• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

नेपालको सुरक्षा अवस्थामा सुधार: क्यानेडियन ट्राभल एडभाइजरी

नेपालTouch
बुधबार माघ ८, २०८२ | Wednesday January 21,2026

अटावा। क्यानाडाले नेपाललाई भ्रमण र यात्राका लागि पहिले जस्तै सुरक्षित देशका रूपमा सुचिकृत गरेको छ। ग्लोबल अफेयर्स, क्यानाडाले आजै आफ्नो ट्राभल एडभाइजरीमा परिमार्जन गरेर नेपाललाई पहिले जस्तै सुरक्षित देशको सूचिमा राखेको हो।

कुनै देशको सुरक्षा अवस्थाको चित्रण गर्न क्यानाडाले क्रमश: हरियो, पहेँलो, सुन्तले र रातो रङले वर्गिकरण गर्छ। हरियो सबैभन्दा सुरक्षित र रातो रङ सबैभन्दा असुरक्षित भनेर बुझिन्छ।

गत सेप्टेम्बरमा नेपालमा भएको आन्दोनका क्रममा भएको हिंसात्मक प्रदर्शन र आजनीपछि लामो समयदेखि पहेँलो रङको क्याटेगोरीमा रहेको नेपाललाई घटाएर सुन्तले रङ क्याटेगोरीमा राखिएको थियो। यो सँगै क्यानाडा सरकारको यस्तो कदमको संसारभरीका नेपालीहरूले चिन्ता र आक्रोश व्यक्त गरेका थिए। 

कन्सर्न नेपाल क्यानाडाले नेपाल र क्यानाडाको दौंत्य सम्बन्ध कायम भएको ६१ औं वार्षिक उत्सवको कार्यक्रममा पनि आयोजक  तथा वक्ताहरूले यस विषयमा चिन्ता व्यक्त गरेका थिए। 

यसबीचमा नेपाली राजदूतावास, अटवाले यस विषयमा गरेको प्रयत्नले नेपाल फेरि पहिलेको अवस्थामा आएको बुझिएको छ। "नेपालका लागि जारी ट्राभल एडभाइजरीको स्तरलाई डिसेम्बर १२, २०२५ पूर्वको अवस्था (पहेँलो श्रेणी) मा पुनः कायम गरिएको छ" दूतावासले एक सुचना जारी गरी भनेको छ, "हाम्रो अनुरोधलाई मध्यनजर गर्दै यसको समयसापेक्ष पुनरावलोकन र शीघ्र कार्यान्वयनका लागि ग्लोबल अफेयर्स क्यानाडाले देखाएको सकारात्मक भूमिकाप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।" 

पछिल्लो समय नेपालमा सुरक्षा र अन्य अवस्था स्थिर बन्दै गएको र ठूला हिंसात्मक घटनाको जोखिम कम भएको  क्यानेडियन अधिकारीहरूको बुझाइ छ। 

आगामी मार्च ५ मा आम निर्वाचन हुन लागेका समय र पर्यटन सिजन पनि परेका बेलामा परिमार्जित ट्राभल एडभाइजरी आएकालाई क्यानाडा र संसारभरीका नेपाली समुदायले सुखद रुपमा लिएका छन्।

यल्लो एडभाइजरी अन्तर्गत अब क्यानाडाली नागरिकहरूले गैर-अत्यावश्यक प्रयोजनका लागि पनि नेपाल भ्रमण गर्न सक्नेछन्, तर उनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सरकारले राजनीतिक भेलाहरूबाट टाढा रहन, पर्यटकीय क्षेत्रहरूमा हुनसक्ने सानातिना अपराधप्रति सचेत रहन र पदयात्राका लागि इजाजतपत्र प्राप्त गाइडहरू प्रयोग गर्ने जस्ता सुरक्षा नियमहरू पालना गर्न सल्लाह दिएको छ।

क्यानेडियन अधिकारीहरूले नेपालको परिस्थितिलाई निरन्तर नजिकबाट नियाल्ने समेत बताएका छन्।

 

तपाईंको प्रतिक्रिया