• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

फिफा विश्वकपको चर्चाबीच क्यानाडामा हक्कीकै वर्चस्व कायमः सर्वेक्षण

नेपालTouch
सोमबार श्रावण ४, २०८३ | Monday July 20,2026

अन्टारियो। फिफा विश्वकपमा क्यानाडाको राष्ट्रिय फुटबल टोलीले प्राप्त गरेको सफलता र टोरन्टो तथा भ्यान्कुभरमा भएका खेलहरूका कारण फुटबलको चर्चा चुलिए तापनि यहाँ अझै पनि हक्की खेलकै वर्चस्व रहेको एक सर्वेक्षणले देखाएको छ। 

'एसोसिएसन फर क्यानेडियन स्टडिज' का लागि लेजरद्वारा गरिएको सर्वेक्षण अनुसार विश्वकपको बढ्दो चर्चाले क्यानेडालीहरूको खेलकुद प्राथमिकतामा कस्तो प्रभाव पारेको छ भन्ने कुरा बुझ्न खोजिएको थियो।

गत जुलाई १० देखि १२ सम्म १ हजार ५ सय ५ जनामा गरिएको उक्त सर्वेक्षणले क्यानाडामा हक्की सबैभन्दा लोकप्रिय खेलको रूपमा शीर्ष स्थानमा रहेको पुष्टि गरेको छ। 

एसोसिएसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ज्याक जेडवाबका अनुसार फुटबलले आफ्नो बलियो उपस्थिति जनाउँदै गए तापनि हक्की पहिलो रोजाइमा यथावत् छ। पुरुष र महिला दुवैमा हक्कीको लोकप्रियता समान देखिएको छ।

उमेर समूहका आधारमा १८ देखि २४ वर्षका युवाहरूमा हक्कीको क्रेज सबैभन्दा बढी अर्थात् ४३ प्रतिशत पाइएको छ भने अन्य उमेर समूहमा यो प्रतिशत केही कम छ। 

जेडवाबका अनुसार २५ वर्षपछि मानिसहरूको खेलकुद प्राथमिकतामा विविधता आउने गर्दछ। २५ देखि ४४ वर्ष उमेर समूहका क्यानेडालीहरूले हक्कीका साथै फुटबल, बास्केटबल, बेसबल र फुटबलमा आफ्नो ध्यान बाँड्ने गरेको देखिएको छ, जसले व्यावसायिक खेल र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको व्यापक पहुँचलाई दर्साउँछ।

अर्कोतर्फ युवा क्यानेडालीहरूमा फुटबल मन पराउनेको संख्या १३ प्रतिशत मात्र छ भने २४ वर्षभन्दा माथिका अन्य उमेर समूहमा यो संख्या अझै न्यून छ। 

१८ देखि २४ वर्षका युवाहरूमा फुटबलप्रतिको आकर्षण बढ्नुमा विश्वकपमा क्यानाडाको सहभागिता र युवा पुस्तामा खेल खेल्ने तथा हेर्ने बीचको प्रत्यक्ष सम्बन्ध प्रमुख कारण रहेको बताइएको छ।

भौगोलिक आधारमा अन्टारियो बाहेक क्यानाडाका अन्य सबै क्षेत्रहरूमा हक्कीको स्पष्ट दबदबा देखिन्छ। एटलान्टिक क्यानाडामा ३६ प्रतिशत, क्युबेकमा ४५ प्रतिशत, म्यानिटोबा, सास्काचेवान र अल्बर्टा क्षेत्रमा ४० प्रतिशत तथा ब्रिटिस कोलम्बियामा ३७ प्रतिशत मानिसले हक्की मन पराउँछन्। तर अन्टारियोमा भने हक्कीको लोकप्रियता घटेर २९ प्रतिशतमा सीमित भएको छ।

अन्टारियोमा विभिन्न खेलकुदका विकल्पहरू उपलब्ध हुनु, जनसांख्यिकीय विविधता र पहिलो तथा दोस्रो पुस्ताका आप्रवासी परिवारहरूको ठूलो संख्याका कारण खेलकुद प्राथमिकताहरू फरक पाइएका हुन्। 

यहाँका बासिन्दाहरू हक्की, बेसबल, बास्केटबल र फुटबल जस्ता धेरै व्यावसायिक खेलहरूसँग जोडिएका छन्, जसले गर्दा हक्की बाहेकका खेलहरू परम्परागत रूपमा बढी लोकप्रिय छन्।

क्युबेकमा हक्की सबैभन्दा अगाडि छ भने अंग्रेजी भाषी क्यानेडालीहरूमा बेसबल बढी रुचाइएको छ। अंग्रेजी वा फ्रान्सेली बाहेकका अन्य मातृभाषा भएका क्यानेडालीहरूमा भने फुटबल सबैभन्दा बलियो देखिएको छ। 

टोरन्टोमा ब्लु जेज टोलीको उपस्थितिले गर्दा अन्टारियोमा क्यानाडाका अन्य क्षेत्रको तुलनामा बेसबल निकै लोकप्रिय बनेको छ।

शैक्षिक योग्यताले पनि खेलकुदको रोजाइमा भिन्नता ल्याएको सर्वेक्षणले देखाएको छ। हाई स्कुलसम्म अध्ययन गरेकाहरूमा हक्कीको लोकप्रियता ४१ प्रतिशत, कलेज स्नातकमा ३७ प्रतिशत र विश्वविद्यालयको डिग्री हासिल गरेकाहरूमा ३१ प्रतिशत छ। 

फुटबलको हकमा भने ठीक उल्टो नतिजा देखिएको छ, जहाँ विश्वविद्यालय शिक्षितहरूमा १२ प्रतिशत, कलेज स्नातकमा ६ प्रतिशत र हाई स्कुल उत्तीर्ण गरेकाहरूमा ७ प्रतिशत लोकप्रियता छ।

विश्वविद्यालय स्तरको शिक्षा हासिल गरेका क्यानेडालीहरू प्रायः ठूला र विविध सहरहरूमा बसोबास गर्ने भएकाले उनीहरूमा अन्तर्राष्ट्रिय खेलहरू, विशेष गरी फुटबल र बास्केटबलप्रतिको आकर्षण बढी हुने गर्दछ। 

सर्वेक्षण अनुसार वार्षिक ८० हजारदेखि ९९ हजार डलर र सोभन्दा बढी आम्दानी भएका उच्च आय समूहका क्यानेडालीहरू खेलकुद बढी पछ्याउने गर्छन्। यस सर्वेक्षणको मार्जिन अफ एरर प्लस-माइनस २.५ प्रतिशत छ।

तपाईंको प्रतिक्रिया