• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

सेन्ट क्याथरिन्समा नेपाली भाषा कक्षाको पहिलो दीक्षान्त समारोह

नेपालTouch
शुक्रबार जेठ २२, २०८३ | Friday June 05,2026
फोटो: आयोजक

सेन्ट क्याथरिन्स। नायगरा क्षेत्रमा नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाली भाषा कक्षाको पहिलो दीक्षान्त समारोह सेन्ट क्याथरिन्सस्थित सेन्ट जोन लर्निङ सेन्टरमा हालै सम्पन्न भएको छ।

यो कक्षा नायगरा क्याथोलिक डिस्ट्रिक्ट स्कूल बोर्डको सम्बन्धन लिएर नायगरा नेपाली समाजले सञ्चालन गरेको थियो। सन् २०२५ को सेप्टेम्बरदेखि २०२६ को मे महिनासम्म सञ्चालन भएको उक्त कार्यक्रममा ५ देखि १२ वर्ष उमेर समूहका २३ जना बालबालिका सहभागी थिए।

समारोहमा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो। समाजका वरिष्ठ सदस्य महेश्वर बिष्टले दीक्षित बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। साथै, कक्षाकी प्रशिक्षक शर्मिला भट्टलाई कार्यक्रमको सफलतामा पुर्‍याएको समर्पित सेवा र महत्त्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।

समाजका सञ्चालक समिति सदस्यहरू दीपक कुमार, दीपेश पोखरेल र भानु घिमिरेले प्रशिक्षक तथा अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै नयाँ पुस्तामा नेपाली भाषा, संस्कृति र पहिचान जोगाइराख्न उनीहरूको योगदानको प्रशंसा गरे।

ग्रीष्मकालीन बिदा पश्चात् २०२६ को सेप्टेम्बरदेखि दोस्रो वर्षको कक्षा पुनः सञ्चालन हुने जानकारी समाजले समुदायभित्र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका प्रयासहरूलाई निरन्तरता दिइने बताएको छ।

तपाईंको प्रतिक्रिया