• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

क्यानाडाका ती बोर्डिङ स्कुलहरू, नेपालका यी बोर्डिङ स्कुलहरू

हुकुम बराल

बुधबार जेठ १३, २०८३ | Wednesday May 27,2026

आज हामीले चिनेको विशाल भू-भाग भएको क्यानाडा, जुन उत्तर अमेरिकाको एक भाग हो, मूलतः आदिवासीहरू (पहिले 'इन्डियन' भनेर चिनिने) को स्वामित्वमा थियो। युरोपेलीहरू यहाँ आउनुअघि, आदिवासीहरूको आफ्नै जीवनशैली थियो। उनीहरू माछा मार्ने, जनावारहरूको सिकार गर्ने, जंगली खानेकुरा संकलन गर्ने र खेती गरेर जीवनयापन गर्थे। उनीहरूको आफ्नै आध्यात्मिक विश्वास प्रणाली र विशिष्ट संस्कृति पनि थियो। उनीहरूले आफ्ना बालबालिकालाई अनुभव र कथा–कथनमार्फत शिक्षा दिन्थे। तर, युरोपेलीहरूका बस्तीहरू बढ्दै जाँदा, भूमिका मूल स्वामीहरूले चिनेको जीवन फेरि कहिल्यै पहिले जस्तो रहेन।

१७औँ शताब्दीको सुरुवातसँगै क्यानाडाको उपनिवेशीकरण सुरु भयो। युरोपेलीहरूको द्रुत वृद्धि र उनीहरूको पश्चिमतर्फको विस्तारले सांस्कृतिक टकरावहरू निम्त्यायो। युरोपेलीहरूले आफूलाई आदिवासीहरूभन्दा सबै हिसाबले श्रेष्ठ मान्थे। उनीहरूले आफ्नै संस्कृति, दृष्टिकोण, मूल्य र मान्यतालाई उच्च ठान्थे। उनीहरूलाई लाग्थ्यो कि उनीहरूको शिक्षापद्धतिले आदिवासीहरूलाई 'प्रबुद्ध' बनाउनेछ र उनीहरूलाई युरोपेली समाजमा मिसिन मद्दत गर्नेछ। तर, वास्तवमा आवासीय विद्यालय (Residential Schools) स्थापना गर्ने उद्देश्य आदिवासी बालबालिकामा रहेको 'इन्डियनपन' हटाउनु थियो। यसको मतलब उनीहरूको संस्कृति, विश्वास र जीवनशैली समाप्त पार्नु थियो।

सन् १६२० मा फ्रान्सेली मिसनरीहरूले बोर्डिङ स्कुलको रूपमा आवासीय विद्यालय प्रणालीको सुरुवात गरे, तर यो सफल भएन। धेरै आदिवासी अभिभावक आफ्ना बालबालिकालाई त्यहाँ पठाउन इच्छुक थिएनन्। पठाइएका केही बालबालिकाहरू पनि मौका पाएपछि घर फर्किन्थे। त्यसैले त्यो प्रयोग बन्द गरियो। तर, सन् १८३० को दशकपछि अन्य चर्चका मिसनरीहरूले पुनः बोर्डिङ स्कुलको सुरुवात गरे।

अन्ततः, सन् १८८३ मा प्रधानमन्त्री तथा इन्डियन मामिला मन्त्री सर जोन ए. म्याक्डोनाल्डले आदिवासी बालबालिकालाई आत्मसात् गर्न आवासीय विद्यालय स्थापना गर्न स्वीकृति दिए। चर्चहरू सरकारसँगको सहकार्यमा थिए। विद्यालयको दैनिक सञ्चालन गैर–आदिवासी चर्चहरूले गर्थे र उद्देश्य थियो आदिवासीहरूलाई क्रिश्चियन बनाउनु। सन् १९२७ सम्म आइपुग्दा ७७ वटा आवासीय विद्यालयमा ६,६४१ बालबालिका थिए। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विरलै भेट्न दिइन्थ्यो। यी विद्यालयहरूमा जीवन अत्यन्त कठोर र नियन्त्रणकारी थियो। विद्यार्थीहरूको कुनै व्यक्तिगत स्वतन्त्रता थिएन। उनीहरूको आवाज सुन्ने कोही थिएन। धेरै बालबालिका पहिलो पटक विद्यालय देख्दा उत्साहित भए, तर भित्र प्रवेश गरेपछि वातावरण पूरै फरक थियो। नियम कडा थिए, वातावरण डरलाग्दो थियो। शिक्षक र ननहरूले कडा अनुशासन लागू गर्थे। बच्चाहरूलाई डरका कारण नियन्त्रण गरिन्थ्यो।

अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विरलै भेट्न दिइन्थ्यो। यी विद्यालयहरूमा जीवन अत्यन्त कठोर र नियन्त्रणकारी थियो। विद्यार्थीहरूको कुनै व्यक्तिगत स्वतन्त्रता थिएन।

बालबालिकाको संस्कृति हटाउन उनीहरूको परम्परागत लुगा खोसियो, कपाल काटियो, र उनीहरूको नाम परिवर्तन गरेर क्रिश्चियन नाम दिइयो। कतिपयलाई त नामको सट्टा नम्बरले बोलाइन्थ्यो। यो उनीहरूको पहिचान खोस्ने स्पष्ट प्रयास थियो। दाजुभाइ दिदीबहिनीहरूलाई पनि सँगै बस्न वा कुरा गर्न अनुमति थिएन। उनीहरूले आपसमा सङ्केत भाषा विकास गर्नुपर्‍यो। अनुशासन अत्यन्त कडा थियो, र सानै गल्तीमा पनि सजाय दिइन्थ्यो। विद्यार्थीहरूलाई स्थानीय भाषा बोल्न निषेध थियो। अङ्ग्रेजी मात्रै अनिवार्य थियो। नियम उल्लङ्घन गर्दा कडा सजाय दिइन्थ्यो। विद्यार्थीहरूलाई अङ्ग्रेजी अपनाउन बाध्य पारिन्थ्यो। उनीहरूलाई काममा पनि लगाइन्थ्यो—केटाहरू भवन निर्माण, खेती र अन्य काममा; केटीहरूले खाना पकाउने र घरायसी काममा सघाउनु पर्थ्यो। विद्यालय सञ्चालन गर्न पैसा अभाव भएकाले बालबालिकालाई सस्तो श्रमका रूपमा प्रयोग गरिन्थ्यो।

खाना पनि पर्याप्त र पोषणयुक्त थिएन। धेरैजसो बालबालिका भोकै रहन्थे। सडेको र किरा परेको खाना दिइन्थ्यो। कतिपयले डर र भोकका कारण काँचो आलु चोरेर खान्थे। केही बालबालिका नजिकका आफन्तकहाँ खाना खान भाग्थे। तर यसमा ठूलो जोखिम थियो। उनीहरू बिरामी पर्ने सम्भावना पनि धेरै थियो। यदि बालबालिकालाई आफ्ना अभिभावकसँग बस्न दिएर विद्यालय जाने अवसर दिइएको भए, उनीहरूको अवस्था राम्रो हुने थियो। सांस्कृतिक, भाषिक र आध्यात्मिक पक्ष विद्यालयमा समावेश गरिएको भए, उनीहरूको विकासमा सहयोग पुग्थ्यो। यस्ता अमानवीय व्यवहारका बावजुद आदिवासीहरू धैर्यवान् रहे। उनीहरूले आशा गुमाएनन्—एक दिन परिवारसँग पुनर्मिलन हुने आशामा।

त्यस्तो अमानवीय ब्यवहारका कारण धेरै बालबालिकाहरू बिमारी भए। धेरैको मृत्यु भयो। मृत्युको खबर पनि परिवारलाई दिइएन। मृतकको अन्तिम संस्कार पनि सम्मानपूर्वक गरिएन। त्यसबारेमा चर्च, सरकार र आदिवासी समुदाय जानकार थियो। तर, मृतकका बारेमा राम्री खोजी गरिएन। सन् २०२१ देखि, ग्राउन्ड–पेनेट्रेटिङ राडार र फरेन्सिक विश्लेषण प्रयोग गरेर गरिएको विस्तृत खोजीमार्फत क्यानाडाभरिका पूर्व आवासीय विद्यालय स्थलहरूमा बालबालिकाका हजारौँ सम्भावित चिह्नविहीन चिहानहरू (कसको शव हो भनेर नखुलाइएका चिहान) र आंशिक कङ्काल अवशेषहरू फेला परे। यी खोजहरू दशकौँ लामो पैरवीपछि सम्भव भएका थियो। आफ्ना हराएका सहपाठीहरूबारे आदिवासी समुदायका अन्य  व्यक्तिहरूले धेरै पहिलेदेखि नै चासो र चिन्ता व्यक्त गर्दै आएका थिए। सत्य तथा मेलमिलाप आयोग (टिआरसी) का अनुसार, सङ्घीय रूपमा वित्तपोषित र चर्चद्वारा सञ्चालित यी संस्थाहरूमा पढ्दा करिब ४,००० देखि ६,००० बालबालिकाको मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि केही शोधकर्ताहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्छ। सन् २०२१ र २०२२ मा पूर्व आवासीय विद्यालयहरूमा स्वदेशी बालबालिकाका चिह्नविहीन चिहानहरू फेला परेपछि क्यानाडाको सरकार र क्याथोलिक चर्चले औपचारिक रूपमा माफी मागेका थिए। सन् २०२५ मा पोप फ्रान्सिसले ऐतिहासिक क्यानाडा भ्रमणका क्रममा आवासीय विद्यालयहरूमा गरिएको कृत्यका लागि माफी मागे। अहिले भने क्यानाडाको स्कुल शिक्षाको कथा फेरिइसकेको छ। आदिवासी समुदायप्रति गरिने व्यवहार फेरिएको छ।

सन् २०२१ र २०२२ मा पूर्व आवासीय विद्यालयहरूमा स्वदेशी बालबालिकाका चिह्नविहीन चिहानहरू फेला परेपछि क्यानाडाको सरकार र क्याथोलिक चर्चले औपचारिक रूपमा माफी मागेका थिए।

अब नेपालका 'बोर्डिङ' स्कुलका कुरा गरौँ। मैले स्कुल पढ्ने उमेरमा बोर्डिङको अनुभव गर्न नपाए पनि, मास्टर्स डिग्रीको विद्यार्थी रहँदा भने बोर्डिङ स्कुलमा पढाउने मौका मिल्यो। पहिलो पटक ‘एबिसी इन्टरनेसनल सेकेण्डरी बोर्डिङ’ नाम लेखिएको स्कुलमा अन्तर्वार्ता दिन गएँ। नाम ‘इन्टरनेसनल’ भएकाले डर लाग्दै गएँ—कतै विदेशी भाषामा बोल्ने मान्छेले अन्तर्वार्ता लिने हुन् कि? कतै प्रश्नै नबुझिरेर ट्वाल्ल पर्नु पर्ने हो कि भन्ने चिन्ताले दिमाग भरिएको थियो। पुग्दा थाहा भयो—एक जना झापाली प्रधानाध्यापक र अर्का धादिङे निर्देशक रहेछन्।

अन्तर्वार्ता गज्जब भयो। सबैभन्दा बढी तलब र आवासको व्यवस्थासहित विज्ञान शिक्षकका रूपमा जागिर पाएँ। त्यसपछि थाहा भयो—बोर्डिङ स्कुल हुन बोर्डर बस्ने होस्टल नै चाहिँदो रहेनछ; दुई कोठे भवनको छानोमा ठुलो साइनबोर्ड 'बोर्डिङ स्कुल' टाँसेपछि मनलाग्दो भर्ना शुल्क, मासिक शुल्क, ड्रेस, स्टेसनरीदेखि खाजाखानासम्मबाट राम्रै आम्दानी बटुल्न सकिँदो रहेछ।

माओवादी द्वन्द्वको असरले गाउँ छोडेर शहरमा आन्तरिक बसाइँको अवस्था थियो। त्यसले गर्ना पनि बोर्डिङ स्कुलहरू च्याउसरी उम्रिएका थिए। द्वन्द्वकालभरि माओवादीहरूले आर्थिक दोहन गरे—धम्क्याउँदै पैसा असुल्दै। धेरै राजनीतिक दलहरूले निजी स्कुल बन्द गर्नेदेखि नियमन गर्नेसम्मका नारा लगाए, ती नारा आजसम्म जीवित छन्; बोर्डिङ स्कुल बढ्दै गएर निजी कलेज बने, दोहन जारी नै छ।

विगतमा हेर्ने हो भने सीमित सङ्ख्यामा बोर्डिङ स्कुल थिए। इङ्गलिस मिडियममा पढाइ हुने भएकाले त्यहाँ पढ्ने विद्यार्थी सरकारी स्कुलका भन्दा फरक ग्रहका जस्तै लाग्थे। त्यति महँगो स्कुलमा शुल्क तिरेर पढाउन सक्ने बाउ-आमाको आर्थिक स्रोत चाहिँ के होला? वैधानिक अर्जन कि भ्रष्टाचारको पैसा होला? त्यहाँ पढाउनु रहर कि बाध्यता होला? यस्ता प्रश्नले सधैँ पछ्याउँथे। मिसनरी स्कुलहरू जस्तै सेन्ट जेभियर्स र सेन्ट मेरिज त धार्मिक र सांस्कृतिक मिसनमै थिए। विद्यालयबाटै क्रिस्चियन धर्मको प्रचार-प्रसार गर्ने। नाम चलेका अरू बोर्डिङ स्कुलहरूचाहिँ उत्कृष्ट विद्यार्थी छानेर भर्ना लिने अनि मोही पार्दा घिउ धेरै लागे जस्तै एसएलसीमा राम्रो नतिजा देखाएर नयाँ 'ग्राहक'हरू आकर्षित गर्ने धन्दामा छन्। त्यसो नगरून् पो किन, एउटा बच्चा नर्सरीमा भर्ना भएपछि १२ -१५ वर्षसम्म दुहुनु गाई पाइने भाग्यमानी व्यवसाय हो बोर्डिङ स्कुल। त्यसैले त घोटेर पियाएर, कुटेर, माया गरेर, टेस्ट सेन्टर किनेर जसरी भए पनि एसएलसीमा राम्रो नतिजा निकाल्नै पर्यो। उनीहरूको एउटै ध्येय शैक्षिक बजारमा आफ्नो उपस्थिति दरिलो बनिरहोस् भन्ने हो।

त्यसैले त घोटेर पियाएर, कुटेर, माया गरेर, टेस्ट सेन्टर किनेर जसरी भए पनि एसएलसीमा राम्रो नतिजा निकाल्नै पर्यो। उनीहरूको एउटै ध्येय शैक्षिक बजारमा आफ्नो उपस्थिति दरिलो बनिरहोस् भन्ने हो।

क्यानाडाका रेसिडेन्सियल स्कुलहरूमा ब्रिटिसहरूले गरेजस्तै अभ्यास नेपाली बोर्डिङ स्कुलहरूले पनि गरेको पाइन्छ—स्कुलमा नेपाली भाषामा बोल्दा जरिवाना तिर्नुपर्ने। आफूलाई फरक दर्जाको देखाउन क्रिस्चियन संस्कृतिमा भाग लिनुपर्ने, नेपाली चाडपर्वका बिदा कटौती गर्नुपर्ने, बाहिरी पाठ्यसामग्री महँगोमा किन्न लगाइने—यसले नेपाली विद्यार्थीको मानसपटलमै नेपालप्रति घृणा र बाहिरी संस्कृतिप्रति मोह बढाउने काम जानी–नजानी भयो। त्यसले देश छोडेर बाहिर जान प्रेरित गर्‍यो। बोर्डिङ स्कुलमा पढेका धेरैले देशमै बस्नुलाई हीनताबोध गर्न थाले। त्यो पनि हो एउटा कारण हो आज नेपालीहरू विश्वभर छरिएका। शैक्षिक संस्थाका कारण नेपालमा बसेर केही हुँदैन, यो बस्ने ठाउँ नै होइन भन्ने भाष्यको विकास भयो। बाहिर जान नसक्नु असफलता हो भन्ने बुझाइ बढ्दै गयो। त्यो क्रम अहिले पनि रोकिएको छैन।

सार्वजनिक विद्यालयले आफ्नो साख जोगाउन नसक्दा निजी बोर्डिङ स्कुलले फस्टाउने ठाउँ पाए। विद्यालय शिक्षाकै नाममा देशबाट बाहिरिने पैसा देशमै रोक्न चाहिँ निजी स्कुलहरू सफल भए र रोजगारीका अवसर पनि सिर्जना गरे। यस अर्थमा निजी बोर्डिङ स्कुलहरू धन्यवादका पात्र हुन्। तर, देशले दुई प्रकारका जनशक्ति उत्पादन गरी वर्गीय खाडल बनाएको, 'देशमा केही हुँदैन' भन्ने भाष्य तयार पारेको, आफ्नै भाषा र भेषभूषालाई मास्न ठूलो हात रहेको, देखावटी बाह्य संस्कृतिलाई भित्र्याउन मलजल गरेको र यी सबैलाई रोक्न नसकेकोमा नेपाली शासकहरूले पनि एकपटक माफी माग्ने कि? अब आशा गरौँ—जेन जीले नेतृत्व गरेको सरकारले माटो सुहाउँदो र जीविकोपार्जनसँग जोड्न सक्ने शिक्षानीति ल्याओस्, मानिसहरू नेपालमै ब‍सुन, र आफ्नो देशमै बस्नेहरूले हीनताबोध गर्नु नपरोस्।

-लेखक बराल नरक्वेस्ट कलेज, एडमण्टनका एक अध्यापक हुन्।

तपाईंको प्रतिक्रिया