• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

रोनाल्डोद्वारा अन्तिम विश्वकप खेलिरहेको घोषणा

नेपालTouch
सोमबार असार २२, २०८३ | Monday July 06,2026

अन्टारियो। पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन्।

स्पेनविरुद्धको महत्वपूर्ण नकआउट (राउन्ड अफ १६) खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले यस्तो बताए।

विश्वभरका फुटबल प्रशंसकका लागि निकै चासोका साथ हेरिएको यस पत्रकार सम्मेलनमा रोनाल्डोले आफूले बाँकी रहेका खेललाई पूर्ण रूपमा उपभोग गर्न चाहेको उल्लेख गरे।

खेलका क्रममा उनले आफूलाई माया गर्ने मानिस र प्रतियोगिताका क्रममा बटुलेका मीठा स्मृति सधैं मानसपटलमा रहने भावना व्यक्त गरे।

यसअघि पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युइएफए नेसन्स लिगको उपाधि जितेपछि पनि रोनाल्डोले यस्तै संकेत गरेका थिए।

डलासस्थित रङ्गशालामा भएको २५ मिनेट लामो पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उनको सन्यासका बारेमा निरन्तर प्रश्न सोधेका थिए।

जवाफमा रोनाल्डोले ठट्टा गर्दै पत्रकारले आफूलाई बिदाइ गर्न हतार गरिरहेको बताए।

आफ्नो खेल जीवनप्रति कृतज्ञता प्रकट गर्दै रोनाल्डोले खेल जगतबाट आफूले सोचेभन्दा बढी सफलता र सम्मान पाएको बताए।

उनले विश्वकप जित्नु वा नजित्नुले आफ्नो परिचयमा कुनै फरक नपार्ने भए पनि टोलीको जितका लागि आफू र सम्पूर्ण टिम प्रयासरत रहेको स्पष्ट पारे।

अन्तर्राष्ट्रिय फुटबलमा लामो समयदेखि सक्रिय रोनाल्डोले उमेरको गतिसँगै आफ्नो खेल शैलीमा परिवर्तन ल्याएको स्वीकार गरे।

आफू पहिले जस्तो खेलाडी नरहे पनि गोल गर्ने क्षमता र भोक भने अझै कायमै रहेको उनले बताए।

यसअघि क्रोएसियाविरुद्धको खेलमा रोनाल्डोकै गोलको मद्दतले पोर्चुगलले २-१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो।

जारी प्रतियोगितामा उनले तीन गोल गरिसकेका छन् भने विश्वकपमा उनको कुल गोल सङ्ख्या ११ पुगेको छ।

 

तपाईंको प्रतिक्रिया