकर्ता समूहले एरोप्लानमा नियन्त्रण अधिकार नरहने गरी २५ प्रतिशत इक्विटी स्वामित्व प्राप्त गर्नेछन्। यस सम्झौतापछि पनि एरोप्लानको पूर्ण सञ्चालन अधिकार र नियन्त्रणकारी स्वामित्व भने एयर क्यानाडासँगै कायम रहनेछ।

वित्तीय विवरण सार्वजनिक गर्दै एयरलाइन्सले चालु वर्षको दोस्रो त्रैमासिकमा १७ करोड ८० लाख डलर खुद घाटा व्यहोरेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६० लाख डलर खुद नाफा कमाएको थियो।

कम्पनीको प्रतिसेयर आम्दानीतर्फ गत वर्ष ५१ सेन्ट नाफा भएकोमा यस पटक प्रतिसेयर ६३ सेन्ट घाटा दर्ता भएको छ।

वित्तीय घाटाका बाबजुद दोस्रो त्रैमासिकमा कम्पनीको कुल आम्दानी भने अघिल्लो वर्षको ५ अर्ब ६० करोड डलरबाट बढेर ६ अर्ब ३० करोड डलर पुगेको छ।

तपाईंको प्रतिक्रिया