प्रोपगन्डाको प्रोपगन्डा : के, कसले र किन?
भानुभक्त आचार्य
महाभारतमा युधिष्ठिरले गुरु द्रोणाचार्यलाई नियतवश गलत सूचना दिएको एउटा प्रसङ्ग आउँछ। द्रोणाचार्य कौरवका तर्फबाट सेनापति भएका बेला पाण्डवहरूले जित्ने सम्भावना थिएन। तब पाण्डबहरूले श्रीकृष्णकहाँ गएर द्रोणाचार्यलाई कसरी नियन्त्रण गर्ने भनेर सोधे। कृष्णले पुत्रशोकको अवस्थामा बाहेक द्रोणाचार्यलाई हराउन नसकिने कुरा बताए। तब कृष्णले भीमलाई अस्वत्थामा नाम गरेको हात्तीलाई गदाले हानेर मार्न लगाए।
द्रोणाचार्यका पुत्रको नाम पनि अस्वत्थामा थियो र उनी अलि अर्कैपट्टि युद्ध गरिहेका थिए। अश्वस्थामा मारियो भन्दै पाण्डव सेनाले गुरु द्रोणाचार्यलाई खबर सुनाए। द्रोणाचार्यलाई युद्धको समयमा अश्वत्थामाको हत्याको खबरले झस्कायो तर उनले त्यो सूचना पत्याएनन् किनभने अश्वत्थामा चिरञ्जीवी थिए। तब द्रोणाचार्य अरुले दिएको खबर पत्याउँदिन भन्दै युधिष्ठिरलाई सोध्न गए। युधिष्ठिर कहिल्यै नढाट्ने र सत्यवादी भनेर चिनिएका थिए। युधिष्ठिरलाई थाहा थियो कि अश्वत्थामा नामको हात्ती मारिएको हो, मान्छे होइन। तर पनि उनले ‘नरो वा कुञ्जरोवा अश्वत्थामा हतोहतः’ भनिदिए। अर्थात् मान्छे हो कि हात्ती तर अश्वत्थामा त मारियो। यति सुन्ने बित्तिकै पुत्रशोकले विह्वल बनेका द्रोणाचार्यले हतियार विसाएर भुइँमा बसेर शोक गर्न थाले। त्यसैबेला द्रोपदीका दाजु धृष्टद्युम्नले द्रोणाचार्यको हत्या गरिदिए।
यो प्रसंगलाई मैले अहिलेको जमानामा लोकतान्त्रिक भनिएका निर्वाचनबाट आएका सरकारहरूले कसरी जनतालाई गुमराहमा पारेर आफ्नो स्वार्थसिद्धि गर्न तम्सिन्छन् भन्ने प्रयोजनका लागि उठाएको हुँ। आजका युधिष्ठिरहरू भनेका जनप्रतिनिधिहरू हुन्, जसले ‘म नियम कानुन अनुसार मात्रै गर्छु। सत्यबाहेक अरु बोल्दिन। देश र जनतामाथि गद्दारी गर्दिन’ भनेर संविधान वा धार्मिक ग्रन्थलाई छोएर कसम खाएका हुन्छन्। उनीहरूलाई हामीले नै भोट दिएका हुन्छौं। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली भनेको मताधिकारप्राप्त जनता हो, जसले चुनावद्वारा आफैंलाई शासन गर्ने जनप्रतिनिधि चुन्छ। त्यसैले शासकीय संरचनामा निर्णायक भूमिका हुने भएकाले जनतालाई ‘जनता जनार्दन’ भनिएको हो। अर्थात् आजको लोकतान्त्रिक शासन व्यवस्था सैद्धान्तिक रुपमा गुरु द्रोणाचार्य जस्ता शक्तिशाली जनता र युधिष्ठिरहरूजस्ता सत्यवादी भनिएका शासकहरूले चलाएको राज्य हो। तर यस्तो अवस्थामा पनि सत्यवादी भनिएका शासकहरूले जनता जनार्दनलाई ढाँटेर आफ्नो स्वार्थ तामेल गर्ने काम भइरहेको छ, जसलाई हामी प्रोपगन्डा भनेर बुझ्छौं। अर्थात् सत्तामा रहेकाहरू प्रोपगन्डा गर्छन् र हामी त्यही प्रोपगन्डाका रमिते वा सिकार हुन्छौं।
अपसूचनाको महामारी सिर्जना गर्ने काम सरकारका निकायहरूले नै नियतवश गर्दछन्।
हामीलाई थाहै छ विगत एक वर्षदेखि सम्पूर्ण विश्व कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुझिरहेको छ। यो महामारी सँगसँगै विश्वभरि नै अर्को महामारी पनि थपिएको छ- अपसूचनाको महामारी, अर्थात् कोभिड–१९का बारेमा नियतवश प्रचार गरिने गलत सूचनाहरू। अंग्रेजीमा नियतवश गरिने यस्तो प्रचारबाजीलाई ‘प्रोपगन्डा’ भनिन्छ। हामीमध्ये धेरैजसोलाई के लाग्छ भने विषयवस्तु राम्ररी नबुझेका सर्वसाधारण मानिसले अपरिपक्व वा गलत सूचना सार्वजनिक गरेर ‘एक कान दुई कान मैदान’ बनादिएकाले अपसूचनाको महामारी भएको हो। हो, अचेल आधारहीन सूचनालाई ‘एक कान दुई काम मैदान’ पुर्याउने काम फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालले गर्दछन् तर अपसूचनाको महामारी सिर्जना गर्ने काम सरकारका निकायहरूले नै नियतवश गर्दछन्। गत वर्ष कोरोना महामारीबाट जोगिन सरकारले जेजस्तो तयारी गरे, त्योभन्दा बढी समय र ऊर्जा प्रोपगन्डा निर्माण र तिनको प्रचारप्रसारमा केन्द्रित गरे। यस लेखमा सरकारका निकायहरू किन जानाजान वा नियतवश गलत सूचनाहरू फैलाउन उद्यत हुन्छन् भन्नेबारेमा चर्चा गर्नेछु।
गत वर्ष चीन, अमेरिका, भारत, ब्राजिल जस्ता ठूला अर्थतन्त्र भएमा मुलुकले कोरोना भाइरसको महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न नसेपछि जनताको आँखामा छारो हाल्न प्रोपगन्डाको सहारा लिएका थिए। उदाहरणका लागि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको ल्याबबाट कोरोना भाइरस फैलिएको र चीनले जानिजानी त्यो भाइरस विकास गरेर विकसित देशतर्फ फिँजाइदिएको हो भने। चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किइरहेका बेला कोरोना भाइरसको निहुँ बनाएर उनी चीनमाथि थप दबाब दिन चाहन्थे। साथै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा देखिएका कमजोरीलाई ‘चाइना भाइरस’ का कारणले भएकाले चीनको जिम्मेवारी भन्दिएर पन्छिन चाहन्थे। अर्कातिर चीनले अमेरिकी सेनाले कोरोना भाइरस फैलाएको आरोप लगायो। यी दुवै दाबी तथ्यमा आधारित थिएनन् तैपनि विश्व स्वास्थ्य संगठनलाई चीनको बुहान ल्याबमा गएर यथार्थ पत्ता लगाउन युरोप, अमेरिका लगायतका देशहरूले दबाब दिइरहेका छन्। यस्तो दाबीलाई अंग्रेजीमा कन्स्पिरेसी थिअरी भनिन्छ।
ट्रम्प र ओली मात्रै होइनन्, संसारका सबैजसो राष्ट्रले कोरोना भाइरसको असर र क्षतिसम्बन्धी तथ्याङ्क लुकाउने र आफ्नोमा कम देखाउने काम गरे।
नेपालमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोरोना भाइरस भनेको एउटा रुघाखोकीजस्तो हो। लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ’ भने। प्रधानमन्त्रीले किन यसो भने त? यसको कारण छ। नेपालमा भारत र अन्यदेशमा काम गर्न गएका नेपालीहरू देश फर्किन थालेका तर सरकारले पर्याप्त क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरू स्थापना गर्न सकेको थिएन। चीनको बुहान लकडाउन भएपछि त्यहाँ अलपत्र नेपाली विद्यार्थीहरूलाई स्वदेश फिर्ता गर्न नसकेको भनेर ओली सरकारको निकै ठूलो आलोचना भएको थियो। ती आलोचनाहरूबाट बच्न र जनतामा कोरोना भाइरसको बढ्दो त्रासलाई कम गर्न प्रधानमन्त्री ओलीले बेसार र तातोपानी खाने सल्लाह दिएका थिए।
ट्रम्प र ओली मात्रै होइनन्, संसारका सबैजसो राष्ट्रले कोरोना भाइरसको असर र क्षतिसम्बन्धी तथ्याङ्क लुकाउने र आफ्नोमा कम हताहति देखाउने काम गरे। नेपालमा सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने योजना थियो तर कोरोनाले त्यसमा विराम लगाइदियो। तर पनि नेपालका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नेपाललाई कोरोना भाइरसमुक्त देश घोषणा गरे। त्यो घोषणा कुनै चिकित्सकीय परीक्षणबाट प्रमाणीकरण भएको थिएन, राजनीतिक निर्णय थियो। त्यसबेला नेपाल भ्रमण वर्षलाई कसरी अवरुद्ध नगरी कार्यान्वयन गर्न सकिन्छ भन्ने चिन्ता थियो। तसर्थ कोरोना भाइरसमुक्त देश भन्ने घोषणा सरकारद्वारा नियतवश गरिएको ढँटाइ थियो।
नेपालमा साबिकको नेकपाकै सरकार हुँदा प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूको आलोचना चुलिएको थियो, खासगरी सामाजिक सञ्जालमा। तब, ओली समर्थित युवासंघका कार्यकर्ताहरूले साइबर सेना बनाएर सामाजिक सञ्जालमा ओली सरकारको आलोचनामा आएका जुनसुकै सूचनाहरूलाई प्रतिक्रिया दिने, सरकारको प्रतिरक्षा गर्ने, विपक्षीहरूलाई आधारहीन आलोचना र तल्लो स्तरको गाली गर्ने सम्मका गतिविधि भए। तिनै साइबर सेनाको भूमिकामा सामाजिक सञ्जालमा खटिनेहरूमध्ये नेपाल रेल्वे विभागका महाप्रबन्धक वा राष्ट्रपतिका सल्लाहकार वा विभिन्न मन्त्रालयमा मिडिया विज्ञका रुपमा नियुक्त भए। साइबर सेनाको निर्माण र प्रयोग नै सरकारको बचाउ र विपक्षीको खोइरो खन्ने नियतले भएको छ। यसको मतलब सरकार प्रोपगन्डा निर्माण कार्यलाई कार्यकर्ता पङ्तिलाई समेत संलग्न गरेर अझ बढी संस्थागत गर्न चाहन्छ। त्यस्तै सत्तारुढ राजनीतिक दल र विपक्षीहरू समेतका आ–आफ्ना पत्रकार/सञ्चारकर्मी सम्मिलित भ्रातृसंगठनहरू छन्। तिनीहरूको रणनीतिक उद्देश्य भनेको पनि सरकारका पक्षमा प्रशंसा र विपक्षमा आलोचना बर्साउने हो। यो पनि प्रोपगन्डाकै अर्को रुप हो।
नेपाल लगायत संसारभरि सरकारका तर्फबाट गरिने पोपगन्डाको अर्को नमूना पनि छ, जसलाई ट्रेइल बलुन भनिन्छ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ठूला मिडियालाई आफ्नो पक्षमा वकालत गर्न करोडौं रुपैयाँ खर्च गरिरहेको छ। तसर्थ भारतका जीन्युज, रिपब्लिक टिभी, आजतक, टाइम्स नाउ, सिएनएन इन्डिया लगायत धेरै मिडिया नेटवर्कलाई मोदी सरकारले पैसा दिएर आफ्नो पक्षमा बोल्न लगाइरहेको छ। हित्दुत्व खतरामा छ, मुस्लिमहरू भारतका लागि खतरा हुन्। मोदी अहिलेसम्मकै सबैभन्दा राष्ट्रवादी नेता हुन् भन्ने कथानक सिर्जना गरिएको छ। हिन्दु र टाइम्स अफ इन्डिया जस्ता ठूला अखबारहरूको नेटवर्क पनि मोदीकै छायाँ झै वरिपरि नाचेका छन्। यो सबै पैसा र डरका कारणले हो। भारतमा बरु सरकारी मिडिया बढी तटस्थ र निरपेक्ष छन्। भारतजस्तो संसारकै ठूलो लोकतान्त्रिक मुलुकमा त सरकारले मिडियालाई प्रोपगन्डा मच्चाउने औजारको रुपमा प्रयोग गरिरहेको छ भने चीन, रुस र मध्यपूर्वका मिडियाहरूको कुरै गर्नु परेन किनभने ती प्रोपगन्डा सिर्जनाका लागि त्यहाँ छन्। सरकारले सोचेजस्तो नलेख्ने हो भने त्यहाँका मिडिया उहिल्यै बन्द भइसक्थे।
नेपाल लगायत संसारभरि सरकारका तर्फबाट गरिने पोपगन्डाको अर्को नमूना पनि छ, जसलाई ट्रेइल बलुन भनिन्छ। सरकारलाई कुनै काम गर्दा फाइदा छ (जस्तै ओम्नी समूहलाई कुनै सरकारी सम्पति सस्तोमा दिने) तर त्यो नीतिगत वा कानुनी हिसाबले गर्न मिल्दैन अथवा सर्वसाधारण जनताले त्यसमा व्यापक प्रतिरोध गर्न सक्छन्। त्यस्तो बेला सरकारले सुटुक्क कुनै मिडियालाई सूचना चुहाउँछ र त्यस्तो सूचना सार्वजनिक हुँदा आउनसक्ने प्रतिक्रिया हेर्छ। यति धेरैजसो मानिसले त्यसलाई वास्ता गरेनन्, ठूलो विरोध भएन भने कानुन मिचेरै भए पनि सरकार त्यो काम गर्न उद्दत हुन्छ तर त्यो काम अघि बढाउँदा ठूलो प्रतिरोध हुनसक्ने देखियो भने सरकारले त्यस्तो भनेकै छैन भनेर प्रतिवाद गर्छ। उदाहरणका लागि नेपालको वर्तमान संविधान जारी भएपछि मधेसवादी दलहरूलाई पनि सहमतिमा ल्याउने उद्देश्यले वि.सं. २०७३ मा पहिलो संशोधन गर्न लागिएको थियो। त्यसबेला संविधान संशोधनको मस्यौदामा हिन्दी भाषालाई पनि राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्यता दिने गरी मस्यौदा तयार भएको भनी केही छायाँ प्रतिहरू अनलाइन र सामाजिक सञ्जालहरूमा सार्वजनिक भए। त्यसको व्यापक विरोध भयो। तीन हप्तासम्म सरकार चूप लाग्यो। आलोचना बढ्दै गएपछि सरकारले त्यस्तो मस्यौदा नभएको र मिडियाले कपोलकल्पित समाचार लेखेको आरोप लगायो। मिडियाको प्रयोग गरेर मिडियालाई नै कमजोर बनाउने यस्तो प्रोपगन्डाले मिडियाप्रति सर्वसाधारणको विश्वास कमजोर बनाइदिन्छ।
प्रधानमन्त्री ओली मात्रै होइन, कतिपय अधिकारीहरू नै आफूलाई असर पर्ने सूचना गायब गर्न उद्यत छन् ताकि जतिसुकै अपराध कर्म गरे पनि दुनियाँमा इमान्दार राष्ट्रवादी वा समाजसेवीको छवि बनिरहोस्।
सरकारहरूले प्रोपगन्डाको प्रयोग जनतालाई ढाँट्न मात्रै होइन, जनतालाई सरकारको समर्थन गराइराख्न वा सरकारले जे भनिरहेछ, त्यो नै सही भो भनेर उनीहरूको मनमस्तिष्क नियन्त्रण गर्न समेत प्रयोग गर्दछन्। उदाहरणका लागि क्यानडाको सेनाले प्रोपगन्डाको प्रयोग गरेर यहाँका आप्रवासीलाई क्यानडाकै मूलवासीहरूसँग मिल्दोजुल्दो व्यवहार गर्ने बनाउन प्रयास गर्ने रणनीति तयार गरेको थियो। यो कुरा त्यहाँका मिडियाले बाहिर ल्याइदिए चर्को आलोचना भयो र सरकार त्यो रणनीतिबाट पछि हट्यो। अमेरिकामा पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूलाई राष्ट्रपति चुनावमा धाँधली भयो भनी ट्विटरमा विभिन्न भ्रामक सूचना र भिडियोहरू पोस्ट गरिरहे, जसले उनका पक्षमा लागेकाहरूलाई ट्रम्प सही छन् भन्ने लागिरह्यो। सरकार छाड्ने बेलामा ट्विटर, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालहरूले ट्रम्पलाई निषेध गरेकाले ट्रम्पको प्रोपगन्डा अभियान अहिले अलि सुस्त छ तर दुई महिनापछि ट्रम्प आफैं नयाँ सामाजिक सञ्जाल खोलेर आफ्ना समर्थकलाई आफ्नो स्वार्थ अनुकूलका सूचना लिएर आउँदैछन्। यसले प्रोपगन्डाको तागत र निहीतार्थ प्रष्ट पार्न सघाउँछ।
नेपालमा ओलीले प्रचण्ड–नेपाल–खनाल समूहले सरकारलाई काम गर्न नदिएको कुरा दोहोर्याइरहे, जसले गर्दा अहिले पनि एउटा समूह ओली असफल होइनन्, असफल बनाइयो भन्नेमा विश्वास गर्दछन्। प्रधानमन्त्री ओली मात्रै होइन, उनको शासनसत्ताका कतिपय अधिकारीहरू नै आफूलाई असर पर्ने सूचना नै गायब गर्न उद्यत छन् ताकि जतिसुकै अपराध कर्म गरे पनि दुनियाँमा इमान्दार राष्ट्रवादी वा समाजसेवीको छवि बनिरहोस्। प्रोपगन्डाले मानिसको सोचाई परिवर्तन गर्ने काम गर्न सक्छ र सरकारले त्यसको दुरुपयोग गरेर शासनसत्ता लम्ब्याउन सक्छ भनेर बेलायती लेखक जर्ज अर्वेलले सन् १९४९ मा ‘नाइन्टिन एटी फोर’ शीषर्कमा उपन्यास लेखेका थिए। त्यो उपन्यासमा सरकारले प्रविधिको प्रयोग गरेर सरकारको विरुद्धमा सोच्न पनि नसक्ने अवस्थाबारे चित्रण गरिएको छ।
त्यसैले संसारको सबैभन्दा ठूलो प्रोपगन्डाको सर्जक भनेको सरकार हो। राज्यका जिम्मेवार निकायहरूबाट जनता ढाटिइरहने अवस्थालाई चिर्न, राज्यका निकायहरूलाई खबरदारी गर्न र जनतालाई सही सूचना पुर्याउन पत्रकारिताको विकास भएको हो। युधिष्ठिर नै ढाँट परेपछि जस्तोसुकै मै हुँ भन्ने द्रोणाचार्यलाई पनि हतियार फालेर शोक गर्नुपर्ने अवस्था छ। द्रोणाचार्य जस्तै शक्तिशाली भएकाले मतदाता वा नागरिकलाई ‘जनता जनार्दन’ भनिए पनि हामीले विश्वास गरेका युधिष्ठिरहरूले हामीलाई धोका दिइरहेका छन्। खासमा आजको पत्रकारिताको सुरुवात सरकार वा शक्तिमा रहेकाहरूले जनतालाई गुमराहमा पार्न सक्ने अवस्था चिर्नका लागि भएको हो। जनताको हित विपरितका काम थाहा पाउन, खबरदारी गर्न र जनतालाई सुसूचित गर्न पत्रकारिताको जन्म भएको हो। तर, यो वा त्यो कारणले सञ्चारमाध्यमहरू सरकारको नियन्त्रण वा प्रभावमा पर्ने भएकाले प्रोपगन्डाको नियन्त्रण अझैं चुनौतिपूर्ण बन्दै गएको छ।
अन्त्यमा, सरकार मात्रै होइन, प्रोपगन्डा हाम्रो दैनन्दिन चरित्र पनि हो। घरजग्गाको भाउ बढाउन नभएको सूचना वा समाचार प्रकाशन गरिन्छ। छोराछोरीलाई खानदानी परिवारमा विहे गर्न वा लायकको जोडी खोज्न नभएको क्षमता भनिन्छ। हामी आफ्नो हैसियत बढाउन, खानदानी देखाउन, अरुभन्दा बुद्धिजिवी भइटोपल्न, सार्वजनिक समारोहमा भेट हुँदा भलाद्मी र नैतिक देखिन हामी आफ्ना समकक्षी वा छरछिमेकी वा साथीसंगीहरूलाई ‘मिलाएर’ कुरा गर्छौं। खास प्रोपगन्डाको सुरुवात त्यहीबाट भएको छ। तसर्थ, प्रोपगन्डा नियन्त्रण गर्न हामी हरेकले आफूलाई यथार्थको धरातलमा उभ्याउनुपर्छ र आफ्ना गुण र दोषहरूका बारेमा लेख्दा वा बोल्दा तटस्थ र निरपेक्ष बन्न सक्नुपर्छ। त्यो नहुञ्जेल प्रोपगन्डा जारी रहन्छ।
--------
प्रोपगन्डा शब्दलाई अझ प्रष्टसँग बुझ्न अन्य दुई शब्दहरूलाई बुझ्नुपर्छ— मिथ्या सूचना र अपसूचना । मिथ्या सूचना भनेको गलत सूचना हो तर त्यस्तो सूचना दिनेको नियत गलत हुँदैन । उदाहरणका लागि कुनै दुर्घटनामा १५ जना घाइते भन्नु पर्नेमा कुनै मिडियाले भूलवश १५ जनाको मृत्यु लेखिदियो । उसको नियत सही सूचना दिने भन्ने नै थियो तर सूचना गलत भइदियो । अंग्रेजीमा यस्तो अवस्थालाई “मिसइन्फरमेसन” भनिन्छ । तर, यदि त्यही मिडियाले आफ्नो समाचारमा हिट बढ्छ, अझ धेरैले समाचार हेर्छन् वा भाइरल होइन्छ भन्ने अभिप्रायले १५ जना घाइते भन्नु पर्नेमा जानीजानी १५ जनाको मृत्यु लेखेको रहेछ भने त्यो अपसूचना वा दूष्प्रचार हो । यसलाई अंग्रेजीमा ‘डिसइन्फर्मेसन’ भनिन्छ, जसको उच्चतम विन्दु प्रोपगन्डा हो । यसले सूचना मात्रै गलत दिँदैन, मानिसलाई कुनै खास काम गर्न वा नगर्न उकास्छ ।
-युनिभर्सिटी अफ अटावा, क्यानाडा

सम्बन्धित खबर








.png)











.png)






तपाईंको प्रतिक्रिया