छोराको सांगीतिक प्रस्तुतिमा सोफी र मार्गरेट ट्रुडोको दुर्लभ उपस्थिति, जष्टिनले दिए बधाई
नेपालTouch
अन्टारियो । क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र सोफी ग्रेगोयर ट्रुडोको वैवाहिक सम्बन्ध अन्त्य भएको करिब एक वर्ष पुग्नै लाग्दा उनीहरूको परिवार एक विशेष सांगीतिक अवसरमा पुनः चर्चाको केन्द्रमा आएको छ।
राजधानी अटवामा आयोजित एक विशेष कार्यक्रममा ट्रुडोका १८ वर्षीय जेठा छोरा जेभियरले आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गरेका छन्। छुट्टाछुट्टै बस्ने ट्रुडो दम्पतीलाई छोराको सांगीतिक प्रस्तुतिले नजिक्याएको हो।
यस अवसरमा सोफी ग्रेगोयर र उनकी सासु अर्थात् क्यानाडाकी पूर्व प्रथम महिला मार्गरेट ट्रुडो सँगै देखिएका हुन्।
मार्गरेट ट्रुडोको यो सार्वजनिक उपस्थिति निकै दुर्लभ मानिएको छ जहाँ उनले आफ्नो नातिको हौसला बढाउन पूर्व बुहारी सोफीसँगै समय बिताएको देखियो।
जेभियरले हालै अटवाको टीडी प्लेस एरेनामा अटवा ब्ल्याकज्याक्सको बास्केटबल खेलको मध्यान्तरमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
'जेभ' नामबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनले मञ्चमा प्रभावशाली कला प्रदर्शन गर्दा दर्शकदीर्घामा रहेकी सोफी र मार्गरेटले ताली बजाएर समर्थन गरेका थिए।
सोफी र मार्गरेटबीचको सुमधुर सम्बन्धले सञ्चारमाध्यममा निकै चर्चा पाएको छ जसले पारिवारिक विग्रहका बाबजुद पनि उनीहरूबीचको भावनात्मक एकता कायमै रहेको संकेत गर्दछ।
यद्यपि, छोराको यो महत्वपूर्ण क्षणमा प्रधानमन्त्री जस्टिन ट्रुडो भने भौतिक रूपमा उपस्थित हुन सकेनन्। कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि एक 'गर्विलो पिता' का रूपमा उनले सामाजिक सञ्जालमार्फत छोराको खुलेर प्रशंसा गरेका छन्।
ट्रुडोले इन्स्टाग्राममा छोराको रिहर्सलको भिडियो साझा गर्दै जेभियरको कडा मिहिनेत र कलात्मक रुचिको कदर गरेका हुन्। उनले आफ्ना छोराले संगीतमा देखाइरहेको लगावप्रति गर्व महसुस गरेको उल्लेख गर्दै भविष्यका लागि शुभकामना समेत दिएका छन्।
जेभियरले पछिल्लो समय क्यानडाको संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेका छन्। उनले गत वर्ष मात्र आफ्नो पहिलो एकल गीत 'टिल द नाइट्स डन' सार्वजनिक गरेका थिए भने हालै उनका नयाँ गीतहरू समेत बजारमा आएका छन्।
राजनीतिको केन्द्रमा रहेको परिवारको सदस्य भए पनि जेभियरले आफ्नै मिहिनेतले कला क्षेत्रमा पाइला चाल्नुलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। छोराको प्रगतिमा बाबु जस्टिन, आमा सोफी र हजुरआमा मार्गरेटको यो संयुक्त समर्थनले ट्रुडो परिवारभित्रको आन्तरिक सामीप्यतालाई फेरि एकपटक उजागर गरेको छ।

सम्बन्धित खबर













.png)


.png)
.png)
.png)









तपाईंको प्रतिक्रिया