टोरन्टोमा जहाज छोडेर कारमा बोस्टन
भोज अर्याल
घर छोडेर कतै घुम्न निस्कियो कि, फोटो खिचेर फेसबुकमा उधुम मच्चाउनु आजको आवश्यकता बनेको छ। म यसको उल्टो त छैन, फाट्टफुट्ट फोटो पनि पोस्ट्याएकै हुन्छु। यस पटकको यात्रामा फोटो होइन कि छोटो कुरा जानकारी हुने गरी यात्राको बीच-बीचमा लेखेकै हुन्थेँ। तर त्यति लेख्दैमा चित्त बुझ्ने कुरा पनि भएन। त्यसैले गर्दा सबै कुरा लेखेर लिपिबद्ध गर्न पाए हुन्थ्यो कि भन्ने खसखस मेरो मनमा थियो। हुन त म चर्चा कमाएको नियात्राकार होइन तर पछिल्ला हरेक वर्ष यात्रा संस्मरण लेख्दै आएको छु।
पूर्व निर्धारित योजना अनुसार नै यसै वर्षको अगस्ट महिनाको २२ तारिख शनिबारका दिन मध्याह्नतिर हामी विमानस्थल पुग्यौँ। क्यानाडाको सास्काचेवान प्रान्तको रिजाइनामा रहेको उक्त स्थलमा पुग्दा मसान घाट झैँ सुनसान थियो। यसै बीच हामीले एयर क्यानाडाको काउन्टरमा पुगेर बोर्डिङ पासको कर्मकाण्ड सकायौँ। अनि हामी माथिल्लो तलामा उक्लियौँ। त्यहाँ पुगेर सेक्युरिटी जाँच गरी सकाएसँगै केही समय घडी हेर्दै बस्यौँ। निर्धारित समय अर्थात् सवा दुई बज्नु अगावै हामी सबै जना जहाजभित्र हेलियौँ। हाम्रो यात्राको उत्साहमा जहाजको अन्तिमतिरको सिटले कुनै कमी ल्याउने कुरा थिएन; किनकी जता बसे पनि बस्ने नै हो। बसको यात्रा भए पो पछाडि बस्दा बढी उफार्ला भन्ने पीर!
करिब दस मिनेट जहाज रनवेमा गति लिएर आकाशमा उड्नै लाग्दा एउटा सूचना आयो। क्याप्टेनले भन्दै थिए कि टोरन्टोको मौसम खराब छ। करिब आधा घण्टा यतै कुरेर मात्र हामी हिँडौँला। यो खबरले पहिलो गासमै ढुंगा परेझैँ त भयो तर जहाजभित्रै कुर्नुको कुनै विकल्प भने थिएन। आधा घण्टा मात्र होइन कि एक घण्टा नै बित्दा समेत जहाज उड्ने सुइँको पाइएन। सिटको एक साइडमा श्रीमती र दुई छोराछोरी थिए। म भने अर्को पट्टी त्यही पङ्क्तिमा थिएँ। यसरी कुरेको सम्झँदा मुग्लिन हुँदै काठमाडौँतर्फको यात्रा गर्दा रात्रिकालीन बसमा जाममा पर्खिएको विगतको याद नआएको पनि होइन। यसै बीच गजबको कुरा के भयो भने करिब डेढ घण्टा कुरेसँगै चार बजे मात्र जहाज टोरन्टोको आकाशतर्फ उड्यो।
मेरै सिटसँगै झ्यालतर्फ एउटा गोरो मूलको भुसतिघ्रे मानिस बसेको थियो। बीचमा भने एउटी अर्धबैँसे आइमाई बसेकी थिइन्। उनी पनि हेर्दा राम्री र गोरी नै थिइन्। उनीहरू एक आपसमा कुराकानी गर्थे। तर म भने छेउमा गजधम्म लाटो बसेझैँ बसेर फोनमा नजर डुलाउँथेँ। वेलाबखत परिवारका सदस्यहरूसँग बोल्ने कुरा त छँदै थियो। त्यो मानिसले कहिले ती महिलाको हात मुसार्थ्यो, कहिले उनका साप्रा मुसार्थ्यो! यसरी हेर्दा उनीहरूको बीचको नातासम्बन्ध के होला भनेर लख काट्न कुनै गाह्रो थिएन। मलाई उता झ्यालबाट बाहिर हेर्न मन त थियो, तर हेर्ने बाटोमा उनीहरू तगारो बनेसँगै देखेर पनि नदेखेझैँ गरी समय कटाउँथेँ। बरु केही कुराको नोट टिप्न खोज्थेँ र आफैँमा व्यस्त रहेकोझैँ देखिन्थेँ।
तीन घण्टाको लामो यात्रामा करिब दुई घण्टा बित्दै गर्दा एयर होस्टेसहरू नजिकै आए र कतै चिसो जुस त कतै वाइन दिए। पुजारीले प्रसाद बाँडेझैँ बिस्कुटहरू हातमा थमाउँदै थिए! बसेर मुख मीठो गर्दै यात्रा गर्दा समय बितेको थाहै भएन। अन्ततः हामी टोरन्टो पियर्सन विमानस्थलमा अवतरण भयौँ। घडीमा रातको करिब नौ बजेको थियो। यद्यपि टोरन्टो हुँदै बोस्टन्तर्फको हाम्रो दोस्रो उडान रद्द भएको सूचना पहिले नै पाइसकेका थियौँ, जुन मङ्गलबारका लागि पुनः तय भएको थियो। दुई-तीन दिन भद्रगोल बनेको हाम्रो यात्रालाई अब सहज बनाउने कसरी? अलि इन्तु न चिन्तुको अवस्था थियो। करिब दुई घण्टा कुर्दा पनि उक्त एयरलाइन्सका कर्मचारीले कुनै उपाय नदेखाएसँगै हामी आफ्नो बाटो लाग्ने निर्णयमा पुग्यौँ।
हामीजस्तै अलपत्र परेका कैयौँ मानिसहरू यत्रतत्र भेटिएका हुन्थे। हामी करिब रातको दुई बजेसम्म कुरेर बोस्टनमा बुझ्ने भनिएको लगेज त्यहीँ नै बुझ्यौँ र मुस्किलले रात कटायौँ। बिहान छ बजेसँगै भाडाको गाडी त्यहीँबाट टिपेर सात नबज्दै बोस्टन्तर्फ सोझियौँ। अनिद्राको रात काटेका हामीलाई त्यो एउटा समाधान त भेटियो तर सजिलो उपाय भने पक्कै थिएन। करिब एक घण्टा बाटोमा बितेसँगै नायग्रा फल्स नजिक पुगेर रमाउन पाउँदा र पानीको कञ्चन बहाव नियाल्दा मनमा रमाइलो मात्र भएन कि यात्राको थकान समेत कताकता हटेको महसुस भयो। प्रकृतिको यो अनौठो सङ्गममा मानिसहरू झुमेका देखिन्थे। कोही बाछिटाले भिजेर निथ्रुक्क परेका थिए, कोही फेरि पानीका सेता कण टाउकोमा परेकाले लिखा पालेको मान्छेजस्तै लाग्थे। समयको पाबन्दीले गर्दा बिहानको साढे दस बजे नै हामी बोस्टन्तर्फ हान्नियौँ।
शुरुमा केही दुविधाग्रस्त बनेको हाम्रो यात्रा क्रमशः एउटा रमाइलो अनुभूति बन्दै गयो। बाटोमा अगाडि बढ्दै गर्दा भेटिएका हरियाली वनजङ्गलहरू मन लोभ्याउने खालका थिए। नेपालकै चारकोसे झाडीजस्तै लाग्ने घना वनजङ्गल देख्दा लाग्थ्यो कि अमेरिका त धनमा मात्र होइन वनमा पनि अगाडि नै रहेछ। क्यानाडाका अन्न फल्ने विशाल फाँटहरू हेरेका हामीलाई यो दृश्य अनौठो लाग्नु स्वाभाविकै थियो। वातावरणीय हिसाबले त झन् वन भनेको स्वास्थ्यका लागि पनि सुनमा सुगन्ध थपेझैँ राम्रो कुरा नै भयो, जुन त्यतातर्फको बसाइको अन्त्यसम्म हामीले महसुस गर्न पायौँ।
शुरुका एक-दुई दिन घरमा आराम गरेसँगै हामीले बोस्टनलाई नजिकबाट बुझ्ने मौका पायौँ। सम्भव भएसम्म नजिकका तालतलैयाहरू, सुन्दर र शान्त लाग्ने रमणीय पार्क तथा वनजङ्गलतिर नजर डुलायौँ। निकै सभ्य र भव्य लाग्ने डाउनटाउन पुगेर त्यहाँका मलहरू लगायत पब्लिक गार्डेन पनि हेर्यौं। रमाइलो लाग्ने रेलको यात्रा गर्न सक्यौँ। अझ रमाइलो कुरा बोस्टन हार्बर पुगेर समुद्रको सामिप्यता बुझ्यौँ। अग्ला टावरहरूलाई परबाट हेर्यौं। आकाशमा चिल उडेझैँ बेफुर्सदसँग उडेका जहाजहरू गन्दै रमाउँदै समय बितायौँ। यसरी हामीले शुरुका केही दिनको राम्रोसँग सदुपयोग गर्दै गयौँ।
करिब एक हप्ता बोस्टनमा बितेसँगै दोस्रो चरणमा सपनाको शहर वा धनीहरूको शहर भनेर चिनिने न्युयोर्कलाई रोजेका थियौँ। अगस्ट ३० को आइतबार बिहानै तीन घण्टा लामो बाटो र त्यससँगैको जङ्गल पार गरेर हामी त्यहाँ पुग्यौँ। करिब आठ बजे न्युयोर्क पुग्दा परैबाट अनुमान गर्न गाह्रो थियो कि यसको विशालता कति धेरै होला भनेर! एक दिनभरको घुमाइमा धेरै ठाउँ सर्लक्कै नसके पनि केही महत्त्वपूर्ण ठाउँमा टेक्न सफल भयौँ। म्यानहटनमा रहेको टाइम्स स्क्वायर र यसको रमाइलो क्षण, सिटी बसको रमणीय यात्रा, वर्ल्ड ट्रेड सेन्टरको परिवेश र ब्रुकलिन ब्रिजको विशालता नजरमा मात्र होइन क्यामेरामा समेत कैद गर्न सफल भयौँ।
दिनभरको थकाइ नभनेर घाम नढल्दै पानीजहाज अर्थात् फेरी राइडबाट स्टेटन आइल्यान्ड गयौँ। एक घण्टा बसेर पुनः न्युयोर्कलाई वरपर नियाल्दै फर्कियौँ। स्ट्याचु अफ लिबर्टीलाई जहाजबाटै दर्शन गर्यौँ। समुद्रको छेउछाउमा रहेको विशाल शहर न्युयोर्क, पोखरीमाथि राखेको टपरीमा उम्रेको जमराझैँ देखिन्थ्यो। त्यो पनि क्यामेरामा अटाउने कोसिस गर्यौं। गाउँघरका स-साना खोलाखोल्सा देखेको मजस्तो मानिसलाई यो सुन्दर दृश्य पनि एउटा कल्पना बाहिरको कुरा थियो। तर लामो समयको पर्खाइ र धैर्यताले नै त्यहाँ पुर्याएको थियो, जुन दृश्य अहिले पनि मेरो नजरमा घुमिरहेकोझैँ लाग्छ।
रात छिप्पिँदै गर्दा पनि कहिल्यै नसुत्ने शहरमा घुम्ने रहर मेटिएको थिएन। अग्ला-अग्ला टावरहरू हेर्दाहेर्दै टोपी मात्र खस्ने होइन कि घिँच्रो नै दुख्ला जस्तो भएको थियो। उता मानिसहरूको व्यस्तता र दौडधुप पनि चलिरहेकै थियो। शहरको छेउकुनामा मानिसहरू किनमेलदेखि मदिरामा मस्त देखिन्थे। हामी भने दिनभरमा गलेर हत्तुहैरान भएको शरीर बोकेर मध्यरातमा मात्र बोस्टन फर्कियौँ; किनभने धेरै कुरा बुझ्ने मन भएमा हप्तौँहप्ता उतै बसेर डेरा जमाउनुपर्ने जस्तो देखियो। हामीसँग समयको सीमा घर्किँदै थियो तर अझै धेरै घुम्ने र डुल्ने लोभको भाँडो चाहिँ भरिएको थिएन।
आफ्नै मनको मान राखेर फेरि हामी रोड आइल्यान्डतिर मोडियौँ। सेप्टेम्बर चारको दिन बिहानको ब्रेकफास्ट लिएर जङ्गलकै बाटो छेडेर हामी त्यहाँ पुग्यौँ। करिब डेढ घण्टाको बाटोमा धेरै रमाइलो नै भयो। त्योभन्दा बढी समुद्रको नजिक पुग्दै गर्दा त्यसमाथि रहेको भव्य पुलले मन नै तान्यो। 'ओसन स्टेट' उपनामले चिनिने अमेरिकी राज्यको न्युपोर्ट शहरमा पुगेर केही समय बितायौँ। दिउँसोको खाना लिएपछि बस चढेर ठूलो समुद्रको नजिक पुग्यौँ। एटलान्टिक ओसनको विशाल जलाशयको पारि क्षितिजमा मानव बस्तीहरू देखिन्थे। पानीका छालहरू हुत्तिँदै आएर किनारको चट्टानमा बझारिन्थे, केही भने बीचमै बिलाउँथे। त्यो पनि धेरै रमाएरै हेर्न पायौँ।
दिनको दुई बजे चर्को घामको कुनै सरोकार नै नराखी हामी त सरासर दुई घण्टा पो हिंडेछौँ। समुद्रको सतहबाट माथि उठेको बाटो, कतै लम्पसार परेका चट्टानहरू, कतै झाडी त कतै स-साना टनेलहरू हुँदै हिँड्नुको मजा नै अनौठो थियो। वेलाबखत रोकिँदै फोटो सेसन पनि चलेकै हुन्थ्यो। यस्तो अप्ठ्यारो बाटोमा पनि बालबच्चाहरू सजिलै हिँडेको देख्दा अचम्म लाग्थ्यो। यिनै रमाइला अनुभूति बोकेर फेरि हामी बसमा चढ्यौँ र आफ्नो सवारी साधनसम्म पुग्यौँ। त्यसैमा हुइँकिँदै रात नपर्दै बोस्टन्तर्फको बाटो लाग्यौँ।
घुम्ने-फिर्ने ठाउँ त धेरै नै थिए होला तर एकै बसाइमा सबै कुरा सम्भव थिएन। त्योभन्दा मीठो कुरा आफन्तसँगको भेटघाट र भलाकुसारी, न्यास्रो मेटाउने अर्को पाटो थियो। बालबच्चाहरूलाई मामाघरको माहोलसँग समय बिताउने एउटा अवसर पनि थियो। यसै बीच दुई हप्ता बित्दै गर्दा हामी फेरि हार्भर्ड युनिभर्सिटी पुगेर यसको परिसरमा घुम्यौँ। हार्भर्ड म्युजियमभित्र पसेर अवलोकन गर्न सफल भयौँ। त्यहाँ पनि मानिसहरू तीर्थयात्रीझैँ लाइन लागेर बसेका थिए। यति धेरै नामी ठाउँमा पहिलो पटक पुगेर पाइला टेक्न पाउनु पनि हाम्रा लागि अर्को एउटा सुखद सौभाग्य नै जुरेको थियो।
यात्रा वृत्तान्त बारे बताइरहँदा एउटा कुराले भने शुरुमै मन अलि अमिलो बनेको थियो। भोटेकोशीमा आएको हिमपहिरो र विनाशकारी बाढीको वितण्डाले गरेको क्षतिले मुटु नै हल्लाइदियो। यसरी छोटो समयमा दुःख-सुखका अनेकौँ अनुभूति सँगाल्दै हामी हिँड्यौँ। समयको दबाबसँगै सेप्टेम्बर ६ तारिखका दिन उत्साहित मन लिएर घर फर्कियौँ। बोस्टनदेखि क्यालगरीको उडानमा अनेक कुरा सम्झँदा मन पनि उडेकै थियो। रमाइलो कुरा त के पनि भयो भने, क्यालगरीबाट घर पुग्नै लाग्दा जहाजको पुछारतिर अलि धेरै हल्लिएको हो कि झैँ महसुस भएको थियो। तर हामी सकुशल अवस्थामै मध्यरातमा अवतरण गर्यौं।
घरमा पुगेर बिहानै उठी बारीमा हेर्दा सागपात पनि कतै बढेका त कतै फर्सी भुइँमा लडेका भेटिए। अबको समय चिसो त यता राम्रैसँग बढिरहने नै छ, तर दुई छिमेकी मुलुक अमेरिका र क्यानाडाबीचको सम्बन्धमा चिसोपन हट्दै जाओस्— हाम्रो पनि यही नै शुभकामना छ! अन्त्यमा, यति कुरा भन्न सकिन्छ कि जीवन भनेकै एउटा यात्रा हो, तर यात्रा नै जीवन भने होइन।
-रिजाइना, सास्काचेवान

सम्बन्धित खबर
.png)
.png)











.png)














तपाईंको प्रतिक्रिया