क्यानेडियन उन उद्योग: अमेरिकी बजार छाडेर चीन र युरोप रोज्दै व्यवसायी
नेपालTouch
अटवा । अमेरिकाले व्यापारिक सम्बन्धमा कसैलाई छुट नदिने नीति लिएपछि त्यसको सीधा धक्का क्यानाडाको उन र धागो उद्योगमा परेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भन्सार दरमा गरेको अप्रत्याशित वृद्धि र दिनप्रतिदिन थपिने प्रशासनिक झन्झटका कारण क्यानाडाका उन उत्पादकहरू आजित बनेका छन्। अवस्था यस्तोसम्म आइपुगेको छ कि, वर्षौँदेखिका अमेरिकी ग्राहकलाई ‘नमस्ते’ गर्दै धेरै क्यानेडियन व्यवसायीहरू अब विकल्पको खोजीमा चीन, चेक गणतन्त्र र युरोपतिर मोडिन थालेका छन्।
भेडाको झुप्पाबाट निकालिने अप्रशोधित उन सफा गर्न र त्यसबाट गुणस्तरीय धागो बनाउन क्यानाडाका किसानहरू लामो समयदेखि अमेरिकी मिलहरूमा निर्भर थिए। भेडाको उनमा फोहोर, घाँसका सिन्का र 'ल्यानोलिन' नामक चिल्लो पदार्थ हुने भएकाले यसलाई प्रशोधन नगरी प्रयोग गर्न मिल्दैन। तर, क्यानाडामा ठूला औद्योगिक प्रशोधन केन्द्र नहुँदा यहाँको उन सीमापारि अमेरिका पठाउनुपर्ने बाध्यता थियो।
अहिले अमेरिकाले अप्रशोधित उन र केही तयारी उनजन्य सामग्रीमा ५० प्रतिशतसम्म भन्सार महसुल थपिदिएपछि यो व्यापारिक सम्बन्ध एकाएक तितो बनेको छ। अटवास्थित ‘वाबी साबी’ यार्न शपकी सञ्चालक जुडी एनराइट स्मिथको आक्रोशले पनि यही वास्तविकता बोल्छ। "शुरुमा यो खालि व्यापार मात्रै थियो, तर अब भने कुरा प्रतिष्ठा र आत्मसम्मानमा जोडिएको छ," उनले भनिन्। अमेरिकी सामानप्रतिको निर्भरता तोड्दै उनी अहिले क्यानेडियन र युरोपेली ब्रान्डतर्फ ढल्किएकी छन्।
क्यानेडियन वुल काउन्सिलका अध्यक्ष म्याथ्यु रो पनि यो परिस्थितिलाई वर्षौँ पुरानो विश्वासमा लागेको ठूलो धक्का मान्छन्। अन्तर्राष्ट्रिय बजारमा उनको भाउ बढिरहेको बेला क्यानाडाको सबैभन्दा ठूलो बजार अमेरिकाको ढोका बन्द हुनुले व्यवसायलाई नै धरापमा पारेको उनको भनाइ छ। यही कारण अहिले क्यानेडियन उन प्रशोधनका लागि चीन र चेक गणतन्त्र पठाउन थालिएको छ।
यद्यपि, क्यानाडाका केही पुराना उद्योगहरूले भने यो आँधीको सामना अलि सहज रूपमा गरिरहेका छन्। सन् १८५७ देखि सञ्चालनमा रहेको न्यू ब्रन्स्विचको ‘ब्रिग्स एन्ड लिटिल’ मिलले अन्टारियोको कार्लटन प्लेसस्थित सहकारीबाट उन खरिद गरी क्यानाडाभित्रै प्रशोधन गर्छ। तर, मेसिनका पार्टपुर्जाका लागि अमेरिकाकै भर पर्नुपर्ने भएकाले उनीहरू पनि पूर्ण रूपमा ढुक्क भने हुन सकेका छैनन्।
म्यानिटोबाकी उन उत्पादक अन्ना हन्टरका अनुसार, ८०० अमेरिकी डलरसम्मका सामानमा पाइने कर छुट अमेरिकाले पहिले नै रद्द गरिसकेको थियो, जसमा अहिले ५० प्रतिशतको थप भन्सार थपिएको छ। उनले अब क्यानाडाले अमेरिकाको भर पर्नुको साटो देशभित्रै विभिन्न क्षेत्रमा प्रशोधन केन्द्रहरू स्थापना गर्नुपर्ने र उनलाई केवल भेडापालनको उप-उत्पादन नभई महत्वपूर्ण कृषि वस्तुका रूपमा हेर्नुपर्ने बताइन्।
आउँदो जाडो याममा कपडा र धागोको माग उच्च हुने भएकाले यो विवाद चाँडै समाधान नभए क्यानेडियन व्यवसायीहरूले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्नेछ। एकातिर परम्परागत आपूर्ति श्रृंखला टुट्नुको पीडा छ भने अर्कातिर क्यानाडालाई आफ्नै खुट्टामा उभिने आत्मनिर्भर उद्योग खडा गर्ने यो एउटा गतिलो पाठ पनि बनेको छ।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया