• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

युनिभर्सिटी अफ सास्काचेवानको विद्यार्थी संगठनमा नेपाली विद्यार्थी निर्वाचित

नेपालTouch
शनिबार जेठ ९, २०८३ | Saturday May 23,2026

सास्काटुन। क्यानाडाको प्रतिष्ठित युनिभर्सिटी अफ सास्काचेवानको ग्र्याजुएट स्टुडेन्ट्स एसोसिएसन (GSA) को उपाध्यक्ष पदमा नेपाली विद्यार्थी रुपेश आचार्य निर्वाचित भएका छन्। सो विश्वविद्यालयमा स्नातकोत्तर र पीएचडी तहमा अध्ययनरत विद्यार्थीहरूको साझा संगठनको निर्वाचनमा उनी विजयी भएका हुन्।

एकाडेमिक एण्ड स्टुडेन्ट अफेयर्सको उपाध्यक्षमा विजयी भएपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आचार्यले आफूलाई विश्वास, समर्थन र अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेका छन्। "बलियो विद्यार्थी आवाजले नै बलियो विश्वविद्यालयको निर्माण गर्छ। म विद्यार्थीका समस्या सुन्न, नेतृत्व गर्न र उनीहरूका आवश्यकता पूरा गर्न उत्साहित छु" उनले भने, "मेरो काम अब सुरु भइसकेको छ।"

नेपालमा पनि विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थामा आबद्ध रहिसकेका आचार्यले अन्तर्राष्ट्रिय मञ्चको यति ठूलो संस्थामा उम्मेदवारी दिनु र नेतृत्व तहमा पुग्नुलाई नेपाली समुदायकै लागि गर्वको विषय भएको नेपाल टचसँग बताए। 

आफ्नो कार्यकाल र जिम्मेवारीबारे चर्चा गर्दै उनले भने, "विश्वविद्यालयको महत्त्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी हुन पाउनु मेरा लागि सिक्ने र व्यक्तित्व विकास गर्ने ठूलो अवसर हो। यस जितले नेपाली विद्यार्थीहरू सक्षम छन्, नेतृत्व गर्न सक्छन् र अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान दिन सक्छन् भन्ने बलियो सन्देश दिएको छ।"

आचार्यले आफ्नो कार्यकालमा नेपाली विद्यार्थीहरूको आवाजलाई अझ बलियो बनाउने र नेपाली समुदायलाई सकारात्मक तथा जिम्मेवार रूपमा चिनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

विद्यार्थी संगठन र नेतृत्वको भूमिका

विद्यार्थी नेताको मुख्य काम विद्यार्थीहरूको साझा आवाज बन्नु रहेको उनको बुझाइ छ। उनका अनुसार विद्यार्थीहरूको शैक्षिक, सामाजिक, मानसिक स्वास्थ्य तथा समग्र हितसँग सम्बन्धित विषयमा काम गर्ने, उनीहरूका समस्या र आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा विश्वविद्यालय प्रशासन र विद्यार्थीबीच पुलको काम गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उनले उल्लेख गरे।

"विद्यार्थीका समस्या, आवश्यकता र सुझावलाई संगठित रूपमा उठाउन र समाधानको पहल गर्न यस्ता संगठनहरू अपरिहार्य हुन्छन्। यसले विद्यार्थीहरूमा सहभागिता, नेतृत्व क्षमता र एकताको भावना विकास गर्न पनि मद्दत गर्छ", विद्यार्थी संगठनको आवश्यकतामाथि प्रकाश पार्दै उनले भने।

क्यानेडियन विश्वविद्यालयको उच्च नेतृत्व तहमा नेपाली युवाको यो पहुँचले आगामी दिनमा अन्य नेपाली विद्यार्थीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व लिन ठूलो प्रेरणा मिल्ने विश्वास लिइएको छ।

तपाईंको प्रतिक्रिया