अन्टारियोमा विद्यार्थीको उपस्थिति र सहभागिताका आधारमा नम्बर दिइने
नेपालTouch
अन्टारियो। क्यानाडाको अन्टारियो प्रान्त सरकारले आगामी सेप्टेम्बर महिनादेखि विद्यालयहरूमा नयाँ र अनिवार्य नियमहरू लागु गर्ने भएको छ।
अन्टारियोका शिक्षा मन्त्री पल क्याल्यान्ड्राले माध्यमिक तहका विद्यार्थीको अन्तिम मूल्याङ्कनमा कक्षाको उपस्थिति र सहभागितालाई पनि अनिवार्य रूपमा जोड्ने घोषणा गरेका छन्।
शिक्षकहरूलाई कक्षाकोठामा राम्रो नियन्त्रण कायम गर्न र विद्यार्थीले पाठ बुझेको सुनिश्चित गर्न यो व्यवस्था ल्याइएको सरकारले जनाएको छ।
नयाँ नियम अनुसार कक्षा ९ र १० का विद्यार्थीको अन्तिम नतिजामा ६५ प्रतिशत अङ्क कक्षाको कार्य, २० प्रतिशत अङ्क अन्तिम मूल्याङ्कन र १५ प्रतिशत अङ्क उपस्थिति तथा कक्षाको सहभागिताका आधारमा तय गरिनेछ।
कक्षा ११ र १२ का विद्यार्थीका लागि ६५ प्रतिशत अङ्क कक्षाको कार्य, २५ प्रतिशत अङ्क अन्तिम मूल्याङ्कन र १० प्रतिशत अङ्क उपस्थिति तथा सहभागिताका लागि छुट्याइएको छ।
यसैगरी अङ्ग्रेजी, गणित र विज्ञान जस्ता मुख्य विषयहरूमा लिखित परीक्षा समेत अनिवार्य गरिएको छ।
नयाँ मापदण्ड अनुसार दुई वा सोभन्दा कम कक्षा छोड्ने र नियमित सहभागी हुने विद्यार्थीले उपस्थिति बापत शतप्रतिशत अङ्क पाउने छन् भने ९ वटा भन्दा बढी कक्षा छोड्ने विद्यार्थीले ५० प्रतिशत भन्दा कम अङ्क मात्र पाउने छन्।
यसका साथै ओन्टारियो सरकारले सबै स्कुल बोर्डहरूमा एकरूपता ल्याउनका लागि ६ करोड डलर खर्च गरेर 'एड्विन' नामक डिजिटल लर्निङ प्लेटफर्म उपलब्ध गराउने भएको छ।
यो प्रविधिले शिक्षकहरूको समय बचाउने र विद्यार्थीको प्रगतिको तथ्याङ्क राख्न सहयोग पुर्याउने बताइएको छ। यद्यपि शिक्षकहरूलाई यो प्लेटफर्म प्रयोग गर्नैपर्ने अनिवार्य भने गरिएको छैन।
यता शिक्षक युनियनहरूले भने सरकारको यो कदमको विरोध गरेका छन्। अन्टारियो सेकेन्डरी स्कुल टीचर्स फेडरेसन र एलिमेन्टरी टीचर्स फेडरेसनका पदाधिकारीहरूले विद्यालयहरूमा बजेट कटौती र जनशक्तिको अभाव भइरहेका बेला सरकारले यस्ता खुद्रा प्रविधि र केन्द्रिकृत नियम ल्याएर मुख्य समस्याबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन्।
विपक्षी नेताहरूले पनि नयाँ सफ्टवेयर सिक्न भन्दा कक्षाकोठामा विद्यार्थीको सङ्ख्या घटाउन र मानसिक स्वास्थ्यमा लगानी बढाउन आवश्यक रहेको बताएका छन्।

सम्बन्धित खबर














.png)

.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया