• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

टोरन्टो क्षेत्रमा घर किन्दै हुनुहुन्छ? इन्स्पेक्सन गर्न नबिर्सनुहोस्

राम क्षेत्री

सोमबार चैत २३, २०८२ | Monday April 06,2026
-नेपाल टच ग्राफिक्स

सन् २०२० देखि होम इन्स्पेक्सन क्षेत्रमा सक्रिय एक सर्टिफाइड प्रोफेशनल इन्स्पेक्टर (सीपीआई) हुँ। म अपराइट होम इन्स्पेक्सन इन्क, टोरन्टोसँग आबद्ध भई ग्रेटर टोरन्टो क्षेत्रमा दर्जनौं रेसिडेन्सियल प्रोपर्टीज (आवासीय घर) को निरीक्षण गरिसकेको छु।

कन्डोमिनियमदेखि डिट्याच्ड घरसम्मको अनुभवले मलाई विभिन्न निर्माण शैली, उमेर र अवस्थाबारे व्यावहारिक ज्ञान दिएको छ। विशेष गरी क्यानडाको चिसो र हिउँका कारण घरका संरचना र प्रणालीमा पर्ने असरलाई ध्यानमा राखेर निरीक्षण गर्नु आवश्यक हुन्छ।

घर खरिद जीवनकै महत्वपूर्ण आर्थिक निर्णय हो। क्यानडामा घरको मूल्य उच्च र दीर्घकालीन प्रतिबद्धता ठूलो हुन्छ, त्यसैले यस निर्णयमा भविष्यको सुरक्षा, परिवारको स्थायित्व र आर्थिक योजना प्रत्यक्ष रूपमा जोडिन्छ। तर, बाहिरबाट आकर्षक देखिने घरले यसको वास्तविक अवस्था सधैं देखाउँदैन।

धेरै घरहरू पहिलो नजरमा ठिक देखिन्छन्, तर सतहभित्र लुकेका समस्या सामान्य अवलोकनबाट थाहा हुँदैन। फाउन्डेसनमा चिरा वा संरचनात्मक कमजोरीले दीर्घकालीन स्थायित्वमा असर पुर्‍याउन सक्छ। छाना र ड्रेनेज कमजोर भएमा पानी चुहिने वा जम्ने समस्या आउँछ। जाडोमा आइस ड्यामेजले छानामा थप दबाब पुर्‍याउँछ र पानी भित्र पस्न सक्छ।

बिजुली प्रणालीमा पुरानो वायरिङ वा गलत जडानले आगो लाग्ने जोखिम बढाउँछ। प्लम्बिङमा लुकेका चुहावटहरू सुरुमा सामान्य देखिए पनि भित्ताभित्र वा भुइँमुनि ठूलो समस्या बन्न सक्छ। इन्सुलेसनको कमीले घरको तापक्रम सन्तुलन बिगार्छ र ऊर्जा खर्च बढाउँछ। बेसमेन्टमा आर्द्रता, पानी पस्ने समस्या र मोल्डले स्वास्थ्यमा असर पार्छ।

यी सबै पक्षको समयमै निरीक्षण आवश्यक छ, अन्यथा भविष्यमा हजारौं डलर बराबरको मर्मत खर्च हुन सक्छ।

प्रत्येक निरीक्षणमा म आफैंलाई सोध्छु, “यदि यो घर मेरो आफ्नै परिवारले किन्न लागेको भए, म के जान्न चाहन्थेँ?”

व्यवस्थित होम इन्स्पेक्सनले घरका सबै मुख्य संरचना र प्रणालीहरूको मूल्यांकन गर्छ। यसमा फाउन्डेसन, फ्रेमिङ, छाना, ड्रेनेज, बाह्य संरचना, बिजुली, प्लम्बिङ, एचभीएसी प्रणाली, झ्याल, ढोका, भित्ताहरू, भुइँ, इन्सुलेसन, बेसमेन्ट र सुरक्षा उपकरणहरूको जाँच समावेश हुन्छ।

निरीक्षणपछि खरिदकर्तालाई डिजिटल रिपोर्ट प्रदान गरिन्छ। यसमा फोटो, समस्या, जोखिमको स्तर र सिफारिसहरू स्पष्ट हुन्छन्। क्यानडामा प्रायः “इन्स्पेक्सन कन्टिन्जेन्सी” राखिन्छ, जसले निरीक्षणपछि खरिदकर्तालाई निर्णय परिवर्तन गर्ने अधिकार दिन्छ।

निरीक्षणपछि खरिदकर्ताले घरको मूल्यबारे वार्ता गर्न सक्छ, मर्मतको माग गर्न सक्छ वा गम्भीर समस्या देखिएमा सम्झौता रद्द गर्न सक्छ। यसले आर्थिक जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्छ।

एक पेशेवर होम इन्स्पेक्टरले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम गर्छ। यसमा स्ट्यान्डर्ड अफ प्राक्टिस (एसओपी), कोड अफ एथिक्स र निरन्तर पेशागत विकास समावेश हुन्छ। यी मापदण्डहरूले निरीक्षण प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र विश्वसनीय बनाउँछन्।

मेरो काम तीन आधारभूत सिद्धान्तमा आधारित छ- निष्पक्षता, गुणस्तर र विश्वास। मैले सधैं ध्यान दिन्छु—“ग्राहकलाई देखिएको भन्दा नदेखिएको कुरा बुझाउने।”

मेरो लागि होम इन्स्पेक्सन केवल पेशा होइन, जिम्मेवारी हो। प्रत्येक निरीक्षणमा म आफैंलाई सोध्छु, “यदि यो घर मेरो आफ्नै परिवारले किन्न लागेको भए, म के जान्न चाहन्थेँ?” यही सोचले मेरो कामलाई जिम्मेवार र ईमानदार बनाउँछ।

घरको मूल्य केवल बाहिरी स्वरूपमा सीमित हुँदैन। यसको सुरक्षा, स्थायित्व र भविष्यमा लाग्ने खर्च पनि महत्वपूर्ण हुन्छ। पर्याप्त जानकारी बिना गरिएको घर खरिद जोखिमपूर्ण हुन सक्छ।

समयमै गरिएको होम इन्स्पेक्सनले सम्भावित जोखिम पहिचान गर्न, खर्च अनुमान गर्न र सही निर्णय लिन मद्दत गर्छ। मेरो उद्देश्य स्पष्ट छ—ग्राहकलाई सुरक्षित, सूचित र आत्मविश्वासपूर्ण निर्णय लिन सक्षम बनाउने।

तपाईंको प्रतिक्रिया