• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

क्यानाडा र मोरक्को भिड्दै, कसले मार्ला बाजी ?

नेपालTouch
शनिबार असार २०, २०८३ | Saturday July 04,2026

अन्टारियो। फिफा विश्वकप २०२६ मा राउण्ड अफ ३२ को रोमान्चक खेलहरू सकिएसँगै आज रातीदेखि नै अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलका खेलहरू सुरु हुँदैछन्।

नकआउट चरण भएकाले एक खेल हार्दा नै विश्वकपबाट बाहिरिने दबाबका बीच अबका हरेक खेल फाइनल जस्तै बनेका छन्।

राउण्ड अफ ३२ मा निकै चर्को प्रतिस्पर्धा र अप्रत्यासित नतिजाहरू देखिएकाले अन्तिम १६ का खेलहरू थप रोमान्चक हुने अनुमान छ।

अन्तिम १६ को पहिलो खेलमा सहआयोजक क्यानाडाले चार वर्षअघि सेमिफाइनल पुगेको मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ।

सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुगेर सनसनी मच्चाएको अफ्रिकन जायन्ट्स मोरक्को र घरेलु मैदानमा पहिलो पटक विश्वकप आयोजना गर्दै इतिहास रचिरहेको क्यानाडाबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। यो खेल नेपाली समय अनुसार आज राती पौने ११ बजे अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ।

पहिलो पटक नकआउट चरणमा पुगेको क्यानाडाले राउण्ड अफ ३२ मा दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

मोरक्कोले भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उच्च मनोबलका साथ यहाँसम्मको यात्रा तय गरेको छ। फिफा वरियतामा मोरक्को सातौँ र क्यानडा ३०औँ स्थानमा छन्। घरेलु मैदानमा लगातार इतिहास बनाइरहेको क्यानडा मोरक्कोलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ।

अमेरिका र मेक्सिकोसँगै सहआयोजकको रूपमा पहिलो पटक विश्वकप आयोजना गरिरहेको क्यानाडाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको छ। समूह ‘बी’ मा रहेको क्यानडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो।

त्यसपछि जोनाथान डेभिडको ह्याट्रिक मद्दतमा कतारमाथि ६-० को सानदार जित निकाल्दै विश्वकपमा पहिलो जित दर्ता गर्‍यो। अन्तिम खेलमा स्विटजरल्यान्डसँग २-१ ले पराजित भए पनि क्यानडा समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अर्कोतर्फ मोरक्को यस संस्करणमा हालसम्म अपराजित छ। पहिलो खेलमै पाँच पटकको च्याम्पियन ब्राजिलसँग १-१ को बराबरी खेलेको मोरक्कोले त्यसपछि स्कटल्यान्डलाई १-० र हाइटीलाई ४-२ ले पराजित गर्‍यो।

ब्राजिल समान ७ अंक जोडे पनि गोल अन्तरमा पछि पर्दै मोरक्को समूह ‘सी’ को उपविजेता बनेको थियो। नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउन गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गरे।

क्यानाडा र मोरक्को फिफा विश्वकपको इतिहासमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। चार वर्षअघि कतार विश्वकपको समूह चरणमा भेट हुँदा मोरक्को २-१ ले विजयी भएको थियो। समग्रमा यी दुई टोलीबीच भएका चार भेटमा मोरक्को अपराजित छ। मोरक्कोले ३ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ।

क्यानाडाका नियमित कप्तान अल्फोन्सो डेभिस पूर्ण रूपमा फिट नभए पनि अघिल्लो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए। मोरक्को विरुद्ध उनलाई प्रशिक्षक मार्सले पहिलो रोजाइमा खेलाउने वा नखेलाउने निर्णय गर्न बाँकी छ।

क्यानाडाका इस्माइल कोने भने चोटका कारण टोलीबाट बाहिरिएका छन्। मोरक्कोको टोलीमा सबै खेलाडी फिट छन्। नाएफ एगुएर्ड र अब्दे इजालजोउलीलाई लिएर केही शंका भए पनि प्रशिक्षक मोहमेद ओउहेबीका लागि छनोट गर्न सबै खेलाडी उपलब्ध हुनेछन्।

क्यानाडाका कप्तान अल्फोन्सो डेभिसको गति मोरक्कोको रक्षापङ्क्तिका लागि मुख्य चुनौती बन्न सक्छ। मिडफिल्डर स्टेफेन इस्ताक्यियो र कतार विरुद्ध ह्याट्रिक गरेका फरवार्ड जोनाथान डेविड क्यानाडाका मुख्य हतियार हुन्।

मोरक्कोका लागि उत्कृष्ट लयमा रहेका इस्माइल साइबरी, कप्तान अचरफ हाकिमी र ब्राहिम डियाज खेलको नतिजा बदल्न सक्ने खेलाडीका रूपमा मैदान उत्रनेछन्।

तपाईंको प्रतिक्रिया