• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

उपल्लो मुस्ताङको ढोका थुनिँदा खुलेको दुम्बा तालको झ्याल

ईश्वर पोखरेल

आइतबार जेठ ३१, २०८३ | Sunday June 14,2026
-नेपाल टच ग्राफिक्स

हिजो र अस्तिको मौसम आजको जस्तै सफा भएको भए आज हाम्रा पाइला उपल्लो मुस्ताङको सडकमा हुने थिए। उपल्लो मुस्ताङ हाम्रो यस धार्मिक पर्यटकीय भ्रमणको महत्त्वपूर्ण गन्तव्य थियो। हामी उपल्लो मुस्ताङको अन्तिम बिन्दु टेक्न यात्रामा निस्किएका थियौँ, १८ वैशाख, २०८३ का दिन। अस्ति र हिजो दिनभर यस क्षेत्रमा यति वर्षा भयो; आफ्नो गन्तव्यका रूपमा उपल्लो मुस्ताङ जानेबारे हामीले पुनर्विचार गर्नु पर्ने भयो। मौसमले यसपटक हाम्रो गन्तव्यको नक्सा नै खज्मज्याइँदियो।

यतिखेर हामी मुक्तिनाथ आएका छौँ। यहाँबाट उपल्लो मुस्ताङ उक्लिन सहज छ। यस चरणमा हामी उक्लिएनौँ भने उपल्लो मुस्ताङलाई नै लक्ष्य बनाएर आउनु पर्छ र त्यसरी आउने सम्भावना कम छ भन्ने सोचेर पनि हिजो बेलुकादेखि आज बिहानसम्म हामीले केही मोटरवालासँग पटक-पटक सम्पर्क गर्‍यौँ। उनीहरूसँगको छलफलले पनि हामीलाई उपल्लो मुस्ताङको यात्राका लागि उत्साह थपेन; निरुत्साहित नै पार्‍यो।

हामीले आज बिहान मुक्तिनाथ मन्दिरको दर्शन गर्‍यौँ र मन्दिरबाट ओर्लिएर हामी बास बसेको रानीपौवास्थित होटल सिद्धार्थमा खाना खायौँ। अनि लजबाट झोलाझाम्टा बोकेर निस्कियौँ। हामीलाई अब कागबेनी जानु छ। मस्तिष्कभरि आजको बाँकी समयलाई कसरी पर्यटकीय मूल्यको बनाउन सकिएला भन्ने प्रश्न पनि छ। हामी भित्रभित्रै स्थानीय पर्यटकीय स्थलको खोजीमा पनि छौँ।

रानीपौवाबाटै हामीले कागबेनीमा बसोबासका लागि होटल कर्णालीमा बुकिङ गरेका थियौँ। कागबेनीमा ओर्लिएर हामीले कोठामा झोला थन्क्यायौँ। सार्थकले कोठाको झ्यालबाट बाहिर हेर्दै भन्यो, “उपल्लो मुस्ताङ त अब छुट्यो। दुम्बा ताल नजिकै छ रे। जाऔँ न त?”

अनि उसले लगत्तै होटलवाला लामालाई सम्पर्क गर्‍यो र ट्याक्सीका बारेमा बुझ्यो। उनले फोनमा भने– “हुन्छ, म ट्याक्सी बन्दोबस्त गरिदिऊँला।”

केही समयपछि उनैले सम्पर्क गरेर भने– “ल, ट्याक्सी मिल्यो। तीन हजार लिन्छ रे।”

ट्याक्सी रानीपौवाबाट झर्नु पर्ने रहेछ। ट्याक्सीमा हामी दुम्बा तालतिर लाग्यौँ।

दुम्बा ताल मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने रमाइलो ताल। कागबेनीबाट दुम्बा ताल जानका लागि मुस्ताङको सदरमुकाम जोमसोम ओर्लिएर पूर्वतर्फको पहाड उक्लिनु पर्ने रहेछ। प्रारम्भमा सडक पिचवाला थियो; अनि ग्राभेलवाला भयो।

आउँदा दक्षिणतर्फ देखिएको थियो– एउटा खुड्किलायुक्त बाटो। तालमा जाने बाटो त उकालो भएर जाँदैन होला भन्ने लागेको थियो; ठीकै रहेछ। त्यो गुम्बामा जाने बाटो रहेछ— कुत्छबतेरङ्गा गोम्पा।

अब एउटा नदी आयो— सुक्खा नदी। त्यो तरेर हामी माथि थुम्कामा उक्लियौँ।

मोटर खोलाबाट माथि उक्लिएर केही अगाडि के गएका थियौँ; केही मोटर र मोटरसाइकलहरू लहरै पार्किङमा देखिए। पार्किङबाट दृष्टि केही हटेको मात्र के थियो; दृष्टिमा दुम्बा ताल मुसुक्क हाँस्यो।

दुम्बा तालमा आइपुगेको अनुभूतिमा मन गद्गद् भयो। ताल देख्नेबित्तिकै असहज सडक, उपल्लो मुस्ताङ छुटेको खिन्नता; सबै एकैछिनमा 'छुमन्तर'।

दुम्बा तालमा प्रवेश गर्न ५० रुपैयाँ दस्तुर तिरेर टिकट काट्नु पर्ने रहेछ।

प्रवेशद्वारबाट तालतर्फ प्रवेश गर्नु के छ, तालको कञ्चन नीलो पानीले ध्यान तान्छ। माथि आकाश पनि नीलो! तल ताल पनि नीलो!! पानी यति कञ्चन छ; पौडी खेल्न छप्ल्याङ्ग फाल हालौँ जस्तो लाग्छ।

पहाडको मध्य भागमा रहेछ यो ताल। झट्ट हेर्दा पानीको स्थायी स्रोत पनि देखिँदैन। पहाडको बीचमा यति सुन्दर ताल कसरी बन्यो होला भन्ने प्रश्न जोसुकैका सामुमा उभिन्छ। ताल वरिपरि लुङ्दर फर्फराएका छन्— बेहुलीघरमा जग्गे सजाएको भान पार्ने किसिमले। तालको एक छेउमा छ– गौतम बुद्धको सुन्दर प्रतिमा। तालको किनाराबाट थोरै भित्र गएर फोटोका लागि पोज लिन मिल्ने गरी ढुङ्गाहरू राखिएका छन्। तालछेउको ढुङ्गामा बसेर खुट्टा पानीमा झारेर छप्ल्याङ्ग-छप्ल्याङ्ग खेलाए पनि भयो।

तालको वरिपरि छ— पेटी बाटो। ताललाई कुन कोणबाट हेर्ने! कुन कोणमा उभिएर ताललाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने!! पेटी बाटोमा ठाउँ-ठाउँमा बेन्च छन्– बसेर फोटोका लागि पोज लिए पनि भयो। तालको दक्षिण-पश्चिम छेउमा पेटी बाटोको दुवैतिर सेता काँस बाक्लै उभिएका छन्। काँसको बीचैबीच लचकलचक हिँडेको भिडियो बनाउन पर्यटकहरू लाइनमा छन्; पालो पर्खिनु पर्छ।

ताल भन्नेबित्तिकै सामान्यतया हामी डुङ्गा चल्छ कि चल्दैन भन्ने प्रश्नमा जेलिन्छौँ। दुम्बा तालमा डुङ्गा चल्दैन।

पानी यति सफा देखिन्छ: अञ्जुलीमा उगाएर प्यास मेटौँ-मेटौँ लाग्ने। तालको पानी कञ्चन त छ, तर हात डुबाउँदा थाहा हुन्छ आङै सिरिङ्ग हुने चिसो! औँलै काटिएला जस्तो!!

कुत्छबतेरङ्गा गोम्पामा पूजाआजा गर्नुअघि यस तालको जल चढाउनु पर्ने परम्परा रहेछ। त्यसैले यहाँ पवित्रता कायम राख्ने सवालमा पर्यटकहरूलाई सजग रहन सूचित गरिएको रहेछ।

लौ; यहाँ त माछा पनि रहेछ! एकातिर पानी यति चिसो! अर्कातिर सिलिङबिलिङ माछा!! माछा पनि पहाडका खोलाहरूमा देखिने ससाना माछा हुन् र! तराईका पोखरीमा पाल्ने जस्ता ठूला माछा! यस्तो चिसो पानीमा पनि माछा हुन सम्भव छ र भन्ने सवाल दिमागभरि मडारिन्छ।

हातै कठाङ्ग्रिने तालको चिसो पानी अनि यी माछा!

पर्यकहरू क्यामरा र मोबाइलको क्यामरा क्लिक गरेर दुम्बा ताललाई टिपेर घर लैजान तल्लीन देखिन्छन्। यो सुन्दर तालको फोटो त सामाजिक सञ्जालमा पनि पाइएला तर ताललाई पृष्ठभूमिमा राखेर फोटो खिच्न यहीँ आउनु पर्छ भन्ठानेर होला; पर्यटकहरू क्यामरा आफ्नो सहयात्रीको हातमा थमाउन र आफू पोज लिन हतारिएका देखिन्छन्।

दुम्बा ताल समुद्र सतहबाट २,८३० मिटर उचाइमा अवस्थित छ।

यात्रामा निस्केपछि यात्रुको मनोकाङ्क्षाले होइन; मौसम र सडकको अवस्था जस्ता कुराले गन्तव्यलाई निर्धारण गर्दो रहेछ। हाम्रो दिमागभरि उपल्लो मुस्ताङको नक्सा थियो; कालान्तरमा हामीले कञ्चन सफा पानी भएको चिटिक्क परेको धुम्बा तालमा रमाउन पायौँ।

सार्थकले त भन्यो पनि– “मुक्तिनाथ यात्रामा आउन खोज्ने साथीहरूलाई भन्छु– ‘उपल्लो मुस्ताङ जान्छौ भने जाओ। तर दुम्बा ताल नछुटाओ।’”

उसको कुरामा मैले मनैबाट सही थापेँ। भनेँ– “बादलले उपल्लो मुस्ताङको ढोका थुने पनि हाम्रा लागि दुम्बा तालको झ्याल खोलिदिएछ। उपल्लो मुस्ताङ जान पाएको भए हामी फर्किन हतारिन्थ्यौँ होला; जोमसोमबाट दुम्बा तालतिर उक्लिने थिएनौँ होला; यो सुन्दर तालमा रमाउने अवसर हामीले गुमाउने रहेछौँ।”

-ललितपुर, नेपाल

तपाईंको प्रतिक्रिया