• बुधबार, २६ कार्तिक, २०८३
  • Wednesday, 11 November, 2026
  • X

सेवा प्रदायकलाई एकै ठाउँ भेला पारेर गुयल्फमा कार्यक्रम

नेपालTouch
आइतबार फाल्गुण ६, २०८० | Sunday February 18,2024
सांसद स्राइनरसँग आयोजक संस्थाका पदाधिकारीहरू। फोटोः नेपाल टच

टोरन्टो। गुयल्फ, अन्टारियोमा सरकारी तथा गैह्र सरकारी तहबाट उपलब्ध सेवा र सुविधाहरूका बारेमा जानकारी दिने उद्देश्यले 'सीमा विहिन सहयोगी हातहरू' नामक संस्थाले शनिवार त्यहाँ एक कार्यक्रमको आयोजना गरेको छ।

नयाँ विद्यार्थी तथा नयाँ आप्रवासीहरूलाई उपलब्ध सेवाहरू बारे जानकारी दिन आयोजित कार्यक्रममा विभिन्न सेवा प्रदायकहरू आफैँ उपस्थित थिए। 

बम्बे किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा गुयल्फ सहरका मेयर क्याम गुथ्री र अन्टारियोका प्रोभिन्सका लागि त्यसै क्षेत्रका सांसद माइक स्राइनरको पनि उपस्थिति थियो।

मेयर गुथ्रीले यस कार्यक्रमले सेवा प्रदायक र सेवा लिनेबिच सम्पर्क गराउन महत्त्वपूर्ण काम गरेको भन्दै सम्पर्क बारेको जानकारी यो कोठा भन्दा बाहिर पनि पुग्नुपर्ने बताए। सिटीले उपलब्ध गराउने सेवाका लागि सम्पर्क गर्न पनि उनले आग्रह गरे।

सांसद स्राइनरले आफूले दिने सेवा लिन बिना हिचकिचाहट आफ्नो कार्यालयमा आउन सहभागीहरूलाई अनुरोध गरे।त्यस अवसरमा इमिग्रेसन सर्भिसेस अफ गुयलफ-वेलिङ्टनका दायामी रामिरेज, क्यानेडियन मेन्टल हेल्थ एसोसिएसनका ब्रेयना लेघ्टन, गुयल्फ प्रहरीका जेम्स नाइटिङ्गेल, लुथरवुड इम्प्लोयमेन्ट सर्भिसेजका योर्लेनिस प्रोएन्जाले उनीहरू कार्यरत संस्थाका बारेमा आ-आफ्नो प्रस्तुति दिएका थिए।

क्यानेडियन ब्लड सर्भिसेजका केटी बे र वुमेन इन क्राइसिसका सिण्डी म्याकमनले पनि उनीहरू कार्यरत संस्थाले उपलब्ध गराउने सेवाका बारेमा जानकारी उपल्ब्ध गराएका थिए। 

उनीहरूले संस्थाले उपलब्ध गराउने सेवा तथा त्यो प्राप्त गर्ने तरिका जस्ता विषयमा जानकारी दिएका थिए। 

संस्थाका निर्देशक दिनेश सिंह मल्लले स्वागत मन्तव्य राखेको कार्यक्रममा ग्रेटर गुयल्फ नेप्लिज कम्युनिटीका अध्यक्ष प्रकाश अधिकारी, नप्लिज ब्लड डोनर्स एसोसिएसनका महासचिव लीलानाथ पाण्डे, एनआरएनए, क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले मन्तव्य राखेका थिए। 

महासचिव निरुपमा शर्माले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष राजन छत्कुल्लीले संस्थाले गरेका विभिन्न गतिविधिका बारेमा प्रस्तुति दिएका थिए। संस्थाले क्यानाडामा रक्त सङ्कलन देखि राहत वितरण जस्ता काम गरेको उल्लेख गर्दै नेपालमा पनि विभिन्न समयमा सहयोग उपलब्ध गराएको जानकारी दिएका थिए।

कार्यक्रमको अन्त्यमा संस्थाका कोषाध्यक्ष सुमन ढकालले धन्यवाद मन्तव्य दिएका थिए भने संस्थाका अर्का निर्देशक विजय लम्सालले समापन मन्तव्य दिएका थिए।

तपाईंको प्रतिक्रिया