क्यानाडामा विद्युतीय गाडीको बिक्री बढ्यो, सरकारी लक्ष्य भेट्न चुनौती
नेपालTouch
अन्टारियो। क्यानाडामा विद्युतीय गाडीको बिक्री बढ्दै गए पनि सरकारले निर्धारण गरेको लक्ष्यअनुसार बजार विस्तार हुन नसकेको एक विज्ञले बताएका छन्।
'ग्लोबल न्युज'का अनुसार सन् २०२६ को अगस्टमा क्यानाडामा विद्युतीय गाडीको खरिद अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५ प्रतिशतले बढेको तथ्यांक क्यानाडाको तथ्यांक विभागले सार्वजनिक गरेको छ।
सवारीसाधनसम्बन्धी अनुसन्धान संस्था जेडी पावरका निर्देशक रोबर्ट कारवेलका अनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा विद्युतीय गाडीको बजार हिस्सा दुई प्रतिशत बिन्दुले बढेर सात प्रतिशत पुगेको छ। प्लग-इन हाइब्रिड र टेस्लाजस्ता कम्पनीले सिधै ग्राहकलाई बेच्ने गाडीसमेत समेट्दा बजार हिस्सा करिब १० प्रतिशत पुग्ने उनले बताए।
क्यानाडा सरकारले गत फेब्रुअरीमा विद्युतीय गाडीसम्बन्धी नीतिमा परिवर्तन गर्दै सन् २०३५ सम्म बिक्री हुने नयाँ गाडीमध्ये ७५ प्रतिशत विद्युतीय र सन् २०४० सम्म ९० प्रतिशत विद्युतीय हुनुपर्ने लक्ष्य निर्धारण गरेको थियो। यसअघि सन् २०३० सम्म ६० प्रतिशत र सन् २०३५ सम्म शतप्रतिशत नयाँ गाडी विद्युतीय बनाउने लक्ष्य राखिएको थियो।
बिक्रीमा सुधार देखिए पनि नयाँ लक्ष्य हासिल गर्नसमेत अहिलेको गति पर्याप्त नरहेको कारवेलको भनाइ छ। यद्यपि, विद्युतीय गाडीको मूल्य घट्दै गएकाले आगामी दिनमा यसको खरिद बढ्ने उनले अपेक्षा गरेका छन्।
उनका अनुसार पेट्रोलबाट चल्ने गाडीको औसत मूल्य बढिरहेको अवस्थामा विद्युतीय गाडी भने औसतमा सस्तो हुँदै गएका छन्। अहिले विद्युतीय र पेट्रोलबाट चल्ने गाडीको मूल्यबीच करिब ७ हजार क्यानेडियन डलरको अन्तर छ। हाइब्रिड गाडीको मूल्य अन्तर भने करिब ३ हजारदेखि ४ हजार डलरसम्म छ।
घरमा गाडी चार्ज गर्ने सुविधा नभएका मानिसका लागि हाइब्रिड गाडी विकल्प बनिरहेको पनि उनले बताए। क्यानाडाको गाडी बजारमा हाइब्रिडको हिस्सा करिब १७ प्रतिशत रहेको छ।
विद्युतीय गाडीको प्रयोग विस्तारमा चार्जिङ पूर्वाधारको अभाव भने अझै चुनौतीका रूपमा रहेको छ। विशेषगरी घरको स्वामित्व नभएका र भाडामा बस्ने मानिसलाई गाडी चार्ज गर्ने सुविधा जुटाउन कठिन हुने गरेको कारवेलले बताए।
यसैबीच, संघीय सरकारले गत जुलाईमा क्यानाडाभर करिब ४०० वटा विद्युतीय गाडी चार्ज गर्ने केन्द्र स्थापना गर्न ९० लाख डलर छुट्याउने घोषणा गरेको थियो।

सम्बन्धित खबर








.png)





.png)


.png)










तपाईंको प्रतिक्रिया