• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

क्यानाडामा ६८ हजार रोजगारी घट्यो, बेरोजगारी दर ६.५ प्रतिशत

नेपालTouch
शुक्रबार असोज २३, २०८३ | Friday October 09,2026

अन्टारियो। क्यानाडामा सेप्टेम्बर महिनामा ६८ हजार रोजगारी घटेको छ। रोजगारीमा आएको गिरावटसँगै बेरोजगारी दर अघिल्लो महिनाको ६.४ प्रतिशतबाट बढेर ६.५ प्रतिशत पुगेको छ।

क्यानाडाको तथ्याङ्क निकायले शुक्रबार सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणअनुसार सेप्टेम्बरमा पूर्णकालीन र आंशिककालीन दुवै प्रकारका रोजगारी घटेका छन्। पूर्णकालीन रोजगारीमा ३५ हजार र आंशिककालीन रोजगारीमा ३३ हजारले कमी आएको छ।

सबैभन्दा धेरै रोजगारी घट्ने क्षेत्र शैक्षिक सेवा बनेको छ। यस क्षेत्रमा सेप्टेम्बरमा ३५ हजार रोजगारी घटेको छ, जुन अघिल्लो महिनाको तुलनामा २.२ प्रतिशत कम हो।

त्यस्तै, स्वास्थ्य सेवा तथा सामाजिक सहायता क्षेत्रमा २३ हजार रोजगारी घटेको छ। यो क्षेत्रमा रोजगारीको संख्या अघिल्लो महिनाको तुलनामा ०.८ प्रतिशतले कम भएको हो।

उत्पादनमूलक क्षेत्रमा पनि १३ हजार रोजगारी घटेको सर्वेक्षणमा उल्लेख छ।

यद्यपि, कृषि, व्यावसायिक सेवा तथा आवास र खाद्य सेवा क्षेत्रमा भने रोजगारी बढेको छ।

सेप्टेम्बरमा रोजगारी घटेसँगै क्यानाडामा समग्र रोजगारी लगातार दोस्रो महिनामा ओरालो लागेको छ। यसअघि अप्रिलदेखि जुलाईसम्मको अवधिमा अर्थतन्त्रमा एक लाख ८१ हजार रोजगारी थपिएका थिए।

तर, वार्षिक आधारमा हेर्दा सेप्टेम्बरमा रोजगारीको संख्या गत वर्षको सोही अवधिको तुलनामा ९५ हजार अर्थात् ०.५ प्रतिशतले बढी रहेको तथ्याङ्कले देखाएको छ।

तपाईंको प्रतिक्रिया