‘एकै व्यक्ति बारम्बार नेतृत्वमा रहँदा अरुको बाटोमा अवरोध हुन्छ’
नेपालTouch
अमेरिका र क्यानाडामा नेपालीको संख्या ५ लाख हाराहारी पुगेको अनुमान छ। नेपालीको संख्या बढेसँगै यस क्षेत्रमा पेशागत, क्षेत्रीय, जातीय, साहित्यिक अनेक किसिमका संस्थाहरू खुलेका छन्।
यस क्षेत्रमा नेपाली संस्थाको श्रीगणेश ३७ वर्षअघि भएको थियो। नेपालीहरु एक ठाउँमा जुट्नका लागि संस्था आवश्यक महसुस गरेर सन् १९८३ मा अमेरिकाको वासिङटन डिसीमा एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज (एएनए) स्थापना भएको थियो।
नेपाली कला, संस्कृति र भाषाको संरक्षणका लागि खुलेको त्यो संस्था हाल ‘जवान’ भएको छ। यसको परिपक्वता यसले नेपाली समाजका लागि गरेका विविध योगदानहरू र यसले कमाएको प्रतिष्ठाबाट बुझ्न सकिन्छ।
संस्थाको नेतृत्व हाल खगेन्द्र अधिकारीले गरेका छन्। आफ्नो नेतृत्वको समीक्षा, संस्थाका गतिविधि र भावी योजनालगायत विषयमा हामीले बुझ्न खोजेका छौं। आफ्नो कार्यकालको अन्त्य गरेर यसै महिना नेतृत्व हस्तान्तरण गर्न पूर्वसन्ध्यामा अधिकारीसँग ‘नेपाल टच’ ले कुराकानीको सम्पादित अंशः
एएनए संस्थाको स्थापना गर्नुको उद्देश्य र यसले हासिल गरेका उपलव्धिबारे के भन्नु हुन्छ?
सन् १९८३ मा अमेरिकाको वासिङ्टन डिसीमा संस्था स्थापना हुँदा यस क्षेत्रमा अत्यन्तै थोरै नेपालीहरू थिए। मैले थाहा पाएसम्म अध्ययनका लागि अमेरिकामा रहेका लगभग २७ जना विद्यार्थीको पहलमा यो संस्थाको जन्म भएको हो।
त्यस बेला अहिले जस्तो सञ्चारको सुविधा राम्रो थिएन। अहिले जस्तो नेपालीहरुको बाक्लो उपस्थिति पनि थिएन। देश बाहिर हुँदा आफ्नो देश र परिवारको यादले विद्यार्थीलाई सताउँथ्यो। यस्तो बेला चाहिने आफ्नै साथीभाइ र समुदायका मानिसहरू हुन्, आफ्नै समाज हो। यही आवश्यकतालाई देखेर एएनएको स्थापना भएको हो।
संस्थाको स्थापनाले नेपालीबीच एकता, भातृत्व कायम राख्ने त छँदैछ, नेपाली भाषा, कला र संस्कृति जोगाउँदै हाम्रो यो पहिचान जोगाएर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दै जाने पनि उद्देश्य लिएको थियो, जुन अहिले पनि निरन्तर छ।
लामो इतिहास भएको संस्था भएकाले यसले गरेका गतिविधि पनि निकै छन्। यसबीच भएका मुख्य काम के के हुन्?
हामी सामाजिक संस्था हौं। हामी संस्थाका सदस्यहरू र अन्य दाताहरूबाट प्राप्त सहयोगबाट सञ्चालित छौं। हामीसँग विशाल आर्थिक स्रोत र वचत केही हुँदैन र छैन। तर, नेपाल र नेपालीलाई सहयोग गर्नुपर्ने कुनै पनि परिस्थितिमा हामी अग्रपंक्तिमा हुन्छौं। संकटको बेलामा एकजुट हुन्छौं र सहयोगमा जुट्दै आएका छौं। यो हाम्रो परम्परा बनेको छ।

सन् २०१५ मा मातृभूमि नेपालमा भूकम्पले जनधनको ठूलो क्षति गरेका बेला संस्थाले राहत र पुननिर्माणको कार्यमा सहयोग गरेको थियो। हामीले ‘मिसन रिविल्ड नेपाल’ नामक संस्थामार्फत सिन्धुपाल्चोकको सिपापोखरी गाउँमा करिव २० वटा घरहरूको पुनर्निर्माणमा सहकार्य गरेका थियौं। सबैले त्यहाँ करिब एक हजार घर बनाउन सघाएका थिए।
हामीले सन् २०१७ मा पोखरामा भएको रारा कप फुटबल खेल्न अमेरिकाबाट एउटा टिम पठाएका थियौं। त्यो खेल खेल्ने मात्र हैन, त्यसका माध्यमबाट यतै हुर्किएको पुस्तालाई नेपाली माटोसँग परिचित गराउनु पनि थियो। खर्चका हिसाबले महंगो कार्यक्रम भए पनि त्यो एउटा रचनात्मक र महत्वपूर्ण कार्यक्रम थियो भन्ने लाग्छ।
केहि पहिले टोरन्टो, क्यानाडामा 'रोल अफ नेपाली डायस्पोरा इन हायर एजुकेशन' नामक वृहत सेमिनार गरिएको थियो। त्यसको निचोड हामीले नेपाल सरकारलाई बुझाएका छौं र त्यस कार्यको प्रशंसा भएको थियो। त्यसको निचोड विस्तारै लागू होला भन्ने आशा छ।
हामी ‘नेपाल पोलिसी इन्टिच्युट’ नामक संस्थासँग सहकार्य गरेर काम शुरुवात गर्दैछौं। नेपालमा नीतिगत सुधारका लागि हामीले त्यसमा योगदान गरिरहेका छौं। यीबाहेक अन्य प्राकृतिक विपत्तिका बेला होस् वा अरु कुनै समस्या आइपर्दा संस्थाले एकजुट भएर सहयोग गरेका सयौं उदाहरण छन्। संस्थाको ३७ वर्षे इतिहासमा यो निरन्तर प्रक्रिया हो।
उत्तर अमेरिकाको पहिलो ठूलो संस्था र अरु हजारौं संस्थाका बीच यस संस्थाको स्थान कहाँनिर पाउनु हुन्छ?
मैले माथि भने जस्तै यो संस्थाको लामो इतिहास छ। इतिहास मात्र लामो हैन कि यो संस्था उत्तर अमेरिकाको सबैभन्दा पहिलो राष्ट्रिय र ठूलो नेपाली संस्था पनि हो। यो संस्था स्थापनाका बेला उत्तर अमेरिकाका अमेरिका र क्यानाडामा मात्र नेपालीहरुको उपस्थिति थियो। अधिकांश नेपालीहरू अध्ययनका लागि आउँथे। उनीहरू एक्लाएक्लै हुन्थे। खासगरी, विदाका बेलामा जाने ठाउँ भनेको आफ्ना साथीहरू बाहेक अन्यत्र हुँदैनथ्यो। संस्था जन्मिएपछि जमघट गर्ने ठाउँ भयो।
अहिले सञ्चार सजिलो भयो, परिवारसहित हुनेहरूको संख्या पनि धेरै भयो र त्यसबेला जस्तो अफ्ठ्यारो समय त अहिले छैन। तर पनि, त्यो परम्परा भने अहिलेसम्म कायम छ। अमेरिकाको स्वतन्त्रता दिवस पर्ने सप्ताहन्तमा हुने सम्मेलन चाड जस्तो हुन्छ जसमा अमेरिका र क्यानाडाका टाढाटाढाका शहरबाट नेपालीहरू सहभागी हुन आउँछन्। संस्थाप्रति अपनत्व भाव छ। यो नै संस्थाले कमाएको सम्पत्ति र अलग पहिचान हो जस्तो मलाई लाग्छ।
यो संस्थाको स्थापनापछि यस क्षेत्रमा धेरै नेपाली संस्थाको जन्म भएको छ। एनआरएन लगायत अनेकौ संस्थाहरू सक्रिय छन्, तर, एएनए संस्था मात्र हैन यो धरोहर हो। नेपालीहरूको इतिहास र सम्पत्ति पनि हो।
संस्थाको उद्देश्यअनुसार नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन संरक्षणमा पुर्याएको योगदानलाई कसरी मूल्यांकन गर्नु हुन्छ?
यो संस्थाको स्थापना नै नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन संरक्षण गर्नका लागि भएको हो। हाम्रा मुख्य गतिविधिहरू तिनै कुरामा केन्द्रित छन्। नेपाली पहिचान जोगाउन हामीले नेपालबाट कलाकारहरू ल्याएर यहाँ विभिन्न सांस्कृतिक कार्यक्रमहरू नियमित गरिरहेका छौं, नेपाली भाषाका विभिन्न पुस्तक र पत्रपत्रिकाहरूको प्रकाशनलाई निरन्तरता दिएका छौं। पछिल्लो पुस्तालाई नेपाली भाषामा जानकार बनाउन पनि विभिन्न गतिविधिहरू केन्द्रित छन्।
यति धेरै संस्था र नेपाली पहिलो पुस्ता आफ्नो भाषा, संस्कृति जोगाउन मरिमेटेर लागेको छ। तर, यहाँको नेपाली नयाँ पुस्ताले नेपाली बोल्न समेत कठिन मानेको देखिन्छ। उनीहरूलाई पनि नेपाली भाषा बोल्न सक्षम र संस्कृतिसँग परिचित बनाउनु पर्ने होइन?
तपाईंले उठाउनु भएको विषय सान्दर्भिक छ। तर, यस कुरामा पनि म केही हदसम्म मात्र सहमत छु। सत्य के हो भने यो कुरा सबैमा लागू होला भन्ने लाग्दैन। उद्देश्य बमोजिम थातथलो बचेको अवस्था पनि सत्य हो। सन्तोषजनक नतिजा भने अवश्य नै छैन।
सामाजिक सेवामा कम्मर कसेर लागेका सबै उत्तर अमेरिकी नेपाली संघ संस्थाहरुले नयाँ पुस्तालाई यो समस्याबाट बचाउन सहकार्य र पहलकदमी गर्नै पर्छ। नयाँ पुस्तासँग नजिकबाट सहकार्य र पुस्तान्तरणको गतिलाई पनि हामीले बुझेर अघि बढ्नु पर्छ भन्ने लाग्छ।
‘नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर’ (एनइसिसी) के उद्देश्यले स्थापना भएको हो?
करिब २० वर्षअघि मेरिल्याण्डमा पशुपतिनाथ बुद्ध मन्दिरको स्थापना भयो। त्यो संस्था स्थापना गर्न एएनएको महत्वपूर्ण भूमिका छ। एएनए त्यस संस्थाको माउ संस्था हो।
यो संस्थाको स्थापनापछि अमेरिकामा मात्र हैन क्यानाडा लगायतका नेपालीहरू भएका अन्य देशहरुमा पनि यस किसिमका मन्दिर र सांस्कृतिक केन्द्रहरूको स्थापना भएका छन्। ती संस्थाका कारण आफ्ना धार्मिक र सांस्कृतिक गतिविधि गर्न सजिलो भएको छ नै, नयाँ पुस्ता बाबुबाजेको जन्मभूमि र आफ्नो पहिचान जोडिएको देशसँग पनि गाँसिन पाएका छन्।
धेरै नेपाली संस्थामा विवाद, खिचातानी र आर्थिक अनुशासनहीनताका कुरा हुने गरेको आरोप छ। विधि र पद्धतिअनुसार चल्ने देशमा पनि हाम्रा संस्थामा यस्तो हुनुलाई कसरी लिनु हुन्छ?
यो पनि महत्वपूर्ण विषय हो। त्यस्ता आरोपहरू लाग्ने गरेको कुरा पनि सही हो। हाम्रै संस्थामा पनि गलत मनसाय भएका मानिसहरूका कारण केही वर्षअघि यस्तै परिस्थिति आएको थियो। त्यो अवस्थामा केही समय रुमल्लिनु परे पनि संस्था त्यहाँबाट बाहिर आउन सफल भयो। संस्थाले पुर्नजन्म पायो।
समग्रमा एएनए अत्यन्त पारदर्शी हिसाबबाट चलेको संस्था हो। हाम्रो संस्थामा पैसा संकलन गरेर राख्ने चलन छैन। विपतका बेला एकजुट भएर सहयोग संकलन गर्ने र सहयोग हस्तान्तरण गर्ने हाम्रो परम्परा छ। त्यसरी संकलन गरिएको रकम हामी व्यवस्थित रुपमा रेकर्ड राख्छौं।
स्थापना कालमा नेपाली पहिचान, कला, संस्कति र भाषा जोगाउने उद्देश्य बोकेको संस्था हाल अन्य मुद्दामा बढी सक्रिय भएको जस्तो देखिन्छ। यसो किन भएको होला?
एएनएको जन्म भएदेखि आजसम्म विधि, योजना र उद्देश्यअनुसार नै कर्म क्षेत्रमा लागि परेको कुरा उत्तर अमेरिकी समाजमा खुला किताब झैं छर्लङ्ग छ।
तथापि, संस्थाको जीवनमा यसका उद्देश्यमाथि चोट पुर्याउने महामारीको बाछिटाले छोएको हो। यसभित्र सन्नाटा छाउनेगरी अतिक्रमण भएकै हो। यस अतिरिक्त धेरैभन्दा धेरै असल व्यक्तित्वहरुको अथक मेहनतले संस्था महामारीको भीडबाट बचेर सकुशल अवतरण गर्न सफल भयो र यसका अग्रणी कुशल नेतृत्वकर्ताहरूले उद्देश्य बमोजिम अग्रणी रुपमा सेवारत छौं।
देश बाहिरको नेपाली पनि नेपालको राजनीतिबाट प्रभावित भएको देखिन्छ। विदेशमा बसेर पनि किन नेपालीहरु नेपालका राजनीतिक दलका गतिविधि गर्छन्?
यस्तो हुनु अवश्य पनि सुखद कुरा होइन। मानिसका आआफ्ना आस्था होलान्, तर सामाजिक संस्थाहरूमा राजनीतिक गतिविधि भित्र्याउनु सामान्य कुरा होइन। अमेरिकामा हाल सयौंको संख्यामा नेपाली संस्था छन्। धेरै संस्थाको जन्म दुखान्तबाट हुन्छ। उनीहरुले राम्ररी काम गर्न सक्दैनन्, खिचातानी हुन्छ र संस्थाको अन्त्य हुन्छ। तर, निस्वार्थ र पवित्र उद्देश्यका साथ खुलेका संस्थाले भने राम्रो काम गरेका छन्। आगामी दिनमा पनि यो प्रक्रिया चलिरहन्छ भन्ने मलाई लाग्छ।

विकसितका राम्रा कुरा मातृभूमिमा पुर्याउनु पर्नेमा नेपालबाट नेता बोलाउने अनि उनीहरुकै कुरा सुनेर ताली बजाउने काम भइरहेको छ। यहाँको विकसित समाजका राम्रा कुरा देखाउने र सिकाउने प्रयास गर्दा पो नेपाल र नेपालीलाई फाइदा पुग्दो हो, होइन?
यही संस्थामा पनि केही वर्षअघि भएको किचलोले बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो। तर, सत्यको जित भयो र अहिले संस्था आफ्ना गतिवधिमा पुनः जोस र जाँगरका साथ अघि बढिरहेको छ।
मलाई अझ के लाग्छ भने, आफ्ना पहिचान, भाषा, कला र संस्कृति जोगाउन जति संस्था खोले पनि हुन्छ र खोलिनु पर्छ। गुरुङ, नेवार, मधेसी आदि जाति र क्षेत्रका नाममा संस्कृतिक गतिविधि गर्न संस्था खुलेका छन्। ती संस्थाहरूले सांस्कृतिक, भाषिक जस्ता पहिचानका कुराहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्छ। तर, नेपालको राजनीतिक आस्थाका आधारमा कुनै गतिविधि गर्नु हुँदैन। देश बहिर झन् मिलेर बस्नु पर्ने ठाउँमा त्यस्ता गतिविधिले विभाजन गर्छ, फुट ल्याउँछ।
विदेशका संस्थाहरूलाई कुरा चाहिँ अर्बौंको गर्ने तर, काम हजारमा पनि नगर्ने आरोप छ। के यो सत्य हो?
यस्तो प्रसंग सबैमा लागू हुँदैन। तथापि यो तितो सत्य चैं हो। मैले पनि सुनेको छु, त्यस्ता वजन बिनाका समाचारहरू। यसैले उत्तर अमेरिकामा उद्देश्य र संस्कृति बिना स्थापना भएका नेपाली संस्था र ब्यक्तिलाई असल मानिसहरूले औकात बिनाका बोलीहरूलाई मान्यता बाहिर राख्नु भएको छ।
सामाजिक सेवा मन, वचन, कर्म अनि धर्मका नियमानुसार गरिन्छ। नत्र भने नतिजा विपरीत हुन्छ। सबै समाजसेवीहरू स्वामी बन्न नसकिने उदाहरण पनि हल्का र फितला नाराबाजीहरू नै हुन्। यस्ता सस्ता तर्कबाट असल मानिसहरु सचेत र सुरक्षित रहनु पर्छ। अनि पवित्र उद्देश्यमा लागिरहनुलाई असल र जिम्मेवार मानिने छ।
आफ्नो कार्यकालको कसरी समीक्षा गर्नु हुन्छ?
यो कुरा मैले आफैं भन्ने कुरा हैन। म के मात्र भन्छु भने यस संस्थामा लागेको निकै समय भइसकेको छ र पछिल्लो समय म यसको अध्यक्ष छु। यसै वर्षको अन्त्यदेखि मेरो कार्यकाल सकिएर संस्थाको नेतृत्व हस्तान्तरण हुँदैछ। संस्थाको नेतृत्वमा आएपछि सबैले केही उद्देश्य र लक्ष्य राखेर आएका हुन्छन्। म पनि संस्थालाई केही योगदान गरौं भनेरै आएको हो। तर, मुख्य कुरा लक्ष्यअनुसार काम भयो कि भएन र परिणाम आयो कि आएन भन्ने हो। यसबीचमा कोभिड -१९ का बावजुद मैले संस्थाका मूलभूत सिद्धान्त र अवधारणाअनुसार नै काम गरेको छु।
हामीले विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिको विकास र भलो हुने काममा कसरी लगाउन सकिन्छ भन्ने कुरामा मैले आफुलाई केन्द्रित गरें। हामीले प्रभावकारी परिणामका लागि नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारका रुपमा काम अघि बढाएका छौं। संस्थाले स्थानीय संघ संस्थासँग पनि सहकार्य गर्ने कुरालाई महत्वका साथ अगाडि बढाएको छ। यसबाट हामीले उत्तर अमेरिकाका संघसंस्थासँग भातृत्व बढाउन र लक्ष्य प्राप्त गर्न सहयोग पुग्छ भन्ने विश्वास लिएका छौं।
आगामी नेतृत्व कस्तो हुनु पर्छ भन्ने लाग्छ?
मैले माथि भने जस्तै यसै वर्षको अन्त्यदेखि मेरो कार्यकाल सकिंदैछ। मलाई दोहोर्याएर नेतृत्व लिन आग्रह नआएको हैन। तर, एउटै मानिस बारम्बार नेतृत्वमा रहँदा अरुको नेतृत्व लिने अवसरमा अवरोध पुन्छ। नयाँ विचार र उत्साहले ठाउँ पाउन अवरोध हुन्छ। यस संस्थामा नेतृत्व लिन र संस्थाका गतिविधिलाई अघि बढाउन एक से एक सक्षम व्यक्तित्वहरू हुनुहुन्छ। अब उहाँहरूले मौका पाउनु पर्छ।
आगामी नेतृत्व इतिहास बोकेको यस संस्थाको प्रतिष्ठालाई अझ उचाईमा पुर्याउने स्पष्ट दृष्टिकोण र योजना भएको व्यक्तिहरुको हातमा जानेछ भन्ने मलाई विश्वास छ।

सम्बन्धित खबर.png)














.png)

.png)
.png)









तपाईंको प्रतिक्रिया