क्यानाडाको आँखामा नेपाल
निरुपमा शर्मा
मंगलबार बिहानै सामाजिक सञ्जालमा कसैले साझा गरेको क्यानाडाको नेपाल सम्बन्धी यात्रा निर्देशन पढेँ। सो निर्देशनमा क्यानाडाले आफ्ना नागरिकहरूलाई अत्यावश्यक बाहेक अन्य अवस्थाहरूमा नेपालको यात्रा नगर्नु भनेर सचेत गरेको छ। यो पढेपछि मनै झसंग भयो; एक किसिमको अन्योल, आक्रोश र आवेग मिश्रित अनुभूति भयो। यसपालि लेखिरहेको भन्दा फरक विषयमा लेख्न मेरा हातहरू किबोर्डमा सरे।
हालसालै १२ डिसेम्बर २०२५ मा अद्यावधिक गरिएको यो निर्देशिकामा क्यानाडाले नेपालमा सार्वजनिक रूपमा अशान्ति रहेको, हिंसा र नाजुक सुरक्षा तथा राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो मुलुकका जनतालाई अत्यावश्यक बाहेकका स्थितिमा नेपालको यात्रा नगर्नु भनेर 'ट्राभल एडभाइजरी' वा यात्रा निर्देशन जारी गरेको छ। उक्त चेतावनीमा आफ्ना नागरिकलाई चाहिएमा उसले नेपालमा दिने कन्सुलर सुविधा पनि एकदमै सीमित हुने कुरा जानकारी गराएको छ।
पढ्दा मनमा प्रश्नै प्रश्न उब्जिए र सोध्न मन लाग्यो, के हाम्रो मातृभूमि वास्तवमै त्यस्तो असुरक्षित भइसकेको छ त? के क्यानाडाजस्ता विकसित मुलुकहरूको आँखामा हाम्रो मुलुक नेपालको हालको चित्र यही हो त? के हामी जन्मेको देश यति सारो कहालीलाग्दो, हिंसक र आक्रान्त भयावह भइसक्यो कि त्यहाँ यात्रा गर्दा पर्यटकले यतिविघ्न सावधानी अपनाउनुपर्छ? देशको चित्र विश्वमानचित्रमा यसरी कोरिइरहँदा हामीले आफू नेपाली भनी कसरी गर्वका साथ शिर उठाउने त? हामी यत्तिको लाचार भइसक्यौँ कि आफूकहाँ आउने पाहुनालाई उसको सुरक्षामा आश्वस्त पार्न सक्दैनौँ?
'ग्लोबल अफेयर्स' नामक क्यानाडा सरकारको यस निकायले यस्ता यात्रा निर्देशिकाहरू नियमित रूपमा जारी गर्छ र अद्यावधिक पनि गर्छ। आफ्ना देशका नागरिकहरूलाई उनीहरूले यात्रा गर्न चाहने देशहरूको अवस्थाबारे यथार्थ जानकारी दिएर त्यहाँको वस्तुस्थिति, जोखिम र खतराहरूका बारेमा ज्ञान प्रदान गरी सुरक्षित रहन मद्दत गर्ने उद्देश्यस्वरूप यस्ता निर्देशिकाहरू जारी गरिन्छन्। केही निर्देशिकाहरूले कुनै देशमा तत्काल जोखिम रहेको कुरा देखाउँछन् भने केहीले जोखिमबारे आफ्ना नागरिकहरूलाई सजगता अपनाउन आह्वान गरेका हुन्छन्। अमेरिका, भारत र अब आएर क्यानाडाले आफ्ना नागरिकहरूलाई अत्यावश्यक बाहेक अन्य अवस्थाहरूमा नेपालमा यात्रा नगर्नु भनेर चेतावनी जारी गरेका छन्।
क्यानाडाका यात्रा निर्देशिकाहरू चार स्तरका हुन्छन्। पहिलो चरणमा सामान्य सतर्कता अपनाउने, दोस्रो चरणमा बढ्दो सतर्कता अपनाउने र तेस्रो चरणमा भने अत्यावश्यक बाहेकको यात्रा नगर्ने सल्लाह दिइन्छ। यसैगरी, चौथो चरण भन्नाले यात्रा गर्दै नगर्नु भन्ने हुन्छ। नेपालसम्बन्धी यो पछिल्लो निर्देशिका तेस्रो स्तरको हो।
हाम्रो जन्मभूमि कसरी यस्तो तेस्रो स्तरको सतर्कता अपनाउनुपर्ने मुलुकको श्रेणीमा आइपुग्यो त? के 'अतिथिदेवो भव' भनेर अतिथिलाई देवतासमान पुज्ने देशको हालत वास्तवमै यस्तो विकराल भइसकेको हो? यो निर्देशिका जति विस्तारमा पढ्दै गएँ, उति मन चिसो हुँदै गयो। यस चेतावनीमा नेपालमा भएको 'जेन-जी' प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको हिंसक भिडन्तको उल्लेख गरिएको त छ नै, यसबाहेक संसद् भवन, आसपासका क्षेत्र तथा सरकारी भवनका वरपर हिँडडुल नगर्न सुझाव दिइएको छ। यसलाई विस्तृतमा पढ्दा नेपालको छवि एउटा अत्यन्तै अशान्त, भयावह र हिंसाग्रस्त मुलुक भएको भान हुन्छ। पर्यटकहरूलाई नेपालमा ब्याग लुट्ने, पकेटमारीका जस्ता घटनाहरू सामान्य भएकाले ठमेल, सानेपा, कुपण्डोल लगायतका क्षेत्रको यात्रा गर्दा बढ्दो सतर्कता अपनाउन अनुरोध गरिएको छ। के नेपाल वास्तवमा यस्तै छ त, डरलाग्दो, अशान्त र अराजक?
यस चेतावनीमा नेपालमा यात्रा गर्दा महिलाहरू असुरक्षित हुन सक्ने, प्रताडना तथा हिंसाको सिकार हुन सक्ने र विशेषगरी एक्लै यात्रा गर्दा उनीहरू आक्रमणको सिकार हुन सक्ने लगायतका जोखिमहरू उल्लेख गरिएको छ। महिलाहरूलाई आफूले खाना या पेय पदार्थ खाँदा वा पिउँदा चनाखो हुन सल्लाह दिँदै खाइरहेको खाना वा पेय त्यसै छोड्दा कसैले उनीहरूको खाना वा पेय पदार्थमा लागूऔषध मिसाई यौनजन्य हिंसा गर्न सक्ने चेतावनी उल्लेख छ। के नेपाल महिलाका लागि यति असुरक्षित भइसकेको हो त?
सुचनामा नेपालको राजनीतिक हिंसा र अस्थिरता, प्रदर्शन तथा जुलुसहरू लगायतले पर्यटकको सुरक्षा जोखिममा पार्ने, ट्रेकिङ, पर्वतारोहण लगायतका गतिविधिहरूमा संलग्न हुँदा उच्च सतर्कता अपनाउनुपर्ने कुरा उल्लेख छ। सार्वजनिक यातायातहरू असुरक्षित र भरपर्दो नरहेका, बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने, देशभरि सडकको अवस्था खराब र खानेपानी स्वच्छ नभएको लगायतका विभिन्न कारणहरू दर्शाउँदै उक्त निर्देशिकाले आफ्ना नागरिकहरूलाई सचेतता अपनाउन आग्रह गरेको छ। यसमध्येका कतिपय यथार्थहरू तिता छन् जुन हामीले पचाउनुपर्ने हुन्छ, तर अवस्था साँच्चिकै यति विघ्न बिग्रेकै हो त?
हामी जन्मेको-हुर्केको माटो हामीलाई त प्यारो र सुरक्षित लाग्छ नै, तर त्यो सुरक्षा र निश्चिन्तता सबैलाई महसुस हुनुपर्यो। यदि यस निर्देशिकामा भनिएझैँ नेपाल असुरक्षित भए अर्कै कुरा हो, तर यदि छैन भने नेपाल कस्तो छ भनेर हामीले अरूलाई बुझाउन के-कस्तो भूमिका खेल्न सक्छौँ? यो प्रश्न क्यानाडामा बस्ने मलाई नेपाली मूलका सबैलाई सोध्न मन लाग्यो। के हामी जन्मिएको मुलुक वास्तवमै यी चेतावनी वा निर्देशिकाहरूमा भनिएझैँ असुरक्षित छ र त्यहाँ अत्यावश्यक बाहेकको यात्रा गरिनु हुँदैन? यदि यसको उत्तर 'छैन' हो भने हामीले नेपालको यथार्थ चित्रण कसरी प्रस्तुत गर्ने त?
नेपालको छविलाई क्यानाडामा सकारात्मक रूपमा प्रस्तुत गर्न नेपालको परराष्ट्र मन्त्रालय लगायत क्यानाडामा रहेको कूटनीतिक नियोगको अहम् भूमिका त हुन्छ नै, तर यसबाहेक स्वयंलाई नेपाली मूलको भनी चिनाउने हामी सबैको पनि केही न केही जिम्मेवारी छ।
नेपाललाई हालको अन्योलपूर्ण स्थितिमा धकेल्नका लागि जिम्मेवार रहेका प्रमुख दलहरूका नाममा क्यानाडामा खुलेका भ्रातृ सङ्गठन, जातजाति सम्बन्धी सङ्गठन, सामुदायिक संस्था र 'एकचोटिको नेपाली सधैँको नेपाली' को नारा बोकेर हिँड्ने गैरआवासीय नेपाली सङ्घले नेपालको छविलाई क्यानाडामा उकास्न के भूमिका खेल्न सक्छ त? दलगत राजनीतिबाट उठेर आफू जन्मेको देशको छविलाई राम्रो बनाउने बेला भएन र अब?
-ग्वेल्फ, क्यानाडा

सम्बन्धित खबर
.png)


.png)









.png)













तपाईंको प्रतिक्रिया