• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

'क्यानाडाका नेपालीका कथामा चलचित्र बनाउने योजना छ'

नेपालTouch
बिहीबार श्रावण ३, २०८१ | Thursday July 18,2024
नेपाल टच ग्राफिक्स

सम्राट सापकोटा नेपाली फिल्म र रंगमञ्चका परिचित कलाकार हुन्। क्यानाडा भ्रमणका सिलसिलामा रहेका उनी करिब एक महिनाको बसाइ सकेर नेपाल फर्कंदैछन्। यो समयमा उनले निर्माण गरेको नेपाली चलचित्र नालापानी पनि प्रदर्शन गरिएको थियो। 

उनको क्यानाडा भ्रमणको अनुभव, नेपाली सिनेमा र विदेशका दर्शकका रूचि लगायतका विषयमा नेपाल टचले छोटो कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंशः  

विदेशका, खासगरी क्यानाडाका, नेपालीले कस्तो चलचित्र हेर्न रुचाउँछन्?

म विदेशका दर्शकका रूचिका विषयमा भन्न सक्ने अनुभवी व्यक्ति हैन किनकी मैले विदेशमा आएर चलचित्र देखाएको पहिलो पटक हो। यस अघि मैले मेरो चलचित्र विदेशमा देखाउन पहल पनि गरेको थिइन। यो पटक पनि निजी भ्रमणका बेला संयोग परेर मात्रै चलचित्र देखाएको हो। 

मेरो बुझाईमा नेपालबाट विदेशमा गएर बसेका नेपालीले नेपाली माटोको, नेपाली परिवेश र सुवासका कथाहरू हेर्न चाहन्छन् जस्तो लाग्छ। 

हाम्रा चलचित्र नाम नेपाली होलान्, भाषा नेपाली होला तर अधिकाँस चलचित्र छिमेकी मुलुकबाट प्रभावित छन्। उदाहरणका रुपमा माया प्रेमका कथा संसारभरि नै उस्तै हुन् तर नेपाली चलचित्र हुनलाई त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यही कथालाई नेपालीपन दिन सकिन्छ।

कथा प्रस्तुत गर्दा निर्देशकको भूमिका महत्वपूर्ण हुन्छ जसले त्यस्ता कथा नेपाली माटोमा मुझेर पस्किन पस्किन सक्छन् जुन कुरा नेपाली दर्शकले मन पराउछन् जस्तो लाग्छ। छोटकरीमा भन्दा, कथामा नेपाली गन्ध आउनु पर्छ।  

२० वर्ष अघिको सिनेमा शैली र हाल के फरक छ?

 

नायग्रा फल्स अगाडी कलाकार सापकोटा।

हाल नेपालका चलचित्रको शैली पनि परिवर्तन भएको जस्तो देखिन्छ। के यो शैली दर्शकले मन पराउलान्?

परिवर्तन अपरिहार्य कुरा हो। नयाँ-नयाँ कथाहरू आउने क्रम छ। तर, गाउँका कथाहरू केही निश्चित ठाउँबाट मात्रै आउनु हुँदैन। अनी चलचित्रको  शिर्षक आकर्षक भएर मात्र पनि पुग्दैन। नेपाली समाजलाई सुहाउने र समेट्ने कथाहरू भनिनु पर्छ। त्यसो गर्न सके सबै नेपालीको प्रतिनिधित्व हुन्छ, त्यो उपयुक्त हुन्छ। 

तपाईं किन सिनेमा बनाउनु हुन्छ?

मेरा लागि सिनेमा बनाउनुको तिनवटा कारण छन्; पहिलो, आर्थिक आर्जन, दोश्रो अभिव्यक्ति र तेश्रो आफ्नो कला प्रदर्शनका लागि। चलचित्रले नाफा कमाउन दर्शकले मन पराउनै पर्छ। धेरै भन्दा धेरै दर्शकले चलचित्र हेरिदिए भने निर्माता नाफा पाउँछ नत्र भने चुर्लुम्म पैसा डुब्छ। 

अचेल नेपालीको संख्या देश बाहिर पनि मनग्यै भएकाले निर्माताले विदेशबाट पनि केही कमाई गर्न थालेका छन्। मेरो व्यक्तिगत अनुभव धेरै नभए पनि मैले थाहा पाएसम्म निर्माताले २५-३० प्रतिशत आम्दानी विदेशबाट गर्ने अपेक्षा राखेका हुन्छन्।  

एउटा कलाकारले आफ्नो अभिनय कला र आफुलाई मन लागेको कुरा चलचित्रबाट देखाउन सक्छ।

सिनेमाको अर्थशास्त्र कस्तो हुन्छ?

चलचित्रमा कर्पोरेट लगानीको सुरूवात भएको देखिएको छैन। व्यक्तिगत र सामुहिक लगानीमा चलचित्र बनाउने परिपाटी अझै छ।  

व्यक्तिगत लगानीमा चलचित्र बनाउँदा भने नाफा कमाउन नसक्ने हो भने निर्माता मात्रै फस्ने गरेको देखिन्छ। वितरक र चलचित्र हल सञ्चालक भने सधैं फाइदा लिनेमा पर्छन्। 

कलाकार, प्राविधिक, लेखक लगायत चलचित्रमा काम गर्ने अरू सबै क्षेत्रलाई पारिश्रमिक दिनै पर्छ। 

नेपाली चलचित्रहरू विदेशमा भने कसरी आइपुग्छन्?

चलचित्र पहिला जस्तो बोकेर एक ठाउँबाट अर्को ठाउँमा जानु पर्दैन जुन प्राविधिक रुपमा धेरै सजिलो छ। नेपाल मै बसेर 'इनपुट' नम्बर राखेपछि सम्बन्धित हलमा चलचित्र चलाउन सकिन्छ। स्थानीय वितरक अनिवार्य हुदैन तर भयो भने उसले प्रचार-प्रसार र बजार व्यवस्थापन लगायतका विषयमा काम गर्ने भएकाले निर्मातालाई भने राम्रो हुन्छ। 

तपाईंको कुनै 'ड्रिम प्रोजेक्ट' छ?

म एउटा विषयमा काम गरिरहेको छु। वन लाइनल तयार छ। यसलाई ड्रिम प्रोजेक्ट नै त नभनौ तर मलाई यस विषयमा काम गर्ने सोचाई बनाएको छु। नेपालमा भएको वर्तमान अवस्थालाई लिएर पनि चलचित्र बनाउने योजना छ। 

एउटा कलाकारको रूपमा आफुलाई कहाँ पाउनु हुन्छ? 

मैले नाटकहरूमा अभिनय गरें। चलचित्र र टेलिसिरियलहरूमा काम गरें। मलाई के लाग्छ भने एउटा कलाकार अभिनयबाट कहिल्यै सन्तुष्ट हुँदैन, म पनि छैन। गरिसकेको प्रोजेक्टमा अझै राम्रो गर्न सकिन्थ्यो होला जस्तो लाग्छ। म हाल अभिनयका क्षेत्रमा सक्रिय छैन, तर मौका पाएँ भने अझै 'भाष्ट सब्जेक्ट'मा काम गर्न मन छ। चित्त बुझ्दो कथा र चरित्रको पर्खाईमा छु। 

क्यानाडाका नेपालीका कथामा चलचित्र बनाउने कुनै योजना छ?

क्यानाडा बसाइको छोटो समयमा पनि मैले यहाँ धेरै राम्रा राम्रा कथा सुनेको भेटाएको छु। तत्कालै त हैन तर म भविष्यमा ति विषयमा काम गर्ने विचारमा छु। 

तपाईंको प्रतिक्रिया