• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

क्यानाडामा सुस्तायो गाडी बजार, टोयोटा र होन्डा अगाडि

नेपालTouch
बुधबार श्रावण ६, २०८३ | Wednesday July 22,2026

अन्टारियो। सन २०२६ को पहिलो ६ महिनामा क्यानाडामा नयाँ गाडीको बिक्रीमा कमी आएको छ। अघिल्लो वर्ष सन् २०२५ मा कोभिड महामारीयताकै सर्वाधिक बिक्री दर्ता भएको भए पनि यस वर्षको सुरुआती ६ महिनामा बजारको गति सुस्त देखिएको छ।

अटोमोटिभ न्युज र डेस्रोसियर्स अटोमोटिभ कन्सल्टेन्टका अनुसार गत वर्षको सोही अवधिको तुलनामा नयाँ गाडीको बिक्री १ देखि ३ प्रतिशतसम्म घटेको छ, जुन करिब २६ हजार थान कम हो।

भन्सार महसुल र आपूर्ति शृङ्खलामा परेको असरका कारण क्यानाडामा सर्वाधिक बिक्री हुने १० प्रमुख ब्रान्डमध्ये सातवटाको व्यापार खस्किएको छ।

सुबारुको बिक्री १२ प्रतिशत र माज्दाको १४ प्रतिशतले घटेको छ। निसानको बिक्री १५ प्रतिशतले ओरालो लाग्दै ४९ हजार ३ सय ४२ मा सीमित भएको छ।

होन्डाको बिक्री ७ प्रतिशतले घटेर ६४ हजार ९ सय ६८ पुगेको छ भने सेभ्रोले ३ प्रतिशतले घट्दै ७७ हजार ५ सय १४ मा झरेको छ।

बजारमा समग्र गिरावट आए पनि टोयोटा र हुन्डाईले भने आफ्नो उपस्थिति बलियो बनाएका छन्। टोयोटा ११ लाख ३ हजार १ सय ५५ थान गाडी बिक्री गर्दै ७ प्रतिशतको वृद्धिसहित शीर्ष स्थानमा कायम छ।

टोयोटाको चर्चित मोडल आरएभी-४ को बिक्री आपूर्ति समस्याका कारण ३३ प्रतिशतले घटे पनि टाकोमा, क्याम्री र प्रियस जस्ता मोडलको माग उच्च रहँदा समग्र वृद्धि सम्भव भएको हो।

हुन्डाई १ प्रतिशतको मामूली वृद्धिसहित ७५ हजार १ सय ३२ थान गाडी बिक्री गरी तेस्रो स्थानमा छ।

क्यानाडाको पिकअप ट्रक बजारमा जिएमसी सिर्रा र सेभ्रोले सिल्भराडोको जोडी ५७ हजार २ सय २३ थान बिक्रीसहित पहिलो स्थानमा छन्।

यद्यपि, गत वर्षको तुलनामा यो बिक्री १२ प्रतिशतले घटेको हो। २५ हजार ३ सय ६७ थान बिक्री गर्दै र्‍याम पिकअप दोस्रो स्थानमा छ। त्यस्तै, ३९ प्रतिशतको फराकिलो वृद्धिसहित ८ हजार ८ सय ९४ थान बिक्री गरेर टोयोटा टाकोमा तेस्रो स्थानमा उक्लिएको छ।

एसयुभी खण्डमा होन्डा सिआर-भी २९ हजार ३ सय ८५ थान बिक्रीका साथ शीर्ष स्थानमा छ। क्यानाडामा निर्मित यो मोडलको बिक्री ५ प्रतिशतले घटे पनि टोयोटा आरएभी-४ लाई पछि पार्दै पहिलो स्थान ओगट्न सफल भएको हो।

टोयोटा आरएभी-४ २७ हजार ८ सय २२ थानसहित दोस्रो स्थानमा छ भने हुन्डाई टुकसन २५ हजार ३ सय ८० थान बिक्री गर्दै तेस्रो स्थानमा छ। टुकसनको बिक्रीमा ३५ प्रतिशतको ठूलो उछाल आएको छ।

कार खण्डमा क्यानाडामा उत्पादित होन्डा सिभिक १६ हजार ८ सय थान बिक्रीसहित शीर्ष स्थानमा कायम छ। यद्यपि, सिभिकको बिक्री पनि ५ प्रतिशतले घटेको छ।

दोस्रो स्थानमा रहेको टोयोटा कोरोला १४ हजार ३ सय ९३ थान बिक्री भई ७ प्रतिशतको वृद्धि दर्ता गर्न सफल भएको छ।

तेस्रो स्थानमा रहेको हुन्डाई एलान्त्रा १२ हजार ५ सय ६९ थान बिक्री भएको छ। क्यानाडाको कुल नयाँ गाडी बिक्रीमा कारको हिस्सा १३ प्रतिशतमा सीमित छ।

तपाईंको प्रतिक्रिया