प्रेमप्रसादको आत्मदाह र आत्महत्या दुरुत्साहनको संशय
यादव पोखरेल
नेपालका प्रेमप्रसाद आचार्यले फेसबुक स्टाटस् लेखेर आत्मदाह गरेपछि केही व्यक्तिविरुद्ध 'आत्महत्या दुरुत्साहन गरेको' उजुरी परेका समाचारहरू आइरहेका छन्।
उनीहरुविरुद्ध उजुरी किन पर्यो त भन्दा अन्य कुराहरूका अतिरिक्त समयमै उधारो नतिरेका कारण व्यवसाय घाटामा गएको र मर्न बाध्य हुनुपर्यो भन्ने मृतक आचार्य पक्षको दाबी देखिन्छ।
काठमाडौंमै केही साताअघि मात्र एक युवतीले हुनेवाला पतिको घर अगाडि उसैगरी आत्मदाह गरेपछि उक्त घटनाका प्रतिवादी पनि हाल पुर्पक्षका लागि थुनामा गएको देखिन्छ।
समाचारमा आएअनुसार उक्त घटनामा केटाको कसुर भनेको इन्गेजमेन्ट तोड्नु थियो। त्यस भित्रका कारणहरू विभिन्न हुन सक्छन्। तर, विवाह गर्न कसैलाई बाध्य गराउन सकिँदैन।
विवाह टुटेका कारण आर्थिक लगायतको क्षति भएको छ भने देवानी कानुनअनुसार त्यसको क्षतिपूर्ति हुनसक्छ र सोहीअनुसार मुद्दा पनि चल्न सक्छ। तर, भावनात्मक क्षतिका कारण अर्को पक्षले मर्ने निर्णय गर्छ भने त्यसको फौजदारी दायित्व कसैमाथि थोपर्न मिल्दैन।
यो कानुनको सामान्य सिद्धान्त नै हो।
फौजदारी मुद्दामा 'स्ट्यान्डर्ड अफ प्रुफ' एकदमै उच्च हुन्छ। देवानीमा जस्तो 'व्यालेन्स अफ् प्रोव्याब्लिटीज्' मात्र देखाएर पुग्दैन।
केही समयअघि 'एक चिनजानका नातेदारकी पत्नी (छुट्टै बसेकी) ले अति नै मानसिक यातना दिई, मैले सहन नसकी आत्महत्या गर्दैछु, म मरेपछि उसलाई ५ वर्ष जेल हाल्नु' भन्ने आशयको एउटा भिडियो सार्वजनिक भयो।
भिडियो धेरैले हेरेर 'के हुने होला' भन्ने शंका गरे पनि धन्न अप्रिय घटना भएको सुन्न परेन।
सायद बेलैमा परामर्शहरु भयो र स्थिति बिग्रिन पाएन।
ती युवकले 'उसलाई जेल हाल्नु' भन्ने कारण थियो, आत्महत्या दुरुत्साहन सम्बन्धी कानुनी व्यवस्थाको गलत प्रयोग र त्यसबारे उनको गलतै बुझाइ।
आमरुपमा यस्तो सन्देश जानु भनेको कानुनको यो व्यवस्थालाई बदलाको हतियार बनाउने प्रवृत्तिमा बढावा दिइनु हो। जब कि आत्महत्या एक मानसिक समस्या हो भन्ने कुरा राज्यले आत्मसात गर्दै त्यसको निराकरणतर्फ उचित कदम चाल्नु आवश्यक छ।
अहिले आएर यो कानुनी व्यवस्था नेपालमा राज्यपक्षबाटै अधिकतम् दुरुपयोग हुन थालेको देखिन्छ।
कसैले आत्महत्या गरेपछि पीडित पक्षलाई पर्न जाने भावनात्मक चोट शान्त पारेर थम्थम्याउन राज्यले आत्महत्या दुरुत्साहन मुद्दा चलाइरहेको छ। तर, यसमा पनि सबै घटनामा एकनास देखिँदैन, जसले धेरै दबाब दियो उसले पीडकलाई विपक्षी बनाएर मुद्दा दायर गरेको पाइन्छ।
समान अवस्थाको घटनामा पनि अवस्था र परिस्थितिअनुसार मुद्दा चल्ने वा नचल्ने गरेको र अदालतबाट पनि ठहर्ने वा नठहर्ने भएको देखिन्छ।
यस्तो हुनुको कारण कानुनले कुन अवस्थामा के कसरी यो अपराध हुन्छ भनेर प्रष्ट भनेको छैन।
मुलुकी अपराध संहिताको दफा १८५ मा 'कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन' भन्ने व्यवस्था छ।
दुरुत्साहनको आपराधिक कार्य (Actus reus) के के हो भन्नेमा कानुन अस्पष्ट छ।
कानुनमा भएको यो व्यवस्था यति जटिल छ कि, सुसाइड नोटमा कसैको नाम हुने बित्तिकै त्यस्तो काम (आत्महत्या) गर्नेसम्मको परिस्थति खडा गरेको भनेर प्रहरीले चैं मुद्दा चलाउन सक्छ वा सोही आधारमा अपराध प्रमाणित पनि हुनसक्छ।
प्रेममा धोका पाएर गरेको आत्महत्यामा प्रेमी वा प्रेमिका, लागेको ऋण तिर्न नसकेर गरेको आत्महत्यामा साहु, ऋण उठाउन नसक्दा घाटा व्यहोर्न नसकेर गरेको आत्महत्यामा आसामी, जागिर छाड्न दिएको दबाब कर्मचारीले सहन नसकी गरेको आत्महत्यामा हाकिम, पति वा पत्नी अर्कैसँग लागेर घर व्यवहार बिग्रियो भनेर गरेको आत्महत्यामा पति वा पत्नी (सूचि लामो हुनसक्छ) लाई सामाजिक रुपमा दोष दिन त सकिएला तर यी कुनै पनि कार्यले फौजदारी दायित्व वहन गर्दैनन्।
यदि कसैको गलत व्यवहार वा अन्यायको शिकार कोही हुन्छ भने त्यसको उचित समाधान हुनुपर्छ र त्यो सहज रुपमा हासिल हुने वातावरण राज्यले बनाउनु पर्दछ।
त्यस सम्बन्धी कानुनहरु प्रभावकारी हुनु र तिनको सहज कार्यान्वयन हुन जरुरी छ। तर, सामाजिक दबाबका कारण आत्महत्यापिच्छे आत्मपरक रुपमा मुद्दा चलाउँदै जानुचाहिँ पक्कै सान्दर्भिक होइन।
पहिले नेपालमा यस्तो कानुनी व्यवस्था थिएन। के प्रयोजनका लागि र कुन उद्देश्यका लागि यो व्यवस्था पछि थपियो, ठ्याक्कै थाहा छैन।
कसैले विभिन्न प्रलोभनमा पारेर, जस्तै धर्मको आडमा वा अन्धविश्वासको त्रासमा पारेर मर्न उक्साउँछ र मर्न आवश्यक सामग्रीहरु उपलव्ध गराउँछ भने त्यस्तोमा आत्महत्या दुरुत्साहन मुद्दा चलाउन सकिन्छ।
कुनै डाक्टरले बिरामीलाई गाह्रो भो भनेर मर्न सल्लाह दिन्छ वा कुनै इन्जेक्सन दिएर सहज मृत्युवरण गर्न सहयोग गर्छ भने त्यस्ता घटनामा आत्महत्या दुरुत्साहनको अपराध हुनसक्छ।
यसका लागि आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिको सक्रिय अर्थात् प्रत्यक्ष सल्लाह र सहयोग रहेको देखिनुपर्छ, न कि अप्रत्यक्ष भूमिका।
कसैले कसैलाई कुनै तरिकाले दुःख दिन्छ र अर्को व्यक्तिले त्यो दुःख सहन नसकी मृत्युवरण गर्छ भने त्यो आत्महत्याको दुरुत्साहन हुँदैन। भलै त्यहाँ माथि उल्लेख गरे अनुसारका अरू विभिन्न कानुनी दायित्वहरू सिर्जना हुन सक्लान्।
क्यानाडाको कानूनमा निम्न दुई काम गर्यो भने १४ वर्षसम्म कैद हुने अपराध मानिन सक्छ।
पहिलो, कसैलाई आत्महत्या गर्न सल्लाह दिएमा (counsel) वा त्यसमा मतियार (abet) बनेमा।
दोश्रो, आत्महत्या गर्न सहयोग गरेमा (aid)।
तर, अपवादको रुपमा यहाँ मेडिकल्ली असिस्टेड सुसाइडलाई कानुनी मान्यता दिइएको छ।
यद्यपि, क्यानाडामा आत्महत्या गर्न सल्लाह दिएको वा सहयोग गरेको भनेरै मुद्दा चलेको भने देखिँदैन।
'डाक्टरको सहयोगमा मर्न पाउँ' भनेर दिएका मुद्दामध्ये एउटामा सन् १९९३ मा अनुमति नदिएको तर सन् २०१५ को Carter Case मा चाँहि फिजिसियन असिस्टेड सुसाइडको व्यवस्था नभएको कानुन बदर हुन्छ, कानुन संशोधन गर्नु भनेर आदेश दिइएको थियो।
त्यसअनुसार सन् २०१६ मा संशोधन भएको कानुन अहिले व्यवहारमा लागू छ। तर euthanasia सम्बन्धि चर्चा अहिलेको विषय परेन।
यस्तो अपवादको रुपमा मुद्दा चलाउनु पर्ने कुरालाई नेपालमा नियमित बनाउन थालिएको छ र सडकबाटै यसमा दबाब पनि दिन थालिएको छ। यो एउटा खतरनाक अवस्था हो।
अबको समाधान के त?
पहिलो भनेको तल्ला अदालतहरूबाट फरक मुद्दाहरूमा आएका विविध व्याख्यामा एकरुपता कायम गर्न सर्वोच्च अदालतले हस्तक्षेप गरी के कस्तो अवस्थामा दुरुत्साहन हुनसक्छ भनेर स्पष्ट रूपमा यसको व्याख्या गर्न जरुरी छ। तर, यो दीर्घकालिन समाधान होइन।
अदालतको नजीरले पछिका घटनामा मुद्दा नचल्ने भन्ने हुन्न। बदनियतपूर्वक गरिएको अभियोजनका कारण भएको क्षतिमा राज्यलाई उत्तरदायी बनाएर पीडितलाई क्षतिपूर्ति दिने सहज प्रचलन नेपालमा नभएको अवस्थामा यसको दुरुपयोग हुने सम्भावना कायमै रहन सक्छ।
यसको दीर्घकालीन समाधान भनेको यो कानुनमा संशोधन गरी दुरुत्साहन जस्तो जटिल शब्दलाई हटाइ 'कसैलाई आत्महत्या गर्न उकास्न वा सल्लाह दिन हुँदैन र आत्महत्या गर्न कुनै प्रकारले सहयोग गर्नु हुँदैन' भन्ने प्रष्ट दुई व्यवस्था गरिनु पर्छ।
ढिला नगरी यस तर्फ बहस हुन जरुरी देखिन्छ। नत्र मानसिक समस्याका कारण एउटाले आत्महत्या गर्ने तर अरु कोही निर्दोषले सजायको भागीदार बन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन।

सम्बन्धित खबर
.png)













.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया